कसैले नकमाएको चर्चा !


निर्माता दिनेश थापा चलचित्रमा प्रवेश गरेको आधा दशकजति भयो । तर, चर्चाका मामिलामा उनीभन्दा पछि आएकाले बाजी मारिसके । यताबाट पो हुन्छ कि भन्दै म्युजिकभिडियोतिरबाट भाग्य परीक्षा गरिहेरे । त्यहाँ पनि त्यस्तै, कुनै प्रसारणमै आएनन् त आएकाले पनि उनलाई उठाएनन् । नभएपछि आफैंले लगानी गरेर चलचित्र बनाए– मिस्टर डन । चलेका हिरो राखेर आफू पनि खेले । तर फिल्म चले पो † फेरि अर्को चलचित्र बनाए– मस्ती । त्यसले पनि उनको लगानी मस्ती गरेर उडाएझैं बनाइदियो । न दाम न नाम न त चर्चा नै पाए । भएको पैसा पनि सकियो अब के गर्ने त ?
उपाय एउटै छ– सस्तो लगानीको चलचित्र बनाउने । सस्तो लगानीका यौन चलचित्रले बाजी मारिरहेका बेला उनी पनि बचेखुचेको पैसा जम्मा पारेर यतैतिर तम्सिए । बनाए– एटीएम । नायकका रुपमा नायिकाहरुसँग फिल्मी रोमान्स पनि निक्कै गर्न भ्याए । तर फिल्ममा नायिकासँग उनले गरेको मस्ती समाजलाई अलि पचेनछ । औंलो ठड्याउँदै भन्न थालेछ– होइन को रहेछ यो दिनेश थापा ? छाडा शब्द र उत्तेजक दृश्यको प्रोमोले नै उनलाई कसैले नपाएको चर्चा दिलाइदियो ।
अब उनको नाम थुप्रैलाई थाहा भइसकेको छ । उनी मक्ख छन् । भन्न थालेका छन्– ‘करोडौं लगानीका फिल्मले न नाम दिए न त दाम । बरु यो थोरै पैसाको फिल्मले पो चिनाइदियो त †’ ठीक हो ठीक हो, एटीएम ब्वाइ † नाम भए पनि ‘बदनाम’ भए पनि आखिर दुई–चार डोको चर्चा बटुलिहाल्नुभो ! फिल्म लाइनमा अरुले पनि कमाएका के नै पो छन् र ? अब यौनचलचित्रको बाढी आएको छ, चलिहाल्यो भने दाम पनि कमाउन के बेर † आश गरेर बस्दा होलाजस्तो छ ।

प्रतिक्रिया