जसको सीप खाँचो छ देशलाई

यतिबेला यस्तो लाग्छ, ‘नेपाली मनहरू कतै बाँडिएका छन् तर कतै भाँडिएका पनि ।’ कतै रंगधारीले त कतै सेता टि–सर्टधारी जुलुसहरू सडकमा नारा घन्काइरहेका छन् । यी नाराहरू सुन्दा लाग्छ, साझाभन्दा अलग बाटाहरू बन्दै गएका छन् नेपालीहरूको । चिया पसलदेखि सडकसम्म यस्ता विभाजित विचारहरू सुन्न पाइन्छन् । तर, विदेशमा बस्ने नेपालीहरूको मनलाई भने यस्तो नाराले कतै असर गरेको छैन । उनीहरू चाहन्छन्, नेपालीहरूबीचको एकताको डोरी कहिल्यै नटुटोस्, अझ कसिलो भएर जाओस् । तीमध्येका हुन् काभ्रे तिमाल गाविस ठूलो पर्सेलका रमेश पाण्डे, जो अस्ट्ेरलियामा बसेर नेपाल र नेपालीहरूको हितका निम्ति निरन्तर सक्रिय छन् । नेपाल आएका बेला एक साताअघि बागबजारमा भेटिएका पाण्डेले सुनाए, ‘हामी चाहन्छौँ देशमा स्थायी शान्ति होस्, समृद्धि होस् ।’ देशमा स्याथी समृद्धि भए उनीजस्ता धेरै नेपालीहरू स्वदेशमै आएर काम गर्न चाहन्छन् । ‘हामीले विदेशमा आर्जन गरेका सीप र पैसा देशको समृद्धिका लागि लगानी गर्न चाहन्छौँ,’ उनले भने, ‘तर देशको अवस्था अझै सुध्रिएको छैन ।’
०००
मध्यम तर शिक्षित परिवारमा ०२९ सालमा जन्मिएका पाण्डेको बाल्यकाल सामान्य थियो । गाउँकै पञ्चकन्या माविमा ‘कखरा’ सिके उनले । परिवारका एघार सदस्यमध्ये उनी ‘सेकेन्ड लास्ट’ अर्थात् दसाँै सन्तान थिए । परिवारका सबै सदस्यमा ‘पढ्नुपर्छ’ भन्ने चेतना थियो । जतिबेला उनी विद्यालय तहमा पढ्दै थिए, त्यतिबेला पञ्चायती शासनविरुद्धमा धीमा गतिमा जनमत तयार भइरहेको थियो । पञ्चायतविरोधी लहर उनले पढ्दै गरेको पञ्चकन्या माविमा पनि पुग्यो । विद्यालयमा उनी सक्रिय विद्यार्थीमा पर्थे । देशभर अनेरास्ववियुमा विद्यार्थीहरू संगठित हुने अभियान चलिरहेकै थियो । यही अभियानमा उनी पनि पञ्चकन्या माविको प्राक अध्यक्ष भए । र, संग्लन भए पञ्चायतविरोधी अभियानमा । तर, उनका दाजुहरू चाहन्थे, ‘भाइले राम्रो पढोस् ।’ पढाइ बिग्रिन्छ भनेर उनलाई काठमाडौं ल्याइयो । उनले काठमाडौंको पुतलीसडकस्थित बालकुमारी बोर्डिङ स्कुलबाट ०४५ मा फस्ट डिभिजनमा एसएलसी पास गरे ।
एसएलसीपछि पढाइ र राजनीतिलाई सँगै लैजान चाहन्थे उनी । अमृत साइन्स क्याम्पसमा भर्ना भएर विज्ञान विषय पढ्न थाले । अमृत साइन्स क्याम्पस राजनीतिको केन्द्रजस्तै थियो उतिबेला । आन्दोलनको आगो त्यहीँबाट सल्कन्थ्यो । कलेजमा भर्ना हुनासाथ अनेरास्ववियु प्राकमा संगठित भएर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लागिहाले उनी । ‘विद्यार्थीहरूको केन्द्र भागजस्तै थियो, अमृत साइन्स क्पाम्पस,’ उनले सुनाए, ‘आन्दोलनताका दैनिकजसो प्रहरीसँग मुठभेड हुन्थ्यो ।
