अन्धकारभित्र

बिजुली एक्कासि कड्केपछि ऊ जुरुक्क उठ्यो । निष्पट्ट अन्धकारमा उसले कालो मात्र देख्यो । उसले आफ्नी आमाको चित्कार सुनेको थियो । ओछ्यान छाम्यो तर आमा त्यहाँ हुनुहुन्थेन । रातको निस्तब्धतामा पानी परेको आवाज निकै टड्कारो थियो । उसले पानीको आवाजसँगै आफ्नी आमाको मधुर क्रन्दन पनि सुन्यो । अनि ओछ्यानभन्दा तल छाम्यो । ऊ झस्क्यो, उसको सानो हातले आमाको गाला छामेको थियो । गाला आँसुले निकै गिलो भइसकेको थियो ।
उसले सोधेन, आमा के भयो भनेर । विगत नौ महिनादेखि आमा यसरी पटक–पटक रुनुभएको छ । तर, उसले एकपटक पनि सोधेको सम्झना छैन उसलाई । आखिर के सोध्नु थियो र ? आखिर के भन्नु हुन्थ्यो र आमाले उसलाई ? ऊ पनि त एउटा प्रत्यक्षदर्शी हो त्यस रातको ।
त्यो पनि त यस्तै रात थियो । यसरी नै त्यस रात पनि बिजुली कड्किरहेको थियो । झमझम पानी परिरहेको थियो । ऊ आफ्नी आमाको काखमा मस्त सुतिरहेको थियो । अचानक ढोका ‘ढ्याङ्ग’ बजेको थियो । आमा छोरा जर्‍याकजुरुक्क उठेका थिए ।
‘को हो ?’
आमाले डराई–डराई सोध्नुभएको थियो ।
‘एई राँड, छिटो ढोका खोल् †’
तर, उत्तर आएन । त्यहाँ एकजना मात्र थिएन । आमाले टुकी बाल्नुभएको थियो । टुकीको मधुरो उज्यालोमा उसले आमा निक्कै आत्तिनुभएको देख्यो । तिनको मलिन अनुहारमा दुई आँखा निक्कै आतंकित देखिएका थिए । आमाले उसलाई बोकेर मचानमाथि लैजानुभएको थियो ।
‘बाबु, जेसुकै भए पनि नकाराईकन बस है ?’
त्यस रुन्चे आवाजमा याचना थियो । उसको पनि आँखा आतंकले ठूलो भएको थियो । अनि आफ्नो सानो टाउको हल्लाएको थियो । आफ्नो छोराको त्यो पुक्क फुलेको गाला र चियाइरहेका ती ठूला आँखामा अन्योल, कौतुहल र आतंक सबै एकसाथ देखिन् तिनले । तिनी रुन खोजिन् । ढोका फेरि ढ्याम–ढ्याम कराउन थालेपछि छोरालाई त्यहीँ छाडेर तल झरिन् ।
त्यसपछि उसले टुकीको त्यस मधुरो उज्यालोमा आमाको छाया मात्रै देखेको थियो । छायामै आमाले ढोका खोल्नुभएको देख्यो । छायामै एक हुल मानिस छिरेको देख्यो । सेना हुन् कि माओवादी, उसलाई के थाहा ? बस्, उसलाई त यत्ति थाहा थियो कि तिनीहरू सबैले बन्दुक बोकेका थिए ।
‘हामी भोका छौँ । आज एक रात तपार्इंले हामीलाई खुवाउनु पर्छ ।’ एउटाले जोडले भन्यो । बाँकी सबै कोही यता कोही उता ढल्न थाले । कोही लुगा फुकालेर निचोर्न थाले । उसले बल्ल विचार्‍यो, बाहिर पानी भयंकरसँग परिरहेको थियो । उसले टुकीको मधुरो उज्यालोको छायामा ती बन्दुकहरूको संख्या गन्ती गर्न खोज्यो, तर सकेन । उसले छायामै आमाले आगो बालेको देख्यो । छायामा खाना पकाएको देख्यो । त्यसपछि तिनीहरूले खाना खाएको देख्यो । अनि खाना खाइसकेपछि कोही डकार्न थालेको त कोही सुसेल्न थालेको पनि उसले छायामै देख्यो ।
‘राँड, माओवादीहरूलाई भात खुवाउँछेस् ।’
एकजनाले उसकी आमाको काँध समातेको उसले देख्यो । फेरि आमाले त्यस मानिसको हात झड्कारेको र आमा त्यहाँबाट हिँड्न खोज्नुभएको पनि देख्यो । तत्काल एकजनाले उहाँको कपाल जगल्ट्याएको देख्यो । त्यसपछि दुई–चारजना मिलेर आमालाई लडाएको पनि देख्यो । त्यसपछि टुकीको उज्यालो छायामा केही पनि देखिएन । केवल टुकी मधुरो बलिरहेको देखियो । त्यस उज्यालोमा मौन खम्बाहरू देखिए । स्तब्ध भित्ताहरू देखिए ।
