प्रधानमन्त्री तत्काल बालुवाटार छाड !

काठमाडौ, २७ जेठ । कांग्रेस, एमालेसहित २७ राजनीतिक दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । खुलामञ्चमा आयोजित संयुक्त विरोध सभामा ती दलमा आबद्ध नेताहरूले संविधानसभाको नयाँ निर्वाचनको आडमा सत्ताकब्जा गर्ने एमाओवादीको रणनीति सफल हुन नदिने दाबी गर्दै प्रधानमन्त्रीलाई बालुवाटार छाड्न चेतावनी दिएका छन् । माओवादीले सर्वसत्तावाद लाद्न र सत्ताकब्जा गर्नका लागि नयाँ निर्वाचन घोषणा गरेको तर्क गर्दै उनीहरूले सरकारले असंवैधानिक रूपमा घोषणा गरेको निर्वाचन हुन नसक्ने दाबी गरे ।

माओवादी र उसले नेतृत्व गरेको सरकारप्रति आक्रामक देखिएका उनीहरूले संविधानसभा विघटनसँगै डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको संवैधानिक, राजनीतिक र नैतिक आधार समाप्त भएको दाबीसहित राष्ट्रिय सहमतिका लागि तत्काल बालुवाटार छाड्न प्रधानमन्त्रीलाई आग्रह गरे । सहमतिको राजनीतिमा माओवादी नआए आन्दोलन चर्काउने उद्घोष गर्दै उनीहरूले आन्दोलनलाई सुरुवाती मात्रै भएको स्पष्ट पार्दै झन् कडा आन्दोलन गर्ने चेतावनी दिए ।
संविधानसभालाई माओवादीले सत्ताकब्जा गर्ने रणनीतिक चालका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै उनीहरूले संविधानसभाबाट नयाँ संविधान निर्माण नहुनु र संविधानसभा विघटन हुनुको प्रमुख दोषी माओवादी भएको दाबी गरे । संघीयताविरोधी भनी माओवादीले लगाएको आरोपको खण्डन गर्दै दलहरूले आफूहरू संघीयताविरोधी नभएको स्पष्ट पारे ।
कांग्रेस सभापति सुशील कोइरालाले माओवादी र उसले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे । सरकारले घोषणा गरेको असंवैधानिक निर्वाचन हुनै नसक्ने दाबी गर्दै सभापति कोइरालाले सहमतिबाट सबै समस्याको समाधान खोज्नुपर्ने बताए । माओवादीले धोकाधडीको राजनीति गरेको आरोप लगाउँदै कोइरालाले अरूलाई धोका दिन खोज्दा माओवादी आफँैले धोका पाइरहेको बताए ।
उनले माओवादीजस्तो आफूहरू जथाभावी नबोल्ने उल्लेख गर्दै भने, ‘माओवादीले बन्दुक पड्कायो भन्दैमा हामी तोप पड्काउने ? कांग्रेस जिम्मेवार पार्टी हो त्यस्तो गर्दैन ।’ उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली मात्र होइन, विदेशीलाई समेत अलमल्याउने गरेको बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले मुलुकमा एकाधिकारवाद र सत्ताकब्जा गर्ने रणनीतिका साथ ६ दशकदेखि संविधानसभाबाट संविधान बनाउने नेपालीको सपना पूरा हुन नदिएको आरोप लगाए । ‘माओवादीले संविधानसभा तुहाएर राष्ट्र र जनताप्रति ठूलो अपराध गरेको छ,’ अध्यक्ष खनालले भने, ‘त्यसको सजाय अब जनताले नै दिनेछन् ।’
