भाषण खुलामञ्चमा, ताली रत्नपार्कमा

काठमाडौं, २७ जेठ । कांग्रेस–एमालेलगायत विपक्षी दलहरूले शुक्रबार खुलामञ्चमा गरेको विरोध सभामा गठबन्धन दलको नामै एकअर्कालाई थाहा नहुँदा ती दलका नेताले सभामै चित्त दुखाए । गठबन्धनमा रहेको भनिएका २७ दल विघटित संविधानसभामा प्रतिनिधित्व नगरेका पनि रहेकाले उद्घोषकलाई तिनीहरूको सही नाम भन्न समस्या परेको थियो ।
वक्ताका रूपमा नेकपा (माले जनसमाजवादी)का प्रतिनिधिलाई बोलाउँदा सभाका सञ्चालक एमाले नेता कृष्णगोपाल श्रेष्ठले नेकपा (माले समाजवादी) भनेर बोलाए । लगत्तै माले जनसमाजवादीका प्रतिनिधि विष्णुराज अर्यालले आºनो पार्टीको नाम गलत उच्चारण भएकामा चित्त दुखाए । ‘उद्घोषकले हाम्रो पार्टीको नामै गलत भन्नुभयो, तपाईंहरू यस्तै गल्ती गर्नुहुन्छ अबदेखि यस्तो कुरा सुधार्नुस्,’ मन्तव्य सुरु गर्दै अर्यालले भने ।
वक्तव्यका क्रममा साना दलका प्रतिनिधिलाई बोल्नका लागि ५ मिनेटको समय दिइए पनि धेरैजसोले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दुई वाक्यमै आºनो भाषण टुंग्याएका थिए । धेरैवटा दलको गठबन्धन र वक्ता पनि धेरै भएका कारण सभा सुरु नहुँदै मञ्च खचाखच भरिएको थियो । मञ्चमा रहेका ठूला पार्टी कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूलाई मञ्च व्यवस्थापनमा अप्ठ्यारो रहेको भन्दै उद्घोषकले नै मञ्च छाडेर जान आग्रह गरेका थिए । पटक–पटक मन्त्री भइसकेका कांग्रेस–एमालेका नेताहरू उद्घोषकको आग्रहपछि मञ्चबाट बाहिरिएर रत्नपार्कतिर लागेका थिए भने यसअघि कमै नाम सुनिएका दलका नेताहरू मञ्चमा पुगेका थिए ।
सद्भावना पार्टी (आनन्दीदेवी)का अध्यक्ष देवेन्द्र मिश्रले हिन्दीमा भाषण गरेपछि सहभागीले त्यसको विरोध गरेका थिए । सहभागीबाट हुटिङ नरोकिएपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ‘नेपालभित्र बोलिने सबै भाषा नेपालका राष्ट्रिय भाषा हुन् उहाँले बोल्नुभएको भाषामै उहाँलाई बोल्न दिनुस्’ भनेपछि हुटिङ रोकिएको थियो ।
जनमोर्चाका साध्यबहादुर भण्डारीले आदिवासी जनजातिले नै जातीय राज्य नचाहेको जिकिर गर्दै विदेशबाट डलर ल्याएर खान पल्केका मल्ल के सुन्दर र अरू केहीले जातीय विभाजन ल्याएर विदेशीलाई हस्तक्षेप गर्न सजिलो बनाइदिएको आरोप लगाए । माओवादी अध्यक्ष पुष्पकमल दाहालपत्नी सीता पौडेल युरोपमा क्रिश्चियन धर्मगुरुसँग निरन्तर सम्पर्कमा रहेको दाबी उनले गरे । जातीय र धार्मिक झगडा गराएर देशको अस्तित्व समाप्त पार्न एकल जातीय पहिचानसहितको राज्यको वकालत भएको उनको आरोप थियो ।
सभाका सहभागीहरू चर्काे घामका कारण खुलामञ्चको मैदानमा बसेनन् । मध्यदिनमा सुरु भएको जुलुसका सहभागी खुलामञ्च प्रवेश गर्नासाथ शीतल खोजेर रत्नपार्कतिर ओइरिएका थिए । कांग्रेस, एमाले, राप्रपा, राजपा र अन्य दलले नेतृत्व गरेका छुट्टाछुट्टै जुलुसमा सहभागीको संख्या ठूलै देखिए पनि सभास्थल पुगेपछि उनीहरू तितरवितर भएका थिए । घामका कारण खुलामञ्चको अधिकांश भाग खाली रहे पनि रत्नपार्क भने सहभागीले भरिएको थियो । वक्ताले घत पर्नेगरी बोल्दा टुँडिखेलमा रहेका सहभागी सुसेलेर समर्थन जनाइरहेका देखिन्थे भने रत्नपार्कका सहभागी ताली बजाइरहेका थिए ।
सभा सुरु हुनुअघि एमालेले नेतृत्व गरेको र्‍याली भृकुटीमण्डप पुतलीसडक, बागबजार हुँदै र कांग्रेसले नेतृत्व गरेको र्‍याली सुनधारा, वीर अस्पताल हुँदै खुलामञ्चमा प्रवेश गरेको थियो ।

