सुधारगृहमै मृत्यु

सुर्खेत, ३० जेठ । लागुऔषधको प्रयोग छुटाउन सुधारगृहमा राखिएका युवकको सुधारगृहमै मृत्यु भएको छ । वीरेन्द्रनगरमा सञ्चालित भैरव युवा सशक्तीकरण केन्द्रमा राखिएका गौरी–८ लम्सु दैलेख घर भई वीरेन्द्रनगर गणेशचोकमा बस्दै आएका ३५ वर्षीय बिर्ख रावतको सोमबार मृत्यु भएको हो ।

रावत बिरामी परेको बताउँदै केन्द्रले सोमबार बिहान साढे ८ बजे सुर्खेत हस्पिटल प्रालिमा पुर्‍याएको थियो । मृत्यु भइसकेको अवस्थामा अस्पतालमा ल्याइएको अस्पतालले जनाएको छ । तर, पुन:स्थापना केन्द्रले अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको दाबी गरेको छ ।
केन्द्रका सहसचिव अशोक रावतले सोमबार बिहान बिर्ख बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको बताए । उनले अस्पतालमा पुर्‍याइसकेपछि बिर्खको मृत्यु भएको दाबी गरे । ‘पहिलेदेखि नै अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो,’ उनले भने । तर, मृतकका आफन्तले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । मृतककी पत्नी पवित्राले सुधारको नाममा कुटपिट गरेर पतिको हत्या गरिएको बताइन् ।
‘सधैँ रक्सी खाने भएकाले लत छुटाउन पैसा तिरेर सुधारगृहमा राखेका हौँ,’ उनले भनिन्, ‘यहाँ त सुधारका नाममा हत्या पो गरे ।’ गत शुक्रबारदेखि बिर्खलाई सुधारगृहमा राखिएको थियो । मृतकको शरीरका विभिन्न भागमा चोट र निलडाम देखिएका छन् ।
प्रहरीले केन्द्रका सञ्चालक वीरेन्द्रनगर–६ का ललित भट्टराईसहित तीनलाई पक्राउ गरेको छ । बिर्खको मृत्यु रहस्यमय भएको प्रहरीले बताएको छ । एसपी गोविन्दराम परियारले अस्पतालका चिकित्सकका अनुसार अस्पतालमा ल्याउनुअघि नै बिर्खको मृत्यु भइसकेको बताएसँगै मृतकको शरीरमा निलडामसमेत भएकाले घटना शंकास्पद भएको बताए ।

प्रतिक्रिया