त्यसपछि उसले आमा कराएको सुन्यो । ती बन्दुकेहरू थाकेपछि सुसेलेको सुन्यो । त्यसपछि कोहीले जिब्रो पड्काएको सुन्यो । अनि तिनीहरूले ढोकामा लात्ती बजार्दै हिँडेको सुन्यो । सँगै उसले अत्यन्त करुण आवाजमा आमाले बोलाउनुभएको पनि सुन्यो,
‘छोरा, …’
ऊ दौडँदै आमाको नजिक पुग्यो । देख्यो, सारा ओछ्यान अस्तव्यस्त छ । त्योभन्दा बढी बेहाल आमाको छ । कपाल जिङरिङ्ग भएको छ । एउटा पातलो सारीभित्र अचेतझँै हुनुभएको छ आमा । गालामा फिँजको दाग अझै छ । मट्टितेल सकिँदा धिपधिप गरी बलिरहेको टुकीझँै हुनुभएको थियो ।
‘छोरा, पानी ल्याऊ त †’
सायद तिनी उठ्न पनि नसक्ने भएकी थिइन् । ऊ हतार–हतार पानी लिएर आयो । आमाले एक घुट्को पानी निल्नुभएको थियो । त्यसपछि उहाँ अचेत हुनुभएको थियो । त्यो रात मट्टितेल सकिएर टुकी आफैँ निभेको थियो । त्यतिबेलासम्म उसले आमाको अनुहार हेर्दै बसेको थियो ।
‘छोरा, टुकी बाल त †’
आमाले एक्कासि बोलाएपछि ऊ झस्क्यो । ऊ उठ्यो, अँध्यारोमा छाम्न थाल्यो । उसले टुकी पनि पायो । कोर्नलाई सलाई पनि पायो । सलाई पानीले चिसो भइसकेको थियो । उसले धेरैपल्ट सलाई बाल्न खोज्यो । निक्कै बेरपछि ‘फूर्र’ आवाजसाथ सलाई बल्यो । बल्नेबित्तिकैको चहकिलो उज्यालोमा उसले देख्यो, आमा खाट तल पेट मिचेर रोइरहनुभएको थियो ।
०००
बलात्कार पछि आमा कहिल्यै हाँस्नुभएन । गाउँका प्राय:जसो सबैले परायाजस्तो व्यवहार गर्न थालेपछि उहाँ पटक–पटक रुनुभएको थियो ।
पँधेरामा पानी लिन जाँदा त्यत्रा मानिसबीच सुन्तली भाउजूले उसकीे आमालाई सोध्नुभएको थियो, ‘तिम्रा पेटमा कसका बच्चा हुन्, सेनाको कि माओवादीको ?’
आमाले त्यस फुच्चेलाई समातेर हिँड्नुभएको थियो त्यहाँबाट । परबाट त्यो सानो केटाले फर्केर हेर्‍यो । तिनीहरू सबै खित्का छाडेर हाँसिरहेका थिए । तर, उसकी आमा सुँक–सँुक गरी रोइरहेकी थिइन् ।
टुकी धिपधिप गरी बल्न थाल्यो । उसले देख्यो– आमा बस्नुभएको ठाउँमा रगत नै रगत थियो । ऊ आत्तियो ।
‘आमा म कसैलाई बोलाएर आउँछु …।’
उसले ढोका खोल्यो । ढोका खोल्नासाथ पानीसहितको चिसो हावाले उसलाई रुझायो । ऊ चिसोले सिरिङ्ग भयो । ऊ आत्तियो । अनि फेरि आमातिर हेर्‍यो ।
‘बाबु पानी ठूलो छ ।…’
आमाको आवाजमा शब्द कम, पीडा बढी थियो । उसले आँखा चिम्म गर्‍यो अनि पानीमा दौड्यो ।
ऊ सबैभन्दा पहिले छिमेकी काकाको घर जान खोज्यो । निष्पट्ट अन्धकारमा पानीले उसलाई बेस्कन चुटिरहेको थियो । ऊ जाडोले थर–थर काँपिरहेको थियो । काकाको दैलोनजिक पुग्यो । भित्र छिर्न खोज्दा अचानक एउटा कुकुर जोडले भुक्यो । एकछिन त कुकुरले उसलाई झम्ट्यो झैँ लाग्यो । ऊ आत्तिएर चिच्यायो । दैलोअगाडि पानीमै लड्यो । पानी परेकाले कुकुर दैलोभन्दा बाहिर आएन । ऊ जोडले रुन थालेको थियो । एक क्षणसम्म ऊ रोइरह्यो । तर, कतैबाट केही प्रतिक्रिया नआएपछि फेरि उसले आँसु पुछ्यो । अनि त्यहाँबाट हिँड्यो ।
