शिवपुरीमा बन्दै छ मनोरञ्जन केन्द्र

काठमाडौं, २७ जेठ । काठमाडौंनजिक छुट्टी मनाउन उपयुक्त मनोरञ्जनस्थल नभएको गुनासो धेरैले गर्छन् । यसको समाधान हुने भएको छ तर अझै तीन वर्ष पर्खिनुपर्छ ।

सरकारले सन् २०१६ देखि चालु हुनेगरी शिवपुरी राष्ट्रिय निकुञ्जमा बोटिङ पोखरीसहित मनोरञ्जन केन्द्र (रिक्रिएसन सेन्टर) बनाउन थालेको छ । यहाँ बन्नेछन्, बालबालिकालाई फनपार्कदेखि युवायुवतीका लागि डेटिङ स्पटसम्म ।
काठमाडौंदेखि २५ किलोमिटरको दूरीमा र करिब दुई हजार एक सय ५० मिटरको उचाइमा रहेको निकुञ्जको ठूलो धापमा दुई ठूला पोखरी बनाइनेछन् । ती पोखरीमा बोटिङ र आसपासको शान्त भू–भागमा मनोरञ्जन क्षेत्र बनाउने सरकारको योजना छ । मुहान संरक्षण, आकाशेपानी संकलन, सिमसार सदुपयोग एवं पानी पुनर्भरणको सबैभन्दा उपयुक्त र बाग्मतीका सहायक नदीको मुहान क्षेत्र भएकाले निकुञ्जको स्वीकृति लिएर सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।
ठूलो धापमा बोजो र झार हटाएर पोखरी विस्तारको काम भइसकेको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले बताए । ‘एउटा पोखरी विस्तारको काम सकियो अब केही महिनामा अर्कोको काम सुरु गर्छौं,’ उनले सौर्यसँग भने, ‘त्यसपछि रिक्रिएसन सेन्टरको काम थालेर सन् २०१६ देखि बोटिङ र सेन्टर दुवै सञ्चालनमा ल्याइनेछ ।’ बस्नेतले धापका दुई पोखरीलाई विस्तार गरेर बोटिङ सञ्चालन गर्दा बाग्मतीको पानीको मात्रा नघट्ने र पर्यटन विस्तार हुने बताए ।
शिवपुरी धाप संरक्षण, मुहान संरक्षण, सिमसार सदुपयोग, आसपासका बस्तीका बासिन्दाको आयआर्जन विकासलगायतका लागि एसियाली विकास बैंक (एडिबी)ले बाग्मती संरक्षणअन्तर्गत ६० लाख डलर (करिब ४८ करोड रुपैयाँ) सहयोग गरेको छ । अधिकारसम्पन्न समितिका अनुसार दुईवटा पोखरीले जम्मा चार सय ५० रोपनी क्षेत्र ओगट्नेछन् । जसमा अहिलेसम्म आधाभन्दा कम क्षेत्रमा १५ हजार क्युबिक फिट पानी अट्ने क्षमताको सानो पोखरी बनाइसकिएको छ । अर्को ठूलो पोखरी बनाउने भनिएको क्षेत्रमा काम सुरु नभइसकेकाले बोजो र अन्य झार झांगिएको छ ।
रिक्रिएसन सेन्टरअन्तर्गत बच्चाका लागि फनपार्क, युवायुवतीका लागि डेटिङ स्पट, पिकनिक स्पटलगायत ‘इको फ्रेन्डली’ होटलसमेत सञ्चालनमा ल्याइनेछ । यसो गर्दा काठमाडौंको कोलाहलबाट आजित उपत्यकावासीले एकै दिनको बिदामा बिहानै गएर दिनभरि मनोरञ्जन गरेर बेलुकी नै घर फर्कन सक्छन् ।
‘पोखरी र रिक्रिएसन सेन्टर बनेपछि शिवपुरी मनोरञ्जन लिन र बिदा मनाउन सबैभन्दा उपयुक्त केन्द्र बन्नेछ,’ समितिका अध्यक्ष बस्नेतले भने, ‘पोखरीमा बाह्रैमास पानी जम्मा गरिराख्दा मुहान संरक्षण भएर बाग्मतीमा पानीको बहाव घट्न पाउँदैन ।’
समितिका अनुसार एडिबीसँग शिवपुरी धापमा पोखरी र रिक्रिएसन सेन्टर बनाउने सम्झौता भएलगत्तै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संगठन(आइयुसिएन)को सहकार्यमा सुन्दरीजलदेखि चिसापानीसम्म केबुलकार राख्ने तयारी पनि भइरहेको छ । यसो गर्दा कच्ची बाटो र ट्रेकिङमार्फत शिवपुरी धाप पुग्नेबाहेकका आन्तरिक र बाह्य पर्यटक सहजै चिसापानी पुग्ने र धाप आउँदा त्यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । करिब उस्तै–उस्तै उचाइमा रहेका शिवपुरी धाप र चिसापानीबीचको दूरी करिब तीन किलोमिटर छ ।
राजधानीको सबैभन्दा नजिकको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मुख्य सहरदेखि १२ किलोमिटर दूरीबाट सुरु हुन्छ । बाग्मती र विष्णुमती नदीको मुहान रहेको यस निकुञ्ज काठमाडौं उपत्यकावासीको मुख्य खानेपानीको स्रोत हो । शिवपुरीबाट बगेका नदीमार्फत दैनिक तीन करोड लिटर खानेपानी प्रयोग हुँदै आएको छ । एक सय ५९ वर्गकिलोमिटर क्षेत्रफल रहेको र पक्षी अवलोकनको मुख्य गन्तव्य यो निकुञ्जमा एक सय ७७ प्रकारका चरा, एक सय दुई प्रकारका पुतली, एक सय २९ प्रकारका च्याउ र विभिन्न नौ प्रकारका संरक्षित वन्यजन्तु पाइन्छन् ।

प्रतिक्रिया