‘सगरमाथामा सहकारी झन्डा फहराउँदा उत्साहित भए’

अन्तर्राष्ट्रिय सहकारी झन्डा र अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को प्रतीक चिह्न १३ जेठ बिहान ६ बजे सगरमाथा चुचुरोमा फहराउन सफल भए शिवकुमार डाागी । नेपाली सहकारीकर्मीले सगरमाथा विजय गरी विश्वभरका सहकारीकर्मी र आमजनसमुदायको ध्यानाकर्षण गर्न सफल भएपछि नेपालको सहकारी आन्दोलन यतिबेला गौरवान्वित भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को अवसरमा सहकारी क्षेत्रको प्रवद्र्धनमा योगदान दिने र विश्वभरका एक अर्बभन्दा धेरै सहकारीकर्मीको भावनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्य लिएर सहकारीकर्मी डागी अन्तर्राष्ट्रिय सहकारी झन्डा र अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को प्रतीक चिह्न लिएर २२ चैत ०६८ मा काठमाडौंबाट सगरमाथा आरोहणका लागि सोतर्फ प्रस्थान गरेका थिए ।
१५ चैत ०६८ मा आयोजित समारोहमा तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र विष्ट मगर र राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले अन्तर्राष्ट्रिय सहकारी अलाएन्सको झन्डा र अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को प्रतीक चिह्न आरोहीलाई हस्तान्तरण गरेका थिए । यसै विषयमा सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी :

अन्तर्राष्ट्रिय सहकारी झन्डा र अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को प्रतीक चिह्न सगरमाथा चुचुरोमा फहराउन कहिले सफल हुनुभयो ?
लामो समयपछि हामी सगरमाथा चड्न सफल भयौँ । १३ जेठको विहान ६ बजे सफल भएका हौँ । अन्तर्राष्टिय सहकारी झन्डा र अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ को प्रतीक चिह्न सगरमाथामा जसरी भए पनि फहराउने आशाका साथ त्यसतर्फ लागेको थियौँ । सोहीअनुरूप मैले १३ जेठ बिहान ६ बजे झन्डा फहराउन सफल भए । तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र विष्ट मगर र राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालको हातबाट ग्रहण गरेको झन्डा सगरमाथामा फहराउँदा अत्यन्त खुसी भएँ ।
तपार्इं आफू स्वयंले यसलाई कसरी लिनु भएको छ ?
सहकारीको झन्डा विश्वकै इतिहासमा पहिलोचोटि फहराइएको छु । यसमा म अत्यन्तै उत्साहित बनेको छु । यसले सहकार्य गर्नका निम्ति आमजनता समक्ष प्रेरणा दिने छ । सहकारी आन्दोलनलाई तीव्र गतिमा बढाइरहँदा त्यसको मूल्य–मान्यतासँग जोडिएको झन्डा र प्रतीक छ । त्यो सगरमाथा  शिखरमा फहराइएको छ रे भन्दा थप ऊर्जा पैदा हुने छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ का अवसरमा नेपालका तर्फबाट भएको यो साहसिक कार्यले नेपालको सहकारी आन्दोलनलाई गति प्रदान गर्न र अन्तर्राष्ट्रिय क्षेत्रको सद्भाव एवं सहयोग प्राप्त गर्न मद्दत पुग्छजस्तो मलाई लाग्छ  ।
सहकारीकर्मीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
प्रतिक्रिया सकारात्मक छ । जानुभन्दा पहिला पनि सहकारीकर्मीले हौसला प्रदान गरेका थिए । काठमाडौं आउनु साथ जिल्ला सहकारी संघ ललितपुरले बधाई तथा सम्मान गर्‍यो । आगामी २८ गते काठमाडौंका सहकारीले सम्मान गर्ने कार्यक्रम छ । विभिन्न सहकारी संघ/संस्थाले पनि बधाई दिएका छन् । साँच्चै नै सहकारीकर्मी उत्साहित बनेका छन् । सहकारी वर्ष मनाउने क्रममा भएको यस कामले साह्रै उत्साहित बनेको छ । देशभरका सहकारीले फहराइएको झन्डा प्रत्येक संस्थामा राख्न भनिएको छ ।
सहकारी आन्दोलनलाई कसरी हेर्नुहुन्छ  ?
अहिलेको सहकारी अभियान लंगडो छ । यसले खासै गति लिन सकेको छैन । सहकारिताका माध्यमबाट उत्पादनको वृद्धि गर्नुपर्ने हो । सहकारिताका माध्यमबाट उत्पादनको विकास गर्ने भन्ने हो । त्यो हुन सकिराखेको छैन । सहकारीमार्फत नेपालको पुँजी विकास गर्नका निम्ति सरकार र जनता सहभागी हुन जरुरी छ । बचत तथा ऋण कारोबार गर्ने सहकारी समस्यामा छन् । जुन जनताको नभई राज्यको समस्यामा मैले लिएको छु । उत्पादन सहकारीमध्ये विशेषगरी कृषि सहकारीको सम्भावना राम्रो रहेकाले त्यसतर्फ लाग्नु पर्छ ।

प्रतिक्रिया