सैन्य व्यापार बढाउन जोड

नयाँदिल्ली, २५ जेठ । भारत भ्रमणमा रहेका अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटाले दुई देशबीच हतियार व्यापार बढाउनुपर्नेमा जोड दिएका छन् । सिंगापुरमा आयोजित सुरक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागिता जनाएर उनी भारत आएका हुन् । सम्मेलनमा उनले अमेरिकाको ६० प्रतिशत नौसैनिक सामथ्र्य एसिया–प्रशान्त क्षेत्रमा परिचालन गरिने बताएका थिए । त्यसलगत्तै भारत आएर उनले द्विपक्षीय हतियार कारोबार बढाउन गरेको पहललाई अर्थपूर्ण रूपमा लिइएको छ ।
मन्त्री पनेटाले बुधबार उच्च कोटिका हतियार प्रविधि भारतलाई बिक्री गर्न अमेरिका तयार रहेको बताए । साथै, दुई देश मिलेर हतियार निर्माण गरी द्विपक्षीय हतियार कारोबार बढाउनुपर्नेमा उनले जोड दिए ।
‘अमेरिका र भारतबीच मात्रात्मक र गुणात्मक दृष्टिकोणले प्रतिरक्षा व्यापार बढाउन आवश्यक भएको छ,’ पनेटाले भने । भारतको प्रतिरक्षा प्रबन्धका नियम र पारमाणविक दायित्वसम्बन्धी विधानलाई आधुनिक बनाउनुपर्नेमा समेत उनले जोड दिए । आधुनिक र प्रभावकारी प्रतिरक्षा बल निर्माण गर्ने भारतको आकांक्षा पूरा हुन अमेरिकासँगको उसको निकटता महत्त्वपूर्ण हुने विचार उनले व्यक्त गरे ।
पनेटाको भारत भ्रमण एसियामा चीनविरुद्ध मोर्चा निर्माण गर्नेतर्फ लक्षित रहेको विश्लेषण गरिएको छ । पनेटाले भने क्षेत्रीय सुरक्षा र सम्पन्नता प्रवद्र्धनका लागि चीनले प्रभावकारी भूमिका खेल्छ भन्ने विश्वास अमेरिका र भारत दुवैले लिएको बताए । विश्व मामिलामा ठूलो भूमिका खेल्नसक्ने बलियो, सम्पन्न र सफल चीनको उदयलाई अमेरिकाले स्वागत गर्ने उनले प्रस्ट गरे ।
प्रतिरक्षामन्त्री पनेटाले अमेरिका र भारत दुवैले नियमित तथा जटिल दुवैखाले सैन्य अभ्यास गर्ने क्रम बढाउनुपर्ने धारणा प्रकट गरे । चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीच संयुक्त सैन्य अभ्यास र सहकार्य अभिवृद्धि गर्नुपर्ने धारणा राखेकै बेला अमेरिकी प्रतिरक्षामन्त्रीले त्यस्तै प्रस्ताव भारतसमक्ष राखेका हुन् ।
‘ड्रोन आक्रमण रोकिँदैन’
पाकिस्तानमा रहेका अल कायदा र तालिबानी चरमपन्थीविरुद्ध लक्षित नेटोले पाकिस्तानभित्र जारी राखेको आक्रमणलाई निरन्तरता दिने पनेटाले बताएका छन् । ‘हामी आत्मसुरक्षाका कदमलाई जारी राख्नेछौँ,’ उनले भने । पाकिस्तानी भूमिमा नेटो तथा अमेरिकी सेनाले गर्ने ड्रोन आक्रमणको पाकिस्तानले निन्दा गर्दै आएको छ । (एजेन्सी)

‘भारत अमेरिकासँग लहसिँदैन’
भारतले स्वतन्त्र विदेश नीति अवलम्बन गरेकाले उसले चीनविरुद्ध अमेरिकासँग गठबन्धन निर्माण नगर्ने दाबी एक चिनियाँ विश्लेषकले गरेका छन् । भारतसँग यस्तो गठबन्धन निर्माण गर्न अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटा भारत पुगेका भए पनि भारतले चीनलाई बेवास्ता गर्न नसक्ने चिनियाँ विश्लेषक वाङ देहुवाले जनाएका छन् । ‘यस क्षेत्रमा भारतका आफ्नै एजेन्डा छन् । विदेश नीति तर्जुमा र राष्ट्रिय स्वार्थ प्रवद्र्धनका लागि भारत स्वतन्त्र रूपमा चल्न चाहन्छ,’ उनले भने । ‘साउथ चाइना सी’ मा आफ्नो संलग्नताले चीनसँग तनाब बढ्ने र यसबाट आफ्ना आधारभूत राष्ट्रिय स्वार्थमा खलल पुग्ने देखेर भारत पछि हटेको प्रसंगलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेर आफ्नो भनाइ पुष्टि गर्न खोजेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले जनाएको छ । चीनसँगको बृहत् आर्थिक तथा सांस्कृतिक सहकार्यमा भारतको बृहत्तर हित निहित रहेको जिकिर गर्दै विश्लेषक वाङले भने, ‘चीनलाई सीमित गर्ने अमेरिकाको उद्देश्यलाई ध्वस्त गर्न चीनले यस्तो अवस्थाको उपयोग गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया