जीवनजलसमेत छैन मुगु जिल्ला अस्पतालमा


मुगु, २७  जेठ । झाडापखालाका बिरामीको संख्या वृद्धि भए पनि जिल्ला अस्पतालमा बिरामीका लागि सरकारले नि:शुल्क उपलब्ध गराउने जीवनजलसमेत छैन ।
सरकारी स्वास्थ्य संस्थाबाट ४० प्रकारका अत्यावश्यकीय औषधि वर्षभर नि:शुल्क प्रदान गर्ने सरकारी कार्यक्रम भए पनि जिल्ला अस्पतालमा मात्र होइन, जिल्लाका सबै स्वास्थ्य संस्थामा त्यसप्रकारका औषधि अभाव भएको छ । जिल्ला अस्पताल मात्र होइन, स्वास्थ्य तथा उपस्वास्थ्यचौकीमा अहिले झाडापखालाका बिरामीको लाइन लाग्न थाले पनि उनीहरूका लागि आधारभूत औषधि जीवनजलसमेत नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न जिल्लामा रकम पठाइएको भए पनि औषधि खरिदसम्बन्धी टेन्डरमा विवादका कारण आर्थिक वर्ष सकिन लाग्दासमेत औषधि किन्न नसक्दा बिरामीले नि:शुल्क औषधि पाउन नसकेका हुन् । सोही कार्यक्रमअन्तर्गत केन्द्र र क्षेत्रीय मेडिकल स्टोरबाट दुई चरणमा केही औषधि पठाइए पनि अधिकांश औषधि जिल्ला अस्पतालमै खपत भएको र गाउँका स्वास्थ्य संस्थामा पुग्न नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा विभागले चालु आवका लागि मुगु जिल्लालाई अत्यावश्यकीय औषधि खरिद गर्न ३० लाख रकम छुट्याएको थियो ।
स्वास्थ्य संस्थामा जीवनजल र मेन्ट्रोन मात्र नभई जुकाको औषधि अल्वेन्डाजोल, सिटामोल, क्लोरामफेनिकल्स्, डक्सिसाइक्लिनजस्ता एन्टिबायोटिक्ससँगै गर्भवतीलाई खुवाइने आइरन चक्की र परिवार नियोजनका अस्थायी साधनसमेत अभाव छ । ‘यो झाडापखालाको सिजन हो, यस्तो बेलामा समेत गाउँका स्वास्थ्य संस्थामा जीवनजलजस्तो अत्यावश्यक औषधि पनि छैन,’ जिल्ला अस्पतालका अहेव जंगलाल बुढाले भने, ‘स्वास्थ्य संस्थामा भटाभट झाडाका बिरामी आइरहेका छन् तर यहाँ औषधि नभएर बिरामीलाई खाली हात पठाउनुपरिरहेको छ ।’ उनका अनुसार जिल्लाका २४ गाविसमा ११ स्वास्थ्यचौकी र १३ उपस्वास्थ्यचौकी छन् ।
वर्षायाम सुरुवातसँगै सम्पूर्ण स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढ्ने गरेका छन् । अघिपछि दैनिक ३०/४० बिरामी आउनेमा वर्षायाम सुरुपछि पानीजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढ्ने गरेको अहेव बुढाले बताए । उनका अनुसार अघिल्लो वर्ष जिल्ला अस्पतालमा मात्रै दैनिक औसत २ सय बिरामी आउने गरेकामा वर्षभर औषधि अभाव भएपछि ३०/४० जनामा झरेको छ ।
टेन्डर विवादका कारण औषधि अभाव भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलोपटक ढिला गरी गत माघमा टेन्डर खुलाउँदा कमला डिस्टिब्युटर्सको मात्रै प्रस्ताव परेको थियो । तर, उक्त कम्पनीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि औषधि खरिदमा समस्या आएको हो । डिस्टिब्युटर्स कम्पनी अस्पतालका अहेव जयपृथ्वी मल्लको हो । उनको औषधि पसलसमेत छ ।
पछिल्लो समय दुई महिनाअघि टेन्डर सम्झौता भए पनि अर्को ठेकेदारले औषधि नल्याएको जनस्वास्थ्य कार्यालयको आरोप छ । कार्यालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने अधिकांश कर्मचारीको निजी औषधि पसल भएकाले उनीहरूले नै टेन्डरमा विवाद झिक्ने गरेका छन् । ‘टेन्डरमा विवाद निकालेर आºनो मेडिकल पसलको व्यापार बढाउन कर्मचारीले नै औषधिमा समस्या ल्याउने गरेका छन्,’ जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले भने ।

प्रतिक्रिया