बाटो बनाउँदा ऋणको भार

काभ्रे, २९ जेठ । गाउँमा सडक ल्याउन उत्साही भएर जग्गा धितो राख्नेहरू यतिखेर लिलामीको सूचीमा पर्न लागेका छन् । गाउँमा बाटो ल्याउने होडमा दुर्गम च्याम्म्राङवेशी गाविसका ७५ प्रतिशत स्थानीय ऋणमा डुबेका छन् ।

८ माघ ०६५ मा सम्पन्न गाउँ परिषद्ले च्याम्म्राङवेशी–मिल्चे–बोहरान सडक खण्ड निर्माण गर्ने निर्णय गरेपछि बाटो खन्न स्थानीय उत्साही भएका थिए । गाविसको वडा नम्बर ६ निगालेबाट वडा नम्बर ७ को च्यानडाँडासम्म मर्मतका लागि स्थानीयले ६ लाख रुपियाँ खर्च गरेका थिए । यस्तै, गाउँलेले वडा नम्बर ७ र २ को सिमाना माथिल्लो गाउँ खोल्साबाट डेढ किलोमिटरको नयाँ सडक निर्माणका लागि चार लाख रुपियाँ खर्च गरेका थिए । ‘गाँउलेले सडक खन्ने क्रमलाई रोकेनन्,’ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले भने, ‘वडा नम्बर ७ देखि वडा नम्बर २ को गाउँ विकास समितिको भवनसम्म आठ लाख खर्च गरेर नयाँ सडक खनिएको थियो ।’ बाटो खन्नका लागि गाउँलेले १८ लाख रुपियाँ सहकारीबाट ऋण निकालेर डोजरलाई भुक्तानी गरेका थिए ।
सडक निर्माणकै लागि वडा नम्बर ७ का डिल्लीप्रसाद दाहालले पाँच रोपनी र वडा नम्बर २ का गंगाराज सिंतानले १६ रोपनी जग्गा बनेपाको ज्योति सहकारी संस्थामा धितो राखेर १२ लाख ऋण निकालेका थिए । रकम सडक बनाउने काममा भुक्तानी गरिएको थियो । यस्तै, स्थानीय हरिकृष्ण दाहालले पाँच रोपनी नौ आना जग्गा चक्रेश्वर बचत तथा ऋण सहकारी संस्थामा धितो राखेर ६ लाख ऋण उपझोक्ता समितिले लगेको थियो । सडक त बन्यो तर उपभोक्ताले सहकारीबाट निकालेको ऋण तिर्ने स्रोत फेला पार्न सकेनन् । गाउँ विकास समितिले प्रदान गरेको केही रकमले गत आर्थिक वर्षको ब्याज भुक्तानी गरे पनि यो आर्थिक वर्षको हर्जानासमेत भुक्तानीका लागि सहकारीको पत्र आएपछि उपभोक्ता अहिले लिलामीको पिरलोमा छन् । उपभोक्ताले साँवा रकम तिर्नभन्दा ब्याज बुझाउन फेरि ऋणको खोजीमा जुटेको उपभोक्ता शेखरनाथ दाहालले बताए ।
सहकारीले वार्षिक दुई लाख ४० हजार रुपियाँ ब्याज लिने गरेको छ । गाउँ विकास समितिले वार्षिक दुई लाख रुपियाँ सडकका लागि प्रदान गर्दै आएको छ । ब्याजकै लागि पनि उपभोक्ताले ऋण खोज्नुपर्ने देखिएको छ ।
यस्तै, च्याम्राङवेशीकै रेलसिङ मौवाडाँडा सडकले पनि स्थानीयलाई समस्या पारेको छ । वडा नम्बर १ देखि ६ जोड्नका लागि खनिएको सडकले उपभोक्ता ऋणमै डुबेका छन् । अर्काे वडामा बाटो पुर्‍याउन स्थानीयले २६ लाख रुपियाँ ऋण गरेर चार किलोमिटर नयाँ सडक खनेका थिए । सामुदायिक वन र गाउँ विकास समितिबाट सात लाख रुपियाँ पाइए पनि सडकको १९ लाख रुपियाँ ऋण अझै सहकारीमा तिर्न बाँकी छ । वार्षिक तीन लाख १५ हजार रुपियाँ ब्याज बुझाउँदै आएको उपभोक्ता समितिले उपभोक्ता माधव दाहालको ११ रोपनी जग्गा पनौतीको सिद्धार्थ सहकारीमा र डालप्रसाद दाहालको सात रोपनी र कमलकृष्ण तिमल्सिनाको १३ रोपनी जग्गा मनकामना सहकारीमा धितो राखेका छन् । मनकामनाका २० सेयर सदस्यसमेत जमानी बसेर ऋण चुक्ता नगरी कहिल्यै ऋण नमाग्ने कागजमा दस्तखत गर्दै सेयर सदस्यले लगेको आठ लाख ५० हजार रुपियाँ निकालेका थिए ।
गाउँ विकास समितिले वर्षेनी विनियोजन गरेको रकमले ब्याजसमेत तिर्न नपुगेपछि उपभोक्ताले जिल्ला विकास समितिमा पटकपटक निवेदन दिएका थिए । दलहरूले निर्माण सम्पन्न भइसकेकेको सडकलाई रकम दिएर पुरानै काममा नयाँ बिल बनाउन नमिल्ने बताएपछि उपभोक्ता सहकारीबाट लिएको ऋण कसरी तिर्ने भन्ने समस्यामा छन् ।
रेलसिङ मौवाडाँडा ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद तिमल्सिना जिल्ला विकास समितिले स्थानीयलाई सडकको रकम ऋण तिर्ने वातावरण बनाई मुक्त गराउनुपर्ने बताउँछन् । जिल्ला विकास समितिका योजना अधिकृत टेकराज रेग्मीले जिल्ला विकास समितिको परिषद्मा स्थानीयको माग सम्बोधनका लागि राखिने बताए । तर, सम्पन्न भइसकेको सडकलाई रकम दिँदा अन्यत्रको विकास प्रभावित हुने भएकाले सडक बनाएर ऋणमा डुबेका उपभोक्ता तत्कल ऋणमुक्त हुने अवस्था देखिएको छैन ।

प्रतिक्रिया