“अब महासंघको नेतृत्व महिलाले गरून्”

उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो महिला उपाध्यक्ष हुन् नेपालगन्जस्थित होटल स्नेहाकी सञ्चालिका भवानी राणा । हुन त उनको पृष्ठभूमि व्यापारिक थिएन, तर कुन्नि कुन प्रेरणाले हो, उनलाई कलेज पढ्दा नै  व्यापारी बन्छु भन्ने लागेको थियो । त्यसै मेसोमा महिला जबसम्म आर्थिक रूपमा आत्मनिर्भर हुन्न, तबसम्म खास केही गर्न सकिन्न भन्ने उनले ठहर गरिन् ।  आजको उनको व्यावसायिक व्यक्तित्व त्यही सोचको परिणाम हो । विभिन्न सामाजिक संस्थामा समेत क्रियाशील राणा ‘साथी’ नामक संस्थाका साथै महिला उद्यमी महासंघको समेत उपाध्यक्ष हुन् । प्रस्तुत छ –एक सफल उद्यमी र उद्यमीकी संगठनकर्ता राणासँग सौर्यकी चमिना भट्टराईले गरेको कुराकानी  :

व्यवसायी बन्ने सोच कसरी आयो ?
धन भनेको ठूलो शक्ति हो । जबसम्म आर्थिक रूपमा आत्मनिर्भर भइँदैन, तबसम्म केही गर्न सकिँदैन भन्ने मैले बुझेकी थिएँ । मेरो त्यसै बुझाइले मलाई यो स्थानसम्म ल्याइपुर्‍यायो । अझ हामी महिलाका लागि त आर्थिक आत्मनिर्भरताले निकै अर्थ राख्छ । कलेज पढ्दाकै दिनदेखि मेरो मनमा जागिर नखाने बरु व्यापार व्यवसाय गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुने सोचाइ रह्य।े । जतिसुकै आदर्शको कुरा गरे पनि महिला सशक्तीकरणको पहिलो आधार पनि आर्थिक नै हो ।
पहिलो पटक कसरी सुरु गर्नुभयो व्यवसाय ?
२०४५ सालमा मैले पहिलो पटक गार्मेन्टबाट व्यवसाय सुरु गरेकी हुँ । मेरो गार्मेन्टमा एकसय कामदार थिए । म आफँै सञ्चालक भएर त्यस कामको सुरुआत गरेकी थिएँ । अहिले यहाँसम्म आइपुग्दा कृषि र पर्यटनसम्बन्धी चारपाँच व्यवसाय क्रियाशील छन् । म आफँैं त्यसको योजना
निर्देशक छु ।
व्यापारको झन्झटभन्दा जागिर खाउँm भन्ने लागेन ?
व्यापार भनेकै चुनौती हो । मलाई चुनौतीपूर्ण काम गर्न सधँै मन लाग्थ्यो । त्यसैले जागिरतिर कहिल्यै मन आकर्षित भएन । चुनौती त पाइलापिच्छे नै हुन्छ । काम गर्दै जाँदा गाली पनि खाइयो, प्रशंसा पनि पाइयो । तर म विचलित र हतोत्साहित भइनँ । व्यवस्थित रूपमा काम गर्न सकियो भने यो एउटा राम्रो क्षेत्र हो । समग्रमा, आर्थिक विकास भयो भने परिवारको विकास हुन्छ र समृद्ध समाज निर्माण हुन्छ, अनि समग्र देशकै विकास हुन्छ र म त्यसैको एउटा पाटो बन्न खोज्दैछु ।
महिलालाई यो क्षेत्रमा काम गर्न गार्‍हो छैन ?
महिलालाई यो क्षेत्र मात्र होइन, सबै क्षेत्रमा काम गर्न गार्‍हो छ । जति सजिलै पुरुषले काम गर्छन्, त्यही काम महिलाका लागि सजिलो छैन । यो सबै हाम्रो समाजमा रहेको पितृसत्तात्मक सोचको कारण हो । कुरा सबैले महिला सशक्तीकरणको गर्ने तर व्यवहार भने लैङ्गिक विभेदको गर्ने । महिलालाई हेर्ने सोचमा परिवर्तन हुनुपर्छ । अनि सबै क्षेत्रमा महिलाका लागि काम गर्न सहज हुन्छ । कुन क्षेत्र छ जहाँ महिलालाई काम गर्न सजिलो भएको ?
यो क्षेत्रमा पनि महिलालाई संस्थागत रूपमा ल्याउन तपार्इंको भूमिका कस्तो रह्यो ?
समाजका अरू क्षेत्रमा महिला जति अगाडि छन्, आर्थिक क्षेत्रमा छैनन् । जबसम्म आर्थिक रूपमा मान्छे अगाडि आउन सक्दैन, तबसम्म त्यो क्षेत्रको सशक्तीकरण गर्न सकिँदैन । अब कुनै क्षेत्रमा प्रतिस्पर्धा नै गर्नुपर्‍यो भने पनि आर्थिककै कुरो आउँछ । पहिलेको तुलनामा अहिले महिलाको आकर्षण महासंघमा बढेको छ । म आफ्नो ठाउँबाट पनि तलतलसम्म महिलालाई नेतृत्वमा आउन आग्रह गर्दैछु । केन्द्रमै हेर्ने हो भने पहिला एकजना महिला मनोनीत गर्ने प्रचलन थियो, अहिले दुईजना निर्वाचित र दुईजना मनोनीत गरी चारजना छाँै ।
महिलालाई नामका लागि मात्र महासंघमा राख्ने परम्परा छ भन्छन् नि ?
पहिला पहिला महासंघमा एकजना भए पनि महिला राख्नैपर्छ भनेर गैरव्यापारी महिलालाई पनि कार्यसमितिमा राखियो होला तर अहिले त्यस्तो छैन । सानो तरकारी वा चियापसले नै भए पनि व्यवसायी नै हुनु्पर्छ भन्ने छ । फेरि महिलाले पनि धैरै बुझिसकेका छन् । पहिलेजस्तो छैन, धैरै हिसाबले महिला सचेत भएका छन् । यो त सकारात्मक परिवर्तन हो नि ।
महिला भएका कारण कत्तिको गाह्रो महसुस गर्नुभयो ?
पहिला पहिला लाग्थ्यो । अझ महासंघको नेतृत्वमा आउने बेलामा कत्तिले तपार्इं सक्नुहुन्छ र, राति पनि बैठक हुन्छ भन्थे, साँच्चै यहाँ महिलाका लागि काम नै छैन जसोगरी । त्यतिबेला पुरुष उम्मेदवार त्यत्तिकै सक्रिय भए । तर कतिपय अवस्थामा समस्या हुँदो रहेछ । मनोरञ्जनको काम पुरुषले गर्दा सामान्य हुने, महिलाले गर्दा अर्कै रूपमा हेर्ने । चुनावकै अभियानमा रातिको भेटघाटजस्ता कुरामा अलि असहज हुँदो रहेछ । पुरूषलाई सबै सहज हुने । यो सबै सामाजिक बनोटको कारण हो ।
यो ठाउँमा पुग्ने सोच कसरी आयो ?
पहिलादेखि नै व्यवसायसँगै सामाजिक काम गर्थें । सधँै समाजमा रहेका महिलाको अवस्था हेर्दा मैले केही गर्नुपर्छ भन्ने लाग्थ्यो । जिल्ला महासंघमा मनोनीत भएर काम पनि गरँ तर मनोनीत भएको भन्दा निर्वाचित भएकामा बढी क्षमतावान् भएजस्तो लाग्यो । निर्वाचित भनेको छुट्टै पावरको मान्छेजस्तो लाग्ने । अरू साथीहरूले पनि हौसला बढाइदिनुभयो । सबैको हौसला र सहयोगले मलाई यहाँ पुर्‍याएको हो ।
परिवारको सहयोग कस्तो रह्यो ?
कुनै पनि काममा सफल हुन परिवारको सहयोग नभै सम्भव नै छैन । मेरो परिवारले पनि मलाई सधैँ काममा सहयोग गर्‍यो, हौसला प्रदान गर्‍यो । म जहाँ छु जे गर्दै छु, मेरो सफलतामा मेरो परिवारको ठूलो हात छ । सायद परिवारको साथ नपाएको भए मैले कुनै पनि सफलता पाउँदिन थिएँ होला ।
महिला नभएर पुरुष भएको भए अझ बढी गर्थें भन्ने लाग्छ कि लाग्दैन ?
लाग्दैन, मलाई आफू महिला भएकामा कत्ति पनि हीनताबोध पनि छैन र मैले महिला भएका कारण यो काम गर्न सकिनँ भन्ने पनि लाग्दैन । बरु म महिला हुँ, त्यसैले अझ बढी काम गर्नुपर्छ भन्ने लाग्छ । जति पुरुष जिम्मेवार हुन्छन्, महिला त्यसभन्दा बढी जिम्मेवार हुन्छन् । महिलाले पाएको जिम्मेवारीमा कमी भएको मैले देखेकी छैन । म त झन् पुरुषभन्दा बढी काम गरेर देखाउने पक्षमा छु ।
अबको लक्ष्य के छ ?
महासंघमा महिलाको सम्मानजनक सहभागिता र भूमिका हुनुपर्छ भन्ने छ । महासंघ सधँैभरि व्यावसायिक हुनुपर्छ । आउने दिनमा यो संस्थालाई कोही न कोही महिलाले नेतृत्व गरोस् भन्ने कामना छ ।

प्रतिक्रिया