के भन्छन् सभाका सहभागी ?

चार वर्षसम्मको समय दिँदा पनि नेताहरूले नयाँ संविधान बनाउन सकेनन् । उल्टै प्रधानमन्त्रीले संविधानसभाको नयाँ चुनाव घोषणा गरे, जनतामाथि यो सिधै धोका हो । पहिले म्याद थप्दै लगे, चार वर्ष पूरा गरेपछि संविधान नै नबनाई संविधानसभा विघटन गरे, त्यो पनि एकलौटी निर्णयले । हामी जनतालाई यस्तो चुनाव चाहिएको छैन । अब दलहरूले सहमतिमा सरकार गठन गरून् र पहिले बनेको दस्ताबेजका आधारमा आयोग गठन गरेर संविधान बनाऊन् ।
कर्मा तामाङ, सीतापाइला

माओवादी आफूलाई संविधानसभाको जननी भन्थ्यो तर जनताले ६० वर्ष संघर्ष गरेर गठन गरेको संविधानसभाको हत्या गरेर सत्ताकब्जा गर्ने बाटोमा हिँड्यो । संविधान घोषणा हुने दिन आइपुग्दा पहिले भएका सहमतिलाई लत्याएर जातीय झगडा चर्काउने, संविधान बन्न नदिने र सरकारमा बसेर राजनीतिक शून्यताको फाइदा उठाउने माओवादीको योजनालाई असफल पार्न यो आन्दोलन भएको हो । सदियौँदेखि हामी सबै जातजाति मिलेर बसेका थियाँै, अहिले माओवादीले रोपेको जातीयताको बीउले गाउँ–गाउँमा एकअर्काप्रति अविश्वास र झगडा पैदा हुने स्थिति छ । मुलुकलाई यस्तो अवस्थामा पुर्‍याउने माओवादीलाई सत्ताबाट हटाएर सहमतीय सरकार बनाउनुपर्छ र संविधान निर्माणको बाँकी काम पूरा गर्नुपर्छ ।
मानबहादुर थापामगर, सप्तरी

एकदलीय शासन लागू गर्ने माओवादीको रणनीति असफल पार्न यो आन्दोलन भएको हो । एकदलीय शासन लागू गर्ने प्रयासस्वरूप नै संविधानसभा विघटन गराएर नयाँ चुनाव घोषणा गरिएको हो । अझ मुलुकलाई दीर्घकालीन रूपमा विभाजित गर्ने र त्यसैको फाइदा उठाएर शासन लम्याउने उद्देश्यअनुरूप जातजातिलाई उक्साउने र एकअर्काविरुद्ध प्रतिकारमा उत्रन प्रचण्डले निर्देशन दिए । माओवादीले मुलुकको सार्वभौमसत्ता र अखण्डताविरुद्ध चालेका यस्ता आपराधिक कदम सच्याउन आन्दोलन गर्नुपर्छ र आन्दोलनकै बलबाट राष्ट्रिय सरकार बनाएर त्यसले संविधान निर्माणका बाँकी काम गर्नुपर्छ ।
कुमार श्रेष्ठ, सिन्धुपाल्चोक

हामीले खोजेको शान्ति र संविधान हो, जो ठूला दलका नेताले दिन सकेनन् । संविधान नबनाई संविधानसभा विघटन भयो । अब फेरि चुनावको कुरा गर्नुभन्दा सहमतिमा सरकार बनाउन र त्यसैमार्फत अरू सहमति गरेर नयाँ संविधान जारी गर्ने दबाबका लागि हामी विरोधसभामा आएका हौँ ।
रितु तामाङ, नगरकोट

