पूर्वपञ्चहरूको एकता ‘भ्यागुताको धार्नी’


काठमाडौं, २४ जेठ । पूर्वपञ्चका तीन पार्टीबीचको एकता भ्यागुताको धार्नीझैँ भएको छ । राप्रपा, जनशक्ति र राप्रपा नेपालबीच एकीकरणका लागि विगत लामो समयदेखि हुँदै आएको प्रयत्न सफल भएको छैन ।
राप्रपा र जनशक्तिबीच साढे दुई वर्षअघि नै एकीकरण घोषणा भएको थियो । तर, अझैसम्म दुवै पार्टी छुट्टाछट्टै अस्तित्वमा छन् । एकीकरणका लागि संयुक्त केन्द्रीय महाधिवेशनको तिथि तोक्दै स्थगन गरिएको पाँचपटक भइसकेको छ । अब अर्को तिथि कहिले तय हुने भन्नेसमेत निश्चित छैन ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहसमेत राप्रपा, जनशक्ति र राप्रपा नेपालबीच एकता भई एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण होस् भन्ने चाहन्छन् । तर, पूर्वराजाको चाहनालाई पूर्वपञ्चहरूले पूरा गर्न सकेका छैनन् ।
स्रोतका अनुसार राजपा अध्यक्ष सूर्यबहादुर थापा र राप्रपा नेपालका अध्यक्ष कमल थापासँग केही समयअघि भएको भेटमा पनि पूर्वराजाले तीन पार्टी एकीकरणको विषयमा चासो लिएर सोधेका थिए । ‘पूर्वराजाले चासो लिएपछि एकताको माहोल पनि बढेको थियो तर अझै प्रक्रिया अघि बढ्न सकेको छैन,’ स्रोतले भन्यो ।
गत वैशाख २६, २७ र २८ गते राप्रपा र राजपाको संयुक्त केन्द्रीय महाधिवेशनको तिथि तय गरिएको थियो । सो तिथिमा कुनै पनि हालतमा महाधिवेशन गरिसक्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका थिए । तर, तयारी पूरा नभएको भन्दै महाधिवेशन स्थगन गरिएको छ । यसअघि पनि यसरी नै तयारी पूरा नभएको भन्दै महाधिवेशन स्थगन हँदै आएको छ ।
०६६ माघ २१ गते राप्रपा र राजपाले संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए । एकीकृत पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राख्ने भनिएको थियो । तर, त्यही बेला राप्रपा नेपालसँग पनि एकीकरण गर्ने तयारी सुरु भएकाले दुई पार्टीको एकीकरणको मिति सरेको नेताहरूले बताएका थिए ।
तीन पार्टी एकीकरणका लागि नेताहरूबीच पटक–पटक औपचारिक र अनौपचारिक वार्ता पनि भए । तर, राजतन्त्रलाई हेर्ने दृष्टिकोण नमिलेर एकता हुन सकेन । औपचारिक र अनौपचारिक वार्ता र छलफल अझै भइरहेका छन् । एकीकरणकै प्रयास भइरहेका बेला राप्रपा र राजपाका केही नेता राप्रपा नेपालमा जाने क्रम पनि सुरु भएको छ । राप्रपा र राजपाका केन्द्रीय तहका नेता राप्रपा नेपालमा आउने क्रम रोक्न एकीकरणको हल्ला चलाइएको राप्रपा नेपालका नेताको दाबी छ ।
‘राप्रपा र राजपासँग एकीकरणका लागि केही वार्ता भएका हुन् तर विचारमा कुरा मिल्न नसकेपछि एकीकरण हुन सक्ने स्थिति रहेन,’ राप्रपा नेपालका अध्यक्ष थापा भन्छन्, ‘एकीकरणका लागि खास प्रक्रिया नै सुरु भएको छैन । तर, उहाँहरूले बढी प्रचार गरिरहनुभएको छ ।’
तर, राप्रपाका नेता बुद्धिमान तामाङले भने राप्रपा नेपालसँग एकीकरणको प्रयास जारी नै रहेको बताए । ‘तीन पार्टीबीच एकीकरण नभई सुखै छैन । हामी त्यसैका लागि निरन्तर प्रयास गर्दै छाँै,’ उनले भने । तयारी नपुगेकाले नै राप्रपा र राजपाबीचको एकीकरणको तिथि सरेको पनि तामाङले दाबी गरे । आगामी भदौमा तीनवटै पार्टीबीच एकता हुन सक्ने तामाङको भनाइ छ ।
स्रोतका अनुसार राप्रपाका तामाङ, दीपक बोहरा, राजपाका केशरबहादुर विष्टलगायत नेताले राप्रपा नेपालसँग एकीकरण गर्न नेतृत्वलाई दबाब दिइरहेका छन् । एकीकरण नभए आफूहरू पार्टी छाडेर राप्रपा नेपालमा जान तयार रहेको चेतावनी पनि उनीहरूले दिएको स्रोतको दाबी छ । यसैगरी, राप्रपा नेपालका पद्मसुन्दर लावतीले पनि एकीकरण गर्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।
राप्रपा नेपालले राजतन्त्रलाई आत्मसात् गरेको छ भने राप्रपा र राजपाले गणतन्त्रलाई स्विकारिसकेका छन् । तर, तीन पार्टी एकीकरण हुन नसक्नामा यो मात्र कारण नभई एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय पनि प्रमुख रहेको छ । तीन पार्टीको संयुक्त महाधिवेशन गर्ने र जसले जित्छ उसैलाई स्वीकार गर्ने दोस्रो तहका नेताले प्रस्ताव राखेका छन् । तर, यो प्रस्तावलाई राप्रपा र राजपाको नेतृत्वले स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया