सार्वजनिक जग्गा बेचेर सवा करोड अनियमितता

उदयपुर, २९ जेठ । बसपार्क निर्माणका लागि छुट्याइएको सार्वजनिक जग्गा बसपार्क निर्माण उपभोक्ता समितिको नामबाटै अवैधरूपमा बिक्री भएको छ । उपभोक्ता समितिका पदाधिकारीले बसापार्ककै जग्गा बेचेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था दर्ता ऐनअन्तर्गत संस्था दर्ता गरेर बसपार्क निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सिंहबहादुर राई, सचिव केशरसिंह खड्का र कोषाध्यक्ष देवीमाया कटुवालको १७ सदस्यीय समूहले जग्गा बेचेको हो । उनीहरूले एक सय ७७ सुकुम्बासीसँग ४० हजारदेखि दुई लाख रुपियाँ असुलेर जग्गा बेचेका थिए ।
त्रियुगा नगरपालिकाले बसपार्कको अभाव सुल्झाउन बरुवा खोलाकिनारस्थित सार्वजनिक जग्गामा बसपार्क निर्माण गर्न उपभोक्ता समितिमार्फत बाटो सुधारका लागि एक लाख ५० हजार रुपियाँ समितिमार्फत खर्च गरेको थियो । त्यतिबेला कटुवाल समितिका कोषाध्यक्ष थिइन् । काम सम्पन्न भएपछि सम्झौताअनुसार स्वत: म्याद सकिएको उपभोक्ता समितिलाई कटुवालकै नेतृत्वमा पूर्वपश्चिम बरुवा बसपार्क निर्माण उपभोक्ता समितिका नाममा पुनर्गठन गरिएको थियो ।
प्रशासनको रेकर्डअनुसार नगर एकीकृत समितिका नाममा संस्था दर्ता गरेर उपभोक्ता समितिकै पदाधिकारीले जग्गा बिक्री गरेका हुन् । जग्गा बिक्रीबाट पदाधिकारीले एक करोड २७ लाख रुपियाँ लिएर खर्च गरेको पाइएको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य सचिव गुरुप्रसाद ढकालले दाबी गरे ।
छानबिनमा सबैभन्दा बढी रकम पत्रपत्रिका तथा सञ्चारमाध्यममा खर्च भएको पाइएको छ । समितिले स्थानीय पत्रपत्रिकालाई विभिन्न समयमा १० लाख रुपियाँभन्दा बढी रकम भुक्तानी गरेको देखाइएको छ । त्यस्तै, समितिले गाडीभाडा र खाजानास्तामा एकै दिन एउटै होटलमा दुई लाख रुपियाँ तिरेको बिल फेला परेको छानबिन समितिका अर्का सदस्य महेश्वरी राईले बताइन् ।
जग्गा दिने भन्दै राई, कटुवाल र खड्काले असुलेको रकम फिर्ता दिन सर्वसाधारणले दबाब दिन थालेपछि जग्गा नै उपलब्ध गराइदिने भन्दै खाली जग्गामा टहरा बनाउन लगाएपछि उनीहरूले गुपचुप जग्गा बेचेको खुलासा भएको थियो । त्रियुगा नगरपालिकाको वडा नम्बर २ र ४ को सीमावर्ती बरुवा खोलाकिनारमा समितिकै पदाधिकारीको उक्साहटमा बनेका ५० बाँसका टहरा नगरपालिकाले भत्काइसकेको छ ।
२०५६ सालमा सम्पन्न तेस्रो नगरपरिषद्ले बरुवा खोलाकिनारको खाली जग्गामा बसपार्क निर्माण गर्ने निर्णय गरेको थियो । नगरक्षेत्रका सार्वजनिक सरकारी जग्गामा अतिक्रमण बढेपछि साउन ०६८ मा सर्वपक्षीय भेलाले बसपार्क निमाण समितिको नामबाट सरकारी जग्गा बिक्री भएको दाबी गर्दै त्यस्ता गैरकानुनी क्रियाकलाप रोक्ने निर्णय गरेको थियो ।
प्रहरीको सहयोगमा समितिको कार्यालयमा छापा मारे । सर्वसाधारणलाई जग्गा बिक्री गरेको तमसुकका कागजात र अभिलेख बरामद गरिएको सिडिओ दिनेश भट्टराईले बताए । अनियमितताबारे विस्तृत छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाइएको उनले जानकारी दिए ।
बसपार्कका लागि गाईघाटमा ५ क १९५ नम्बर कित्ताको ३५ बिघा जग्गा छुट्याइएकोमा चार बिघा १५ कठ्ठा जग्गा समितिले बिक्री गरेको पाइएको छ । बसपार्कको जग्गा बिक्रीमा संलग्न कटुवाल र खड्कालाई पक्राउ गरिएको डिएसपी नरेन्द्र उप्रेतीले बताए । पहिला व्यक्तिले दाबी गर्दै आएको ३५ बिघा जग्गा एक वर्षअघि सर्वोच्च अदालतको फैसलाले सरकारी कायम गरेको थियो । त्यसमध्ये हाल ८ बिघा १० कठ्ठा जग्गामात्रै बाँकी रहेको छ । बाँकी जग्गा अतिक्रमण भइसके पनि खाली गराउन नगरपालिकाले सकेको छैन ।

प्रतिक्रिया