रामजी र टीका सर्वोत्कृष्ट गायकगायिका

काठमाडौँ, २८  जेठ ।  लोकदोहोरीका २६ विधालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय पूजा लोकदोहोरी अवार्डको पहिलो संस्करण शनिबार राजधानीमा सम्पन्न भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा खचाखच दर्शकबीच आयोजित कार्यक्रममा रामजी खाँडले सर्वोत्कृष्ट लोकदोहोरी गायक अवार्ड हात पार्दा सोही विधाको महिलातर्फको अवार्ड भने गायिका टीका पुनले पोल्टामा पारिन् । खाँडले पछ्यौरी लेऊ बैना बोलको गीतका लागि तथा पुनले लालुपाते  बोलको गीतका लागि सो अवार्ड पाएका हुन् ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाडौँंको आयोजनामा बिहान ११ बजेदेखि सुरु भएको अवार्ड साँझ ५ बजेसम्म चलेको थियो । वरिष्ठ लोकगीत संकलक तथा गायक प्रेमदेव गिरीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको कार्यक्रममा वसन्त थापाको रुमाल हल्लाई–हल्लाई बोलको गीत सर्वोत्कृष्ट लोकदोहोरी भाका ठहरिएको थियो । त्यसै गरी बुद्धि परियारको रेसम फिरिरीले सदाबहार गीत, राजु परियारले दर्शकको गायक, म माया गर्छु गीतका लागि एकनारायण भण्डारीले सर्वाेत्कृष्ट शब्द रचना, रुमाल हल्लाई–हल्लाईका लागि विनोद बाजुरालीले उत्कृष्ट संगीत संयोजक, श्यामश्वेत रसाइलीले सर्वोत्कृष्ट रेकर्डिस्ट र कुलेन्द्र विकको डाँडै फुर्के सल्लोले सर्वोत्कृष्ट एल्बमको अवार्ड पाए । लोकसञ्चारकर्मीको अवार्ड भने चन्द्रमणि गौतमलाई प्रदान गरिएको थियो । प्रकाश भट्ट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, झम्के गुलेली बोलको गीत सर्वोत्कृष्ट लोकगीत घोषित हुँदा शंकर बिसी र रञ्जिता गुरुङलाई सर्वोत्कृष्ट लोकदोहोरी नायक–नायिकाको अवार्ड दिइएको थियो । सर्वोत्कृष्ट नवगायक–गायिकाका हकदारचाहिँ क्रमश: मेक्स खाटी र सरिता कार्की भए ।
विजेतालाई राजेश हमाल, करिस्मा मानन्धर, कोमल वलीलगायत कलाकर्मी तथा लोकदोहोरी क्षेत्रका वरिष्ठ व्यक्तित्वले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा लोकदोहोरी गायकगायिकाको बाक्लै उपस्थिति थियो । अवार्डका बीचबीचमा गायकगायिकाले आआफ्ना गीत गाएर दर्शकलाई मनोरञ्जन गराउने प्रयास गरेका थिए । तर, अत्यधिक गर्मीका बीच ६ घन्टाभन्दा बढी लम्बिएको कार्यक्रम दर्शकका लागि भने केही पट्यारलाग्दो भएको देखिन्थ्यो । आवश्यकताभन्दा बढी गायकगायिकालाई स्टेज उपलब्ध गराइएका कारण कार्यक्रम यति धेरै लम्बिएको गुनासो दर्शक गरिरहेका थिए ।

प्रतिक्रिया