जातीय राजनीतिमा एमाओवादी लिप्त

काठमाडौं, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राज्य, संवैधानिक राजतन्त्र लगायतको माग राखेर आज प्रदर्शन गरेको छ ।
विभिन्न जिल्लाबाट आएका कार्यकर्ताले संवैधानिक राजतन्त्र र हिन्दू राज्यका पक्षमा नारावाजी गरेका थिए । उनीहरुले नयाँ संविधान दिन नसकेको भन्दै प्रमुख दल र नेताहरुको आलोचना समेत गरेका छन् ।
खुल्लामञ्चमा आयोजित सभामा धारणा राख्ने नेताहरुले एमाओवादीले जातीय राजनीति गरेर जनतालाई विभाजन गरेको आरोप लगाएका छन् । उनीहरुले जातीय राजनीतिमा विभाजन नहुन सबैलाई आह्वान समेत गरेका छन् । अधिकांश वक्ताले एमाओवादी जातीय राज्यमा लिप्त हुँदा मुलुक विभाजित हुने खतरामा रहेको दाबी गरे ।
कोषाध्यक्ष राजीव पराजुलीले बर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउन नसक्ने बताए । उनले भने, ‘अब राप्रपा नेपाल चार, पाँच सिटमा सीमित हुँदैन, ठूलो पार्टी हुन्छ ।’
राप्रपा नेपालका नेता चन्द्रबहादुर गुरुङले पछिल्लो अवस्थाले राप्रपा नेपाललाई नयाँ शक्तिको रुपमा स्थापित गरिदिएको बताए ।
युवा नेता राजेन्द्र लिङ्देनले एमाओवादी साँच्चै जनजाति समर्थक हो भने राष्ट्रपतिको चुनावमा कम्तिमा दुई कार्यकाल लिम्बूलाई उठाउने व्यवस्था गरेर देखाउन चुनौती दिएका छन् । उनले एमाओवादी जनता फुटाएर राजनीति गर्न मात्रै सक्रिय रहेको बताए ।
सभामा राप्रपा नेपालका उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 सौर्यकर्मी देबकी विष्टले लिएका तस्बिर

प्रतिक्रिया