स्पोर्ट्स एकेडेमीको भेला


काठमाडौं, २९  जेठ । नौवटा प्रस्ताव पारित गर्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला सम्पन्न भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष रमेश सिलवालले नयाँ खेल नीति बनाउन प्रस्ताव गरिएको बताए । शनिबार सम्पन्न सोही भेलाले हरेक गाउँ विकास समितिको बजेटको १० प्रतिशत रकम खेलकुदमा लगानी गर्न सरकारसमक्ष माग गरेको छ ।
भेलाले वार्षिक गतिविधि र स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम तालिका पनि सार्वजनिक गरिएको छ । जनवरी–१ लाई एकेडेमीले स्थापना दिवसका रूपमा मनाउने गरेको छ । स्थापना दिवसमा एकेडेमीले बास्केटबल, फुटबल, भलिबल, क्रिकेट, चेस, एथलेटिक्स, मार्सलआर्ट, टेबलटेनिस र ब्याडमिन्टनका राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । यसैगरी, एकेडेमीले १४ असारमा मदन जयन्तीको अवसरमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । त्यसै अवसरमा इलाममा रत्नकुमार बान्तवा, झापामा सुखानी कप र दाङमा नेत्रलाल अभागी कप खेलकुद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी, एकेडेमीले ८ मार्चमा महिला खेल महोत्सव सञ्चालन गर्ने र ७ साउनमा पुष्पलाल स्मृति टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष रमेश सिलवालले संस्थाले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी गराए ।
सल्लाहकार प्रदीप ज्ञवालीले एकेडेमीको प्रस्तावलाई राज्यपक्षले सकारात्मक रूपले लिनुपर्ने बताए । ज्ञवालीले बहुदलीय जनवादका प्रवर्तक दिवंगत मदन भण्डारी सबै नेपालीका साझा सम्पत्ति भएका कारण उनको नाममा स्थापित संस्थामा पनि सबै व्यक्ति अटाउन सक्ने विचार व्यक्त गरे ।
दुईदिने भेलामा अध्यक्षको प्रतिवेदनका साथै उपाध्यक्ष हिक्मत कार्कीले प्रस्तुत गरेको समसामयिक प्रस्ताव तथा महासचिव पुरेन्द्रविक्रम लाखेले प्रस्तुत गरेको वार्षिक क्यालेन्डरलाई पारित गरिएको थियो । एकेडेमीका संरक्षक खड्ग ओली प्रमुख अतिथि रहेको सो भेलामा ६९ जिल्लाबाट तीन सय जना सहभागी थिए ।

प्रतिक्रिया