राजनीतिको शल्यक्रियामा नेत्रचिकित्सक

राजनीतिको ‘पारिवारिक पाठशाला’मा हुर्किएर पनि डाक्टर सशांक कोइरालालाई राजनीति गर्नै पर्छ भन्ने लागेको रहेनछ, उतिबेला । पेसाले नेत्रचिकित्सक भए । हजारांै आँखाको अपरेसन गरे । तिनै कैयौँ सेवाग्राहीले उनलाई ‘देशको अपरेसनमा लाग्नूस्’ भनेर सल्लाह दिँदा रहेछन् । कताकता राजनीतितिर मोह जगाइदिएछन् । ‘मेरा शुभचिन्तककै प्रेरणाले हुनुपर्छ, आज म राजनीतिमा होमिएको,’ कांग्रेस नेता डा. कोइरालाले भने, ‘उसो त मैले आठ–नौ कक्षामा पढ्दाखेरि नै बन्दुक बोकेको थिएँ ।’
नेपाली राजनीतिमा महामानव भनेर चिनिने राजनेता बिपी कोइराला र सुशीलाका कान्छा पुत्र सशांकको जन्म सन् १९५७ सालमा भयो । ‘जन्मले म बिहारी हुँ’ भन्दै ठट्यौली गरे सशांकले अनि भने, ‘मेरो बाल्यकाल एकै ठाउँमा स्थिर हुन सकेन, बुबाको राजनीतिक यात्रासँगै थुप्रै ठाउँ पुगियो, त्यसैले मेरो पठनपाठन पनि एक ठाउँमा हुनै सकेन ।’ उनले बनारसको वसन्तदेखि पटनाको सेन्टजेभियर्स हुँदै सन् १९७४ मा दार्जिलिङको नर्थप्वाइन्टबाट ११ कक्षा उत्तीर्ण गरेका रहेछन् ।
पारिवारिक पृष्ठभूमिले राजनीतिको राम्रो शिक्षा पाएका कोइरालालाई पिताले जसरी नै ‘देशका लागि योगदान गरौँ’ भन्ने लागेछ । त्यही चाहना पूरा गर्न २० वर्षे चिकित्सा पेसाबाट बिदा लिएर नेपाली कांग्रेसमार्फत राजनीतिमा होम्मिए । क्रिकेट र फुटबलका असाध्यै सोखिन सशांकले नेपाली राजनीतिको वर्तमान ‘खेल’ भने त्यति गतिलो भइरहेको देखेका छैनन् । पिताकै सिद्धान्तले भित्रैदेखि स्पर्शित भएका सशांकले मातृकाप्रसाद कोइराला, गणेशमान सिंहहरूको राजनीतिक शैलीलाई नजिकबाट देखे–नियालेका थिए । भीमबहादुर तामाङ, दिलबहादुर घर्ती उनका सानैदेखिका दाँैतरी हुन् । गिरिजाप्रसाद कोइराला, नोना कोइराला, शैलजा आचार्य, प्रकाश, शेखर कोइरालाहरू त परिवारकै सदस्य भए । उनीहरूकै बीचमा सशांकको बाल्यकाल हुर्कियो ।
बनारस हिन्दू विश्वविद्यालयबाट एमबिबिएस र पोस्टग्य्राजुएट गरेर डाक्टर बनेका सशांकले डक्टरीमा जस्तो इमानदारिता राजनीतिमा देख्न पाएका छैनन् । ‘अहिलेका राजनीतिज्ञमा बिपी बाबुको जस्तो स्पष्टता, दृढता र कला छैन’, उनले भने, ‘अहिलेको राजनीतिक नेतृत्वमा यी तीन कुरा मात्रै होइन, व्यक्तित्वको समेत अभाव छ ।’ त्यही अभाव आज नेपाली कांग्रेसको कमजोरी बन्दै गएको राम्ररी बुझेका सशांक ‘फेरि बिपीकै पथ नेपाली कांग्रेसले पछ्याउन सक्नुपर्ने धारणा राख्छन् । आज हरेक दलका नेतालाई सत्ता र कुर्सीको मोह बढ्दै जानुले मुलुकमा अस्थिरता आएको भन्न रुचाउने सशांक बिपीले मेलमिलापको नीति लिएर ०३३ सालमा नेपाल फर्किएको क्षण स्मरण गर्छन्, ‘उहाँलाई त्यस बेला प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने थिएन तर उहाँले खुलामञ्चबाट ‘भोलिको प्रधानमन्त्री परशुनारायण चौधरी हो’ भन्नुभयो । आजका नेतामा त्यो त्याग छैन ।’
बिपीले २००७ सालतिर संविधानसभाको आवाज उठाए पनि ००९/१० सालतिर आएर चुप लाग्नुको रहस्य ‘सायद आजको जस्तो जातीय विचलन आउँछ’ भन्ने पूर्वानुमान रहेछ भन्ने अड्कल काट्छन् सशांक । ‘त्यसैले संघीयताको ठाउँमा विकेन्द्रीकरण रोजेको हुनुपर्छ,’ उनले भने । आज समाजवाद, राष्ट्रियता र प्रजातन्त्रको कुरा नारामा मात्रै सीमित रहेकोप्रति उनी चिन्तित छन् । ‘बिपीले हारमा पनि जित खोज्न जान्नुभयो । हामीले जितलाई पनि हारमा परिणत गर्न थाल्यौँ,’ सशांकले भने, ‘बिपीले जनमतमा गएर हारे पनि बहुदल बचाउनुभयो, सुधारिएको पञ्चायत भन्न राजालाई बाध्य पार्नुभयो, आज त्यस्तो चातुर्य र प्रजातन्त्रप्रति अडिग नेताको अभाव छ ।’
नीति र भिजनको अभाव देख्ने कोइरालाले भने २०४६ सालदेखि मात्रै नेपाली कांग्रेसको सक्रिय राजनीति थालेका हुन् । वर्तमान कार्यसमिति केन्द्रीय सदस्य रहेका कोइराला कांग्रेसको अघिल्लो केन्द्रीय समितिमा पनि सदस्य थिए । अहिलेको जटिल परिस्थितिलाई नाघेर अगाडि बढ्ने हो भने बिपीको सिद्धान्तमा फेरि हिँड्न जरुरी रहेको देख्ने उनी ‘त्यसका लागि पार्टी एक ठाउँमा आएर एकल पहिचान बनाउन जरुरी छ’ भन्छन् । अमेरिकाले डिभी दिएर आफ्नो मुलुकलाई बहुजाति, बहुभाषी र बहुपहिचानको बनाउँदै गर्दा नेपालमा एकल जातीय पहिचानको कुरा उठ्नु विदेशी एनजिओ/आइएनजिओको रणनीति भएको दाबी उनको छ । ‘जेनेटिक पुलिङ’ले समाजलाई बलियो बनाउने धारणा अघि सार्दै नेता सशांकले भने, ‘मुलुकमा विदेशी आइएनजिओले फैलाउन खोजेको साम्प्रदायिक दंगा रोक्नै पर्छ ।’
कुनै निर्दिष्ट लक्ष्यविना नै संविधान र संघीयताको यात्रा गरिएकाले आज त्यो सफल हुन नसकेको उनको ठम्याइ छ । पञ्चायतकालमा पनि व्यक्ति निर्वाचनमा नगएको नेपाली कांग्रेस प्रत्यक्ष निर्वाचनमा जान नहुने राय उनको छ । ‘यसले एउटा राजा हटाएर अर्को राजाको जन्म हुने अवसर प्रदान गर्छ’, उनले भने, ‘अतिवादी जन्माउन सक्ने प्रत्यक्ष निर्वाचन ठीक होइन ।’ नवलपरासी क्षेत्र नं १ बाट भरखरै विघटित संविधानसभाको सदस्य बनेका सशांकले भने, ‘संविधान नबन्नुमा हामी सबै बराबर दोषी छौँ, तर १२ बुँदेदेखि नै हरेक सम्झौता उल्लंघन गर्दै आएको माओवादीले यो अवस्था ल्याएको हो ।’ आफूहरूमा पनि राजनीतिक स्पष्टता र दृढता नभएकै कारण संविधानसभा विघटनको अवस्था भोग्नुपरेको उनले बताए ।
स्पष्टता र दृढताका साथ लागेकाले दुई सय ४० वर्ष पहिला ५५ जना सभासद्ले अमेरिकाको संविधान बनाउन सफल भएको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ स्पष्ट ६ वटा आधार थिए ।’ कुनै पनि कम्युनिस्टले संघीयता र जातीयता नस्विकार्ने सिद्धान्तमा माओवादी बफादार नभएको जिकिर गर्दै उनले भने, ‘माओत्सेतुङ, लेनिनले समानताको नाममा कैयौँ गिर्जाघर भत्काए यहाँ जातीयता, धार्मिकताको कुरा चर्काइयो ।’ गिरिजाबाबुले थालेको ‘सहमति, सहकार्य र एकता’प्रति दलभित्र र बाहिर कोही पनि बफादार नभइदिँदा देशले आजको परिस्थिति भोग्नुपरेको उनको ठम्याइ छ ।
युएसएको स्ट्यान्डफर्ट युनिभर्सिटी र जर्मनीबाट विशेष तालिम लिएका कोइरालालाई केही न केही ‘नयाँ’ गरिरहनुपर्ने हुन्छ । उनले टिचिङ अस्पतालमा २० वर्ष डाक्टरी मात्र गरेनन् । बिपी कोइराला नेत्र अध्ययन केन्द्रको संस्थापक र कार्यकारी अध्यक्ष भएर काम गरे । बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सन् १९७९ मा सुपात्रासँग प्रेम अनि विवाह बन्धनमा बाँधिएका सशांकको सन्तानका रूपमा छोरी सुप्रियाको जन्म भयो । बिपी–सुशीला स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीमा समेत छन् उनी । नृत्यप्रति असाध्यै रुचि राख्ने आमा सुशीलाले भारतीय नृत्य कला मन्दिर पटनामा स्थापना गरेर नेपाली चेलीहरूलाई भारत नाट्यम्, कत्थक सिकाउन चाहन्थिन् । आमाको त्यही सपना पूरा गर्न आर्ट युनिभर्सिटी बनाउने उद्देश्यले यो संस्था स्थापित भएको उनले बताए । बिपिआई फाउन्डेसनमार्फत सशांकले नेपालमा पहिलो बाल आँखा तथा कान अस्पताल र पुन:स्थापना केन्द्र बनाइरहेका छन् । राजनीति गर्ने हो भने व्यवहारमा पनि समाजमुखी काम गर्नुपर्ने धारणा बोकेका सशांक अबको राजनीतिक निकास सर्वदलीय सहमतिमा राष्ट्रिय सरकार मात्रै देख्छन् । ‘त्यही सरकारमार्फत आगामी निकास निकाल्न सकिन्छ,’ उनले भने ‘सहमति, सहकार्य र एकताविना निकास सम्भव छैन ।’

प्रतिक्रिया