आत्मविश्वास छैन विद्यार्थीमा

काठमाडौं,२५  जेठ । सबैभन्दा जान्ने कहलिएका विद्यार्थीमा समेत अरूको नहेरी वा नसोधी ढुक्क भएर लेख्ने आत्मविश्वास नभएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको निकाय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणबाट ‘पठन सीपमा आश्चर्यलाग्दो समस्या’ पाइएको हो ।
केन्द्रले गत फागुनमा २५ जिल्लाका एक हजार दुई सय विद्यालयका ४८ हजार विद्यार्थीको सिकाइ उपलब्धि तथा गुणस्तर परीक्षण गरेको थियो । ‘बच्चाहरूको आफँै प्रश्न हल गर्ने बानीमा ठूलो समस्या देखिन्छ, आत्मविश्वास कमजोर देखियो,’ अध्ययनमा संलग्न केन्द्रका उपसचिव डा. भोजराज काफ्लेले भने, ‘कतिसम्म भने कक्षाको सबैभन्दा जान्ने विद्यार्थीले समेत अर्काको नहेरी/नसोधी आफ्नै सुरले काम गर्ने विश्वास गुमाइसकेको भान भयो । पूर्वपरीक्षणका क्रममा सबैभन्दा कम जान्ने विद्यार्थी कुन हो ? अर्थात् कमजोर विद्यार्थीका लागि कुन प्रश्नावली कस्तो भयो भनेर विश्लेषण गर्नै गाह्रो भयो ।’
केन्द्रले परीक्षणका विभिन्न आधार तय गरे पनि विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण (नासा)लाई गुणस्तर परीक्षण गर्ने प्रमुख आधार बनाएको छ । मन्त्रालयको सबैभन्दा पछि स्थापित शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) विद्यार्थी, विद्यालय तथा अन्य शैक्षिक निकायको कामको गुणस्तर परीक्षणका लागि सक्रिय हुन थालेको हो । डा. काफ्लेले शैक्षिक गुणस्तर परीक्षणले शिक्षामा सेवा दिइरहेका संस्थाको विश्वास वृद्धि हुनाका साथै व्यक्तिलाई उत्तरदायी र जवाफदेही बनाउने बताए । यसले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी)ले चाहेको गुणस्तर प्राप्त गर्न सहयोगसमेत मिल्ने उनको भनाइ छ ।
शिक्षा क्षेत्रको स्वतन्त्र ढंगले परीक्षण गर्नका लागि केन्द्र स्वायत्त र स्वतन्त्र प्रकृतिको हुनुपर्ने कर्मचारीको धारणा छ । डा. काफ्लेले भने, ‘यसका लागि केन्द्रको स्थापना ऐनद्वारा नै व्यवस्थित गर्नुपर्छ ।’ स्वतन्त्र निकाय हुनुपर्ने सुझाव आए पनि अहिलेसम्म ऐनको प्रक्रिया पूरा भएको छैन ।  शैक्षिक गुणस्तर परीक्षण केन्द्र व्यवस्थापन कार्यविधि निर्देशिका, २०६७ जारी गरी त्यसैका आधारमा कार्य सञ्चालन भएको छ ।

दातृनिकायले हस्तक्षेप गरे : मन्त्री शर्मा
शिक्षामन्त्री दीनानाथ शर्माले शिक्षामा थोरै लगानी भए पनि दातृनिकायले शासन गर्न खोजेको बताएका छन् । शिक्षामा १८ देखि २० प्रतिशत लगानी गरेका दातृनिकायले उनीहरूका स्वार्थ मात्र लाद्न खोजेको उनको भनाइ छ ।
इआरओ र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले बुधबार गरेको कार्यक्रममा मन्त्री शर्माले सानो कुरामा पनि दातृनिकायले हस्तक्षेप गरेको गुनासो गरे । ‘देशको अर्थतन्त्र बलियो नहँुदा दबाब खेप्नुपरेको छ,’ उनले भने ।
शिक्षासचिव किशोर थापाले मन्त्रालय, शिक्षा विभाग तथा क्षेत्रीय शिक्षा निर्देशनालयले गुणस्तर परीक्षणको काम गर्न गाह्रो हुने भएकाले छुट्टै निकाय आवश्यक रहेको बताए । शैक्षिक गुणस्तर परीक्षणका लागि इआरओलाई स्वायत्त बनाउनुपर्ने धाारणा सचिव थापाले राखे ।
केन्द्रका प्रमुख कमलेश सिन्हाले संशोधनको क्रममा रहेको शिक्षा ऐनमा इआरओका लागि प्रस्ताव लगिएको जानकारी दिँदै ऐनमार्फत यसले स्वायत्त निकायको मान्यता पाउने दाबी गरे ।

प्रतिक्रिया