पढाइ र राजनीतिलाई सँगसँगै लगे उनले । अमृत साइन्स कलेजबाटै ०५१ सालमा बिएस्सी पास गरे उनले । बिएस्सी पास गरेपछि इन्जिनियरिङ पढ्न चाहन्थे उनी । तर, उतिबेला नेपालमा इन्जिनियरिङका लागि उतिधेरै कलेजहरू थिएनन् । भएकाहरूमा नाम निकाल्नै गाह्रो । देशभित्र प्रशस्त कलेज नभएपछि इन्जिनियर बन्ने सपनाले हेलिएर ०५३ मा अस्ट्रेलिया पुगे उनी । अस्ट्रेलियाको ‘युनिभर्सिटी अफ टेक्नोलोजी’ सिड्नीमा भर्ना भएर इन्जिनियरिङ पढ्न सुरु गरे । खाली हात पुगेका रमेशलाई अस्ट्रेलियामा पढ्न सजिलो कहाँ थियो र † ‘सुरुका दिनहरू अत्यन्त संघर्षपूर्ण थिए,’ उनले सम्झिए, ‘काम नगरी बस्न सकिँदैन थियो, रातभर काम गरेर दिनमा कलेज जानुपथ्र्यो ।’ भनिन्छ, खाने मुखलाई जुँगाले छेक्दैन, अनेकन समस्याका बीचमा पनि उनले पढाइलाई टुंगोमा पुर्‍याए, जुन सपनाले हेलिएर अस्ट्रेलिया पुगेका थिए, त्यो सपना पूरा गरिछाडे उनले । पढाइ पूरा गरेपछि उनी नेपाल फर्किन चाहन्थे । त्यहाँ आर्जन गरेको ज्ञान र सीप नेपालमा खर्च गर्ने चाहना थियो उनको तर माओवादी युद्धले अस्तव्यस्त थियो देश । उतै जागिर सुरु गरे उनले ।
०००
अस्ट्रेलिया बसेको करिब १७ वर्ष पुगेको छ । अस्ट्रेलियामा श्रीमती र दुईछोरीसहित छन् उनी । जागिरसँगै समाज सेवामा पनि सक्रिय छन् । अस्ट्रेलियामा बस्ने नेपालीहरूको पनि साझा चिन्ता छ, ‘देशमा शान्ति भए समृद्धिको अभियानमा हामी पनि संग्लन हुन्थ्यौँ, ज्यान अस्ट्रेलियामा भए पनि मन त नेपालमै हुन्छ,’ उनले सुनाए, ‘देशको समृद्धिका लागि के गर्न सकिन्छ भन्ने विषयमा निरन्तर बहस भइरहन्छ ।’
उनी पनि चाहन्छन्, ‘देशमै बसेर केही गरुँ’ । तर, अवस्था उस्तै छ अझै । अस्ट्रेलिया फर्किन थालेका रमेशले चिन्ता व्यक्त गरे, ‘नयाँ संविधान बनेपछि देशमा राम्रो होला भनेको तर झनै अवस्था खराब पो भएर गयो ।’ उनी चाहन्छन् देशभित्र बसूँ, देशको समृद्धि अभियानको हिस्सेदारी आफू पनि लिऊँ । र, चाहन्छन्, ‘अस्ट्रेलियामा सिकेका ज्ञान देशका लागि प्रयोग गरूँ’ तर फेरि देश अशान्त
छ । देशवासीहरू बेचैन छन् । उनी नेताहरूलाई सोध्छन्, ‘देशको समृद्धिका लागि व्यक्तिगत र पार्टीगत स्वार्थलाई त्यागेर देश र जनताका लागि काम गर्नुपर्छ । देश अब पनि नबनाए कहिले बनाउने ?’ भाँडिएका र बाँडिएका नेताहरूले उनको प्रश्नको उत्तर खोज्नेबेला भएको छ यतिबेला । विदेशमा रहेका रमेश पाण्डेजस्ता दक्ष जनशक्ति भित्र्याएर देश बनाउने महाअभियान सुरु गर्ने बेला सरकार बनाउने र ढाल्ने लघु अभियानमा छन् हाम्रा नेता यतिबेला ।

प्रतिक्रिया