निष्पट्ट अन्धकारमा आँखाले केही देखिन्थेन । बिजुली कड्किँदाको उज्यालोमा ऊ उभिन्थ्यो । परसम्मको बाटो हेथ्र्याे । अनि बल्ल हिँड्थ्यो । र, पनि ऊ चिप्लिएर धेरैपटक लडेको थियो । बाटोमै उसले सुन्तलीको घर सम्झ्यो । ऊ त्यतैतिर लाग्यो । धन्न त्यहाँ कुकुर रहेनछ । उसले आफ्नो सानो हातले त्यो घरको ढोका घच्घच्याउन खोज्यो । तर, त्यो ढोका रत्तिभर पनि घँचेटिएन । उसले हातले हानेर ढकढकाउन खोज्यो । तर, कुनै आवाज आएन । उसले निक्कैबेरसम्म प्रयत्न गर्‍यो । तर, केही लागेन । फेरि ऊ रुन थाल्यो, रोइरह्यो । आँसु पुछ्यो र त्यहाँबाट हिँड्यो ।
बाटोमै उसले सुडेनी बज्यैलाई सम्झ्यो । तिनी पिँढीमै सुत्ने गर्थिन् । अनि ऊ पानीमै बेतोडसँग दौडन थाल्यो । निकै पर रहेछ, सुडेनी बज्यैको घर । बाटोमा धेरैपटक चिप्लिएर लड्यो । नजिक पुग्यो । बज्यै खोक्दै सुतेकी थिइन् । सायद भर्खरै सुतकी थिइन् होला । ऊ पुग्नेबित्तिकै तिनी जुरुक्क उठिन् ।
‘को हो ?’
बज्यैले जोडले हकारेर सोधिन् । ऊ एकछिन केही बोलेन । जाडोले थर–थर काँप्दै रुन्चे स्वरमा भन्यो,
‘म हो ।’
ऊ अगाडि बढ्यो । अँध्यारोमा केही देखिँदैनथ्यो । एक्कासि बिजुली चम्क्यो । दुवैले एकअर्कालाई देखे । बज्यै अक्क न बक्क भइन् ।
‘आमालाई व्यथा लाग्यो ।’
उसले भन्यो । सुडेनी बज्यैले केही सोचिनन् । आइमाईको व्यथा एउटी आइमाईले नबुझे अरू कसले बुझ्ने ? तिनी तत्कालै घरभित्र छिरेर एउटा ठूलो प्लास्टिक लिएर आइन् । अनि दुवै हिँडे ।
दुवै पुग्दा बच्चा निस्कन लागिसकेको थियो । सालनाल सबै निस्किसकेको थियो ।
‘बाबु–कपडा लिएर आऊ त †’
सुडेनी बज्यैले भनेपछि ऊ माथितिर लाग्यो । ऊ फर्केर आउन्जेलसम्म सुडेनी बज्यैको हातमा उसले एउटा बच्चा देख्यो । बच्चा च्वाँ–च्वाँ गर्दै कराइरहेको थियो । उसलाई अचम्म लाग्यो ।
‘बाबु तिमी एकछिन माथि जाऊ ल ?’
सुडेनी बज्यैले फेरि भन्नुभयो । माथि मचानमा गएर टुक्रुक्क बस्यो । टुकीको मधुर उज्यालोमा सुडेनी बज्यैको छाया मात्र चलमालाएको देख्यो उसले । उसले फेरि त्यो खम्बा देख्यो । त्यही भित्ता देख्यो । भित्ता, खम्बा अझै मौन थिए । एकछिनपछि आमाले बोलाएको सुन्यो ।
उसले देख्यो, आमा अहिले ओछ्यानमा सुतिरहनुभएको थियो । सुडेनी बज्यै छेउमै बसिरहनुभएको थियो । उसले आमाको अनुहार नियाल्यो । टुकीजस्तै बल्न लागको रहेछ आमाको अनुहार । त्यहाँ हल्का मुस्कानका लहरहरू थिए । ऊ नजिक गयो । देख्यो, छेऊमै एउटा बच्चा सुतिरहेको थियो । उसले टुकीको मधुर उज्यालोमा नियाल्यो । दुईवटा सानो बन्द आँखा, एउटा सानो बन्द ओठ, एउटा सानो निधार र बीचमा एउटा सानो नाक ठडिएको थियो । ऊ झुक्यो । उसले त्यो बच्चालाई चुम्न खोज्यो । उसको नाक त्यस शिशुको नाकसँग ठोकियो । उसलाई रमाइलो लाग्यो । उसले देख्यो, बच्चाले एकछिन चल्मलाएर हाई काड्यो । उसलाई झन् रमाइलो लाग्यो । अनि त्यस मध्यरातको स्तब्धतामा पनि ऊ खित्का छोडेर हाँस्न थाल्यो ।

सांग्रिला बुक्सद्वारा प्रकाशोन्मुख कथासंग्रहबाट

प्रतिक्रिया