सबै भाषाभाषी, जातजातिको साझा यो देशमा कामै नलाग्ने जातीय झगडाको बीउ रोपेर माओवादीले संविधान बन्न दिएन । उसले संविधान बन्न सक्ने अवस्था हुँदाहुँदै दुईतिहाइ बहुमत ल्याउने र अधिनायकवादी संविधान बनाउने सपना देखेर संविधानसभाको हत्या गर्‍यो र नयाँ चुनाव घोषणा गर्‍यो । उसले घोषणा गरेको यो चुनाव पूर्वराजाले घोषणा गरेको नगरपालिका निर्वाचनजस्तै हो । संविधान, कानुन सबै मिचेर एउटा प्रधानमन्त्रीले एकलौटी रूपमा संसद्को चुनावजस्तो संविधानसभाको चुनाव घोषणा गर्न पाउने अधिकार छैन । सबैको साझा देशमा जातीय रूपले तेरो–मेरो भन्ने झगडा सुरु भएको छ यो सबै प्रचण्डले उक्साएर भएको हो । अब बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएर अर्काे सरकार बनाउने अनि संविधान कसरी बनाउने भन्ने विषयमा दलहरूबीच सहमति गरेर अघि बढ्नुपर्छ ।
गणेशराम प्रजापति, भक्तपुर

नेपाल सबै जातको साझा फूलबारी हो । प्रचण्ड र बाबुरामहरूले सत्ता स्वार्थले नेपालीलाई आपसमा फुटाए र संविधानसभाबाट नयाँ संविधान पाउने जनताको आशाको पनि हत्या गरे । संविधान नबनाई संविधानसभा विघटन हुनुमा माओवादी पूर्णरूपमा जिम्मेवार छ । जेठ महिना सुरु नहुँदै उसले दलीय सहमतिविरुद्ध प्रतिकार गर्न जनजातिलाई उक्सायो र त्यही विषयमा विवाद भएपछि संविधान बन्न सकेन अनि आफैँले नयाँ चुनाव घोषणा गर्‍यो । संविधानसभाको विघटनपछि देखापरेको संवैधानिक संकटलाई लिकमा ल्याउन दलहरूबीच सहमतिको नयाँ सरकार बन्नुपर्‍यो र त्यसले बाधा–अड्काउ फुकाउँदै संवैधानिक संकटलाई हटाउनुपर्‍यो ।
नारायण गिरी, सिन्धुपाल्चोक

हामीले १४ जेठको मध्यरातसम्म संविधान आउँछ कि भनेर पर्खियौँ । तर, मध्यरात नहुँदै प्रधानमन्त्री बाबुराम भट्टराईले मसँग कार्यकारी अधिकार छ, मलाई कसैले छुने, चलाउने होइन भन्ने पूर्वराजा ज्ञानेन्द्र शाहको शैलीमा दुईतिहाइ बहुमत ल्याउन भन्दै चुनाव घोषणा गरे । संविधान पर्खेर बसेका हामी नगरिक र संविधानसभामाथिको खेलबाड हो, यो । संविधान नबनी संविधानसभा विघटन हुनुमा धेरथोर सबै दल जिम्मेवार छन्, तर माओवादीको भने नियत नै संविधान बन्न नदिने र जातीय विद्वेष फैलाएर आफूअनुकूलको राजनीतिक व्यवस्था ल्याउन लागेको प्रस्टै देखियो । अब बाबुरामलाई हटाएर सहमतिको सरकार गठन गर्नुपर्छ । बरु फेरि माओवादीकै प्रधानमन्त्री भए पनि फरक पर्दैन । नयाँ सरकार गठनपछि संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन दलहरूले सहमति गर्नुपर्छ ।

रामप्रसाद दवाडी, बालकोट

आदिवासी जनजाति आए आदिवासी जनजातिलाई तिमीहरू जातीय राज्यका लागि सडकमा आगो बाल भन्ने, जातीय राज्यका विरोधी आए उनीहरूलाई म त तिमीहरूकै पक्षमा छु भन्ने अनि दलहरूसँग संघीयताका विषयमा गरेको सहमति तोडेर मुलुकमा जातीय झगडा गराउने पुष्पकमल दाहालको कामले मुलुकको अस्तित्व संकटमा पर्ने देखिएको छ । सत्तामा बस्नका लागि जेसुकै गर्ने झगडा, काटमार र लडाइँबाट राजनीतिक लाभ र मनोरन्जन लिने उनको शैलीले मुलुक यो अवस्थामा आएको हो । अब माओवादीलाई सत्ताबाट हटाएर संविधान निर्माणमा बाँकी रहेका काम पूरा गर्नुपर्छ ।
बद्री सुवेदी, चितवन

 

प्रतिक्रिया