अध्यादेशमा अंकुश लगाउन आग्रह

काठमाडौं, २९ जेठ । कांग्रेस/एमालेले राष्ट्रिय सहमति विना सरकारका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति डा.रामवरण यादवसँग आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको भन्दै कांग्रेस/एमालेका शीर्ष नेताहरुले राष्ट्रपति डा.यादवको ध्यानाकर्षण गराएका हुन ।
जवाफमा राष्ट्रपति डा.यादवले दलहरुसँगको छलफलका आधारमा अघि बढ्ने प्रतिबद्वता जनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।
‘कामचलाउ हैसियतामा रहेको सरकारले आफ्नो हैसियत भन्दा माथि उठेर निर्णय गर्नु हुँदैन,’ नेपालले भने, ‘सरकारले अध्यादेशबाट बजेट लगायतका विभिन्न कार्यक्रम ल्याउन खोजे रोक्न राष्ट्रपति डा.यादवलाई आग्रह गरेका छौं ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बाबुराम भट्टराईको हैसियत ‘कामचलाउ’ मात्र भएको भन्दै असंवैधानिक कदम रोक्न राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिए ।
‘कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार छैन,’ उन भने, ‘ठूला निर्णय गर्दा दलीय सहमति आवश्यक छ ।’
कामचलाउ सरकारका प्रधानमन्त्री भट्टराईले कुनै सहमति नगरेकाले अध्यादेशबाट ल्याउने बजेट रोक्न राष्ट्रपति डा.यादवको ध्यानाकर्षण गरेको पौडेलले बताए ।
राष्ट्रपति डा.यादवसँगको भेटका लागि कांग्रेस र एमालेका शीर्ष नेताहरु पुगेको थिए ।

प्रतिक्रिया