बम हत्या ‘अत्याधुनिक संगठित अपराध’


काठमाडौ,२६  जेठ । प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यालाई ‘अत्याधुनिक संगठित अपराधको संज्ञा दिएको छ । विशिष्ट किसिमको योजनाअनुसार बमको हत्या भएको प्रहरी स्रोतले जानकारी दियो ।
आठ दिनसम्मको गहन अनुसन्धानपछि पनि हत्यामा संलग्न अभियुक्तबारे दरिलो प्रमाण नभेटिएपछि प्रहरीले घटनालाई यस्तो विशेषण दिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीका अनुसार घटना विशेष खालको योजनामुताविक भएको छ । उनले भने, ‘अपराधीले कुनै प्रमाण नछाड्नुले यसलाई पुष्टि गर्छ ।’
प्रहरीले यस घटनलाई वैज्ञानिक ढंगले अनुसन्धान गरिरहेको एसएसपी सुवेदीको दाबी छ । प्रहरीले बम हत्यामा संलग्न दुईमध्ये एक अभियुक्तको ‘स्केच’ पनि सार्वजनिक गरेको छ । हत्या भएको आठ दिनपछि प्रहरीले ‘स्केच’ सार्वजनिक गरेको हो । हत्यामा संलग्न अर्का अभियुक्तको ‘स्केच’ भने प्रहरीले बनाउन सकेको छैन ।
घटनाका प्रत्यक्षदर्शीका बयानका आधारमा प्रहरीले बम हत्यामा संलग्न अभियुक्तको ‘स्केच’ बनाएको हो । ‘स्केचअनुसार हत्यामा संलग्न अभियुक्तको हुलिया गोलो अनुहार, कालो वर्ण, पातलो दाह्री पालेको, अनुहारमा खटिरा भएको, आर्मी–पुलिसको जस्तो छोटो कपाल भएको, खाइलाग्दो ज्यान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न अभियुक्तको उमेर अन्दाजी २७–२८ वर्षको छ । एसएसपी सुवेदीले अर्का अभियुक्तको हुलियाको स्केच भने सार्वजनिक नगरिएको बताए । अनुसन्धान अझै बाँकी रहेकाले अर्का अभियुक्तको हुलिया सार्वजनिक नगरेको एसएसपी सुवेदीको भनाइ छ ।
‘स्केच’ हेल्मेट लगाएको र मुख छोपिएको जस्तो देखिन्छ । घटनामा संलग्न अभियुक्तले घटना हुँदा बखत माक्स लगाएकाले अनुहार प्रस्ट नदेखिएको प्रहरीले जानकारी दियो ।
बममाथि १८ जेठमा बिहान १०:५५ बजे शंखमूलको युएन पार्कमा गोली हानिएको थियो । रातो मोटरसाइकलमा आएका दुई अभियुक्तले बमलाई लघारी–लघारी गोली हानेका थिए । हत्यामा संलग्न अभियुक्तसम्म पुग्न सूचना दिनेलाई प्रहरीले पुरस्कारको घोषणा गरेको छ । त्यसका लागि प्रहरीले ९८५१०–४२४१२, ९८५१०–५२७७० र ९८५१११–५०७७ टोलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया