इतिहासले धिक्कारेका दुई पात्र

भनिन्छ, इतिहासले कसैलाई पनि पाठ सिकाउँदैन, बरु इतिहासबाट पाठ सिक्ने हो । इतिहासबाट पाठ नसिक्नेहरू इतिहासकै कठघरामा उभिन पुग्छन् । राजनीति गर्नेका लागि इतिहासबाट सिक्ने कुरा अत्यन्तै महत्त्वपूर्ण र अनिवार्य कुरा हो । तर, नेपालमा इतिहासबाट पाठ सिक्ने काम कहिल्यै भएको छैन । ३० वर्षे पञ्चायती शासन राजपरिवार र सीमित व्यक्तिका लागि मात्र भयो । जनता शासकका नजरमा गौण भए । त्यसैले २०४६ सालमा पञ्चायती व्यवस्था फाल्न जनताले गरेको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनर्बहाली भयो । जनताका नाममा दलका नेताले शासन गरे पनि जनताको जीवनस्तरमा तात्त्विक भिन्नता आउन सकेन । राजाले शासन गर्दा एउटा मात्र राजा भएकामा दलहरूले शासन  गर्दा थुप्रै छोटे राजाहरू भएको स्थिति देखियो । जनताको यही निराशालाई माध्यम बनाएर ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी आफ्नै नेतृत्वमा सरकार गठन गरे । राजाको त्यो कदमबाट राजनीतिक दलका नेताहरू आक्रोशित भए पनि जनताहरूले एक प्रकारको राजनीतिक परिवर्तन हुने ठानी उत्साहका साथ हेरिरहे । जनताको समस्या बुझ्न भनेर ज्ञानेन्द्र देश दौडाहामा लागे । ज्ञानेन्द्र जहाँ जहाँ पुग्छन् त्यहाँ जनताको उपस्थिति उल्लेखनीय रह्यो । जनताले त्यहाँ ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाउन थाले ।
०४६ सालको जनआन्दोलन सफल भएपछि स्थापित भएको प्रजातान्त्रिक व्यवस्थाका शासकहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका थिए । भ्रष्टाचारीको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए भने चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, सुजाता कोइराला उनका सहयोगी थिए । प्रजातन्त्रका नाममा केही नेता, उनका नातागोता र आसेपासेहरूले रजाइँ गर्ने तर जनताको दैनिक जीवनस्तर दिनप्रतिदिन गिर्दो थियो । यस्तो अवस्थामा जनताले दलहरूको विकल्प शक्तिका रूपमा पुन:राजतन्त्रलाई हेर्न थाले । अनि ज्ञानेन्द्रका हरेका क्रियाकलापको सर्मथन गर्न थाले । त्यसैले केहीले अनाधिकृत रूपमा लिएका सरकारी गाडी फिर्ता गरे । कोही भ्रष्टाचार निवारण गर्न गठन भएको अदालतमा बयान दिन गए । कोही भ्रष्टाचार गरेकै कारण जेल परे । जनताको नाममा लुटको राज्य गर्नेहरू त्राही त्राही भए । दरबार हत्याकाण्ड मच्चाएर राजा भएका ज्ञानेन्द्रलाई दलका नेताको अकर्मण्य व्यवहारले स्थापित हुन सजिलो भएको थियो । राम्रो काम हुने आशामा दरबार हत्याकाण्डका नाइके भए पनि जनताले त्यस विषयलाई उठाउन छाडिसकेका थिए । बेला बेलामा गिरिजाप्रसादले ‘दरबार हत्याकाण्डको रहस्य मलाई थाह छ कुनै दिन म त्यसको पर्दाफास गर्छु’ भनेर तर्साउँथे । तर, जनताले गिरिजाको त्यो बोलीलाई पनि त्यति महत्त्व दिएनन् । ज्ञानेन्द्र शक्तिशाली शासकका रूपमा स्थापित भइसकेका थिए । जनताले पनि आफ्नो भविष्य उनैमाथि देखेका थिए । अनि भन्न थालेका थिए अब जे गर्छन् राजाले नै गर्छन् । विडम्बना जनताले समस्या सुनाउँदा ‘अँ बुझँे बुझेँ’ भने तर ‘बुझेँ’ भनेका समस्या कहिल्यै समाधान गरेनन् । ज्ञानेन्द्रको व्यवहार देख्दा दरबार हत्याकाण्ड आफू राजा भई शासन गर्न भन्दा पनि सम्पत्ति कुम्याउन गरिएको कदम हो जस्तो लाग्थ्यो । जनताले ‘राजा मान्छौँ शासक ठान्छौँ’ भन्दा पनि उनलाई त्यतिले पुगेन उनको सारा ध्यान सम्पत्ति जम्मा गर्नेमा गयो ।
शासकबाट सधैँ दबाइएका सार्वभौम भने पनि रैतीको व्यवहार सहन पुगेकाहरूको भावना ज्ञानेन्द्रले पनि बुझ्न सकेनन् । बरु उल्टै तिनै जनताले कर तिरेर जम्मा गरेको राष्ट्रिय ढुकुटी रित्याउने गरी हेलिकप्टर लिएर मन्दिर मन्दिर र अनावश्यक ठाउँमा जान थाले । उनको देशव्यापी भ्रमण सुरुमा जति उत्साहपूर्ण थियो । पछिल्ला दिनहरूमा क्रमश: निराशामा परिणत भयो । त्यही निराशाले ०६२/६३ को आन्दोलन गरी राजतन्त्रलाई सदाका निम्ति अन्त्य गर्‍यो । जनशक्ति अजय शक्ति हो भन्ने उनले बुझ्न सकेनन् फलत: सडकमा आउनुपर्‍यो । ज्ञानेन्द्रको शाही कदमपछि जनताले दलका नेतालाई छाडेर शाही कदमलाई समर्थन गरे । एकातिर राजाको शासन गर्ने तरिका भ्रष्ट र जनविरोधी बन्दै गयो भने अर्कातर्फ दलका नेताले आफूहरू सँच्चियौँ भन्दै जनतालाई विश्वास दिलाउँदै गए । त्यसैको फलस्वरूप ०६२/६३ को जनआन्दोलन भयो र त्यही आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्‍यो । ०४६ सालदेखि खुला राजनीतिमा आएर सत्तासीन भएका कांग्रेस, एमाले, राप्रपा र फोरमका नेतालाई जनताले देखिसकेका थिए तर १० वर्षको सशस्त्र संघर्षपछि खुला राजनीतिमा आएको माओवादी पार्टीका नेता जनताको आकर्षणको केन्द्र हँुदै थिए ।
राजा र बहुदलवादी नेताको शासन देखिसकेका जनताले माओवादीलाई परिवर्तनकारी शक्तिका रूपमा हेरेका थिए । हुन पनि वर्गीय विभेद र सामन्ती व्यवस्थाको अन्त्य गर्दै समृद्ध नेपाल बनाउने उद्देश्यका साथ लड्दा दशौँ हजार मानिस मरेका थिए । एउटा मर्दा उसले बोकेको हतियार समाउन अर्को तयार हुन्थ्यो । यो कम साहसिक कुरा थिएन । त्यसैले त माओवादीप्रति जनताको विश्वास थियो । सरकारले आतंककारीभन्दा जनताले घर घरमा ल्याएर भात खुवाए सुरक्षा दिए । विदेशीहरूले आतंककारीको बिल्ला भिराउँदा पनि भोट हालेर सबैभन्दा ठूलो पार्टी बनाए । भन्दा आफूलाई कांग्रेस, एमाले र अरू पार्टीको भने पनि परिवर्तनका आशामा आफ्ना सदस्य मारेका, कतिलाई टुहुरा बनाएका कतिलाई सहाराविहीन बनाएका, कैयौँको घरवारविहीन बनाएका यावत् कुरालाई बिर्सिदिएर भोट माओवादीलाई दिए । ठूलो पार्टीको नेता प्रचण्डलाई सत्ता सुम्पन ढिला गरेपछि गिरिजाप्रति जनता खनिए । उनलाई सत्ता दिलाई छाडे । प्रचण्ड माओवादीको मात्र नेता नभई सबै नेपालीका नेता भए । प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई नेपाली जनताको विजयको खुड्किलोका रूपमा हेरियो । राजादेखि विश्वास गरिएका नेतासम्मबाट धोका पाएका जनताको आशा दिन प्रतिदिन प्रचण्डप्रति बढ्दै गयो । नेपाली जनताले राजनेता पाएको ठानी उनका फोटा घर घरमा टाँसे । गिरिजाको निधनपछि त प्रचण्ड मात्र यस्ता नेता भए जोमाथि जनतादेखि अन्तर्राष्ट्रिय जगत्को समेत ध्यान तानियो । हुन त देशमा थुप्रै पार्टी थिए, नेता थिए, तर पनि उनको व्यक्तित्व, बोली र १० वर्षको सशस्त्र आन्दोलनको नेतृत्व गर्दा अरू नेताहरू छायामा परेका थिए । जनताले उनलाई राजनेताका रूपमा स्थापित गर्दै काम गर्ने मौका दिए । तर, जनताको त्यो सद्भावलाई बिर्सेर उनी व्यापारी भए धनसम्पत्ति जम्मा गर्नपट्टि लागे, जसरी ज्ञानेन्द्र लागेका थिए ।
परिवर्तनका लागि लडेका युवालाई खराब नियतका साथ वर्षौंसम्म क्यान्टोनमेन्टमा बन्धक बनाए । कपोलकल्पित संख्या देखाएर अर्बौं रुपियाँ भ्रष्टाचार गरे । भन्दा भाडामा बसेको भने पनि १७ करोडको आलिसान महलका मालिक भए । धर्म निरपेक्ष र जनजातिका नाममा आइएनजिओ खोलेर विदेशी डलर लाजिम्पाट भित्र्याए । एक सय तीनभन्दा बढी जातजाति भएको मुलुकमा जातीय माग्नेलाई जातीय, क्षेत्रीय माग्नेलाई क्षेत्रीय, अखण्ड माग्नेलाई अखण्ड राज्य, दिने भनेर आश्वासन दिए । नेपाली जनताले प्रचण्डलाई राजनेता बनाउन खोजेका थिए तर उनी राजनेता बन्न चाहेनन् । जसरी जनभावनाअनुसार काम गर्न नसकेका ज्ञानेन्द्रलाई ०६२/६३ को आन्दोलनले पाखा लगायो त्यसैगरी प्रचण्डलाई पनि सदाका लागि पाखा लगाउनुपर्छ । त्यो मौका जनतालाई आउँदै छ मौकामा जनता पनि चुक्नु हुँदैन नत्र इतिहासले फेरि नेपाली जनतालाई धिक्कार्ने छ ।

प्रतिक्रिया