खनालले अन्तरिम संविधानमै संविधानसभाको पुनर्निर्वाचनको कल्पनासमेत नगरिएको स्मरण गराउँदै संवैधानिक रूपमा पनि निर्वाचन अनुचित भएको बताए । ‘संविधानमा दुईपटक संविधानसभा चुनावको कल्पना गरिएको छैन,’ उनले भने, ‘अबको निर्वाचन मुलुकलाई थप संकटमा धकेल्नका लागि घोषणा गरिएको नौटंकी हो ।’ उनले असंवैधानिक र राजनीतिक सहमतिविपरीत घोषणा गरिएको निर्वाचन खारेज हुनुपर्ने माग गरे । माओवादी र मधेसी दलहरू चैत/वैशाखको डढेलोपछि उम्रिएको पिपिराजस्तै भएको तर्क गर्दै उनले उनीहरूसँग संविधानसभाको नयाँ चुनाव गर्ने हैसियत नभएको बताए ।
उनले सहमतिको विकल्प नभएको उल्लेख गर्दै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बालुवाटार खाली गर्न आग्रह गरे । माओवादी सहमतिमा आउनुको विकल्प नभएको दाबी गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिका लागि पहिलो सर्त प्रधानमन्त्रीले बालुवाटार खाली गर्नुपर्‍यो, होइन भने विगतका तानाशाहलाई जस्तै जनताले तानेर सडकमा ल्याउने हविगत नहोस् ।’
आफूहरू संघीयताविरोधी नभएको उल्लेख गर्दै उनले जातीय सद्भाव, राष्ट्रिय एकतालाई मजबुत गर्दै सबैको अधिकार सुनिश्चित गर्न लागिपरेको बताए । उनले पार्टीका आदिवासी जनजाति नेताको असन्तुष्टिप्रति संकेत गर्दै भने, ‘साथीहरू मतभेद भए भित्रै राखौँ, कमजोरी भए हामी महसुस गर्छौं, तपाईंहरूसँग भए पनि महसुस गर्नुस् ।’
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले जनतालाई १६ वर्षदेखि दु:ख मात्र दिएको आरोप लगाउँदै माओवादी सत्ताका लागि देश बेच्नसमेत पछि नपर्ने दाबी गरे । उनले यस्तो धुन्धुकारीलाई अब हुने चुनावमा जनताले दुईतिहाइ होइन दुई सिट नदिने ठोकुवासमेत गरे । ‘माओवादी नेपाली आमाको धुन्धुकारी सन्तान हो,’ उनले भने, ‘पैसा र शक्तिका लागि माओवादी देश बेच्नसमेत तयार हुन्छ ।’
माओवादीले सहमतिको राजनीति भंग गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले सहमतिका लागि बाटो छाड्नुपर्ने धारणा राखे । एमाले जनजाति, महिला, मधेसी, थारू, मुस्लिम, विभिन्न समुदायको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई हटाउन मात्र होइन हाम्रो आन्दोलन सबैका अधिकार सुनिश्चित गर्दै राष्ट्रिय एकता र सद्भाव कामय गर्नु पनि हो ।’
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस र एमालेलाई माओवादीले जबर्जस्ती जनजाति र संघीयताविरोधी बनाएको भन्दै आपत्ति जनाए । कांग्रेस संघीयता र जनजातिविरोधी नभएको स्पष्ट पार्दै देउवाले भने, ‘नेवा: राज्य इन्चाज झक्कु सुवेदीलाई, ताम्सालिङ, लिम्बुवानमा बाहुनलाई प्रमुख बनाएर कसरी माओवादी जनजातिवादी भयो ?’ माओवादीले जनतालाई उल्लु बनाइरहेको तर्क गर्दै उनले जातजातिका नाममा माओवादीले तल्लोघर र पल्लो घरबीच झगडा गराएको आरोप लगाए ।
एमाले नेता केपी ओलीले धेरै पानी र साबुन खर्च गरे पनि माओवादी सपार्न नसकिएको तर्क गर्दै भने, ‘एउटा नक्कली प्वाँख हालेको मयुर निस्केर जनताको सच्चा प्रतिनिधि भएको नाटक गर्‍यो, पछि धोका दियो ।’ कहिले कटवाल प्रकरण त कहिले सोझासाझा जनता राजधानी उतारेर सत्ताकब्जाको खेती माओवादीले गरेको उल्लेख गर्दैर्ै नेता ओलीले अहिले माओवादीले फेरि संविधानसभा विघटनलाई सत्ताकब्जाको आधार बनाउन खोजेको बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीका लागि संघीयता देखाउने दाँत मात्र भएको बताए । उसले भित्रैबाट संघीयता नचाहेको आरोप लगाउँदै उपसभापति पौडेलले अहिले सहमतिको बाधक सत्ता र सरकार भएको धारणा राखे । ‘संघीयता र समावेशी प्रचण्डपथको देखाउने दाँत मात्र हो,’ उनले भने, ‘माओवादीले संघीयता, संविधान चाहेको थिएन, उसले त सत्ता कब्जा मात्र चाहेको थियो ।’
प्रमुख दलहरूबीच भएको पाँचबँुदे सहमतिअनुरूप अघि बढ्नुपर्ने जिकिर गर्दै उनले सहमतिको बाधक प्रधानमन्त्री भएको आरोप लगाए । ‘सहमतिका लागि असफल भएको नेतृत्व हट्नुपर्छ,’ उनले भने, ‘नयाँ सहमतिको सरकार बन्नुपर्छ संवैधानिक निकासको खोजी हुनुपर्छ ।’ सहमतिमा नआए आन्दोलनबाटै माओवादीलाई ठीक ठाउँमा ल्याउने चेतावनी दिँदै उनले सहमतिमा आएनन् भने आन्दोलनबाट घुँडा टेकाउने कार्यक्रम ल्याइने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले प्रधानमन्त्रीले घोषणा गरेजस्तो संविधानसभा निर्वाचन हुन नसक्ने दाबी गर्दै निर्वाचन घोषणा धोकापूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मूर्ख कहलिएका कालिदास विद्वान् बनेको उल्लेख गर्दै विद्वान् भनिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई मूर्ख बन्दा मुलुक राजनीतिक र संवैधानिक संकटमा फसेको आरोप लगाए । माओवादीले माक्र्सवादको नाममा जातीयवाद थुपारेको आरोप लगाउँदै उनले भने, ‘माक्र्सवादलाई प्रचण्डले जातिवादमा थुपारे, कहिलेकाहीँ मैले सुन्ने गरेको प्रचण्डपथ यही हो ?’ राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले माओवादी सत्ताको आडमा दुईतिहाइ ल्याएर सधैँका लागि सत्ताकब्जाको रणनीतिमा रहेको दाबी गरे । ‘सत्ता, शक्ति र स्रोतमा माओवादी दुईतिहाइ ल्याउन चाहन्छ,’ उनले भने, ‘अनि आफूअनुकूलको संविधान बनाएर सधैँका लागि सत्ता कब्जा गर्न चाहन्छ ।’
मालेका महासचिव सिपी मैनालीले अवसरवादी मधेसी मोर्चाको बैसाखी टेकेर माओवादी नेतृत्वको सरकारले संविधानसभा निर्वाचनको घोषणा गरको आरोप लगाए । माओवादीले आºनो महत्त्वाकांक्षा पूरा गर्न गाउँखाने कथामा जस्तो राज्य बाँडेको उल्लेख गर्दै मैनालीले भने, ‘संविधानले नै परिकल्पना नगरेको चुनाव कसरी हुन्छ ?’
कांग्रेस नेता भीमबहादुर तामाङले जातीयताको कुरा मात्र उठाएर मुलुक विखण्डन गर्न नहुने स्पष्ट पार्दै दलहरूले राजनीतिका लागि मात्र नभई जनताका लागि राजनीति गर्नुपर्ने बताए । सभामा अन्य साना विभिन्न राजनीतिक दलका नेताले पनि आ–आºना धारणा राखेका थिए । विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निस्केको जुलुस खुलामञ्चमा केन्द्रित भएको थियो ।

प्रतिक्रिया