किर्ते हस्ताक्षर गरेर पौने १२ लाख निकासा

विराटनगर, २६  जेठ । ‘साथीभाइको संगतले बिग्रिएँ,’ किर्ते हस्ताक्षर गरेर घरधनीको खाताबाट ११ लाख ७५ हजार रुपियाँ निकालेर मोजमस्तीमा उडाएका नवीन रिजालले प्रहरी हिरासतमा भने, ‘बैंकबाट पैसा निकालेर साथीभाइलाई मोटरसाइकल किन्न दिएँ, मोजमस्तीमा उडाएँ ।’
जिल्ला प्रहरी कार्यालय मोरङले घरधनीको चेकबुकमा किर्ते सही गरेर लाखौँ रकम झिकेको उजुरीपछि थलाहा–४ का २१ वर्षीय रिजाललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । विराटनगर–३ स्थित उषा खनालको घरमा सात वर्षदेखि घरेलु श्रमिकका रूपमा बस्दै आएका रिजालले खनालकै खाताबाट रकम निकालेर हिनामिना गरेको पाइएको छ ।
घरधनीको कोठाको ताला फोडेर रिजालले चेकबुकमा किर्ते हस्ताक्षर गरी डेढ महिनाभित्र ११ लाख ७५ हजार रुपियाँ चोरी गरेको पाइएको छ । उनले विराटनगरस्थित नेपाल इन्भेस्टमेन्ट बैंकबाट पाँचपटक पैसा निकालेका थिए । २४ जेठमा बैंकको खातामा पैसा सकिएपछि उनले विराटनगरकै लक्ष्मी बैंकबाट पनि उसैगरी रकम निकाल्न जाँदा बैंक म्यानेजर शम्भु राठीलाई शंका लागी काठमाडांैमा रहेकी खाताधनी खनाललाई जानकारी गराएपछि किर्ते हस्ताक्षरको रहस्य खुलेको हो । शंकाको घेरामा परेको थाहा पाएपछि तत्काल बैंकबाट निस्किएका रिजाललाई टोलबासीको सहयोगमा प्रहरीले बुधबार साँझ घरबाटै पक्राउ गरेको थियो ।
खाताधनी खनालका अनुसार रिजाललाई पढाइदिने सर्तमा घरेलु श्रमिकका घरमा राखिएको हो । ‘छोरो बनाएर पालेका थियौँ, उसले पनि ममीबाबा भन्थ्यो,’ खनालले भनिन्, ‘तर, धोका दियो ।’ उनका अनुसार खनालकै घरमा बसेर रिजालले कक्षा ५ देखि ११ सम्मको पढाइ पूरा गरेका थिए ।
विश्वासिलो मानेर खनाल र उनका पति विराटनगरको घर बहालमा लगाएर काठमाडौंमै बस्न थालेका थिए । ‘बेलाबेला विराटनगर आउने भएकाले घरको रेखदेख गर्नका लागि हामीले उसलाई छोरो मानेर घर जिम्मा दिई उसका आमा र भाइलाई पनि सँगै राख्न लगाएका थियौँ,’ खनालले भनिन्, ‘अति विश्वास गर्दा धोका पाइयो ।’ अर्काको खाताबाट धेरै रकम निकालिँदा पनि बैंकले हस्ताक्षर रुजु नगर्दा ठूलो रकम चोरी भएको खनालले बताइन् ।
बैंकबाट निकालेको पैसा रिजालले साथीसँग रेस्टुरेन्ट गएर, साथीभाइलाई मोटरसाइकल, ल्यापटप किनिदिएर सिध्याएको बताएका छन् । उनले किनेका दुई मोटरसाइकलमध्ये एउटा साथीलाई दिएको बताए । पैसाले दुईवटा ल्यापटप, दुई थान मोबाइल पनि किनेको र केही पैसा साथीलाई सापट दिएको बताए ।
रिजालले किर्ते हस्ताक्षर गरेर बैंकबाट पैसा निकालेको जानकारी पाएपछि बिहीबार खनाल परिवार विराटनगर आएर जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी उमाप्रसाद चतुर्वेदीले रिजाललाई बैंकिङ कारोबारअन्तर्गतको मुद्दा चलाइने बताए । प्रहरीले रिजालबाट एक थान मोटरसाइकल र ४३ हजार रुपियाँ मात्र बरामद गरेको छ ।

प्रतिक्रिया