रासायनिक मलको अभाव

दाङ, २३ जेठ । धान लगाउने समय सुरु हुने क्रमसँगै दाङमा रासायनिक मलको अभाव चर्किएको छ । खेती गर्ने समयको मुखैमा आउँदा प्रत्येक वर्षझंै यो वर्ष पनि किसान समस्यामा परेका छन् । सरकारले मल आयात नगरेका कारण दाङसहित आसपासका क्षेत्रमा डिएपी मलको अभाव चर्केको हो ।
मल पर्याप्त मात्रामा नहुँदा किसानले पनि मल पाउन सकिरहेका छैनन् । यस वर्ष पनि किसानलाई कोटाको आधारमा मल वितरण गरिने भएको छ । जिल्लाका ३९ गाविस र दुई नगर पालिकामा रहेका ८७ वटा कृषि सहकारी संस्थामार्फत कोटा निर्धारण गरी मल वितरण सुरु गरिएको छ । गत वर्षभन्दा यो वर्ष मलको चरम अभाव हुने देखिएको हो । सरकारले अझै पनि डिएपी मलको आयात गरेको छैन ।
मुलुकभर डिएपी मलको अभाव छ । जिल्लामा धान र मकै खेतीका लागि १५ हजार मेट्रिक टन मल आवश्यक छ । डिएपी मलको अभाव ९५ प्रतिशत रहेको जिल्ला कृषि सामग्री संस्थान दाङका प्रमुख तीर्थराज न्यौपानेले बताए । युरिया मल भने नेपाल सरकारले आयात गरेकाले जिल्लामा असार महिनाको सुरुमै १५ सय मेट्रिक टन भित्रिने उनी बताउँछन् । न्यौपानेका अनुसार दाङमा यो वर्ष आठ सय ३४ मेट्रिक टन युरिया वितरण गरिएको छ भने डिएपी एक सय ३६ टन सहकारी संस्थामार्फत वितरण गरिएको कृषि सामग्रीले जनाएको छ । ‘किसानको मागअनुसार मल पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘मकै र धान खेती हुने क्षेत्रफलका आधारमा मलको कोटा निर्धारण गर्ने र सोहीअनुसार दर्ता भएका सहकारीलाई वितरण गर्दै आएका छौँ ।’
देउखुरी क्षेत्रमा सहुलियतको मल वितरण गर्ने जिम्मा ११ गाविसका १५ वटा सहकारी संस्थाले पाएका छन् । उनीहरूले जिल्लाबाट निर्धारित कोटाका आधारमा मल लगेका छन् । वैशाखमा लमही कृषि सामग्री कम्पनीबाट ६ सय ७९ दशमलव एक मेट्रिक टन युरिया, दुई सय ४९ दशमलव तीन मेट्रिक टन डिएपी र १५ दशमलव नौ सय ५० मेट्रिक टन पोटास वितरण गरेको लमही उपशाखा प्रमुख विष्णुप्रसाद केसीले बताए । देउखुरी क्षेत्रमा यो वर्ष एक हजार मेट्रिक टन युरिया, पाँच सय मेट्रिक टन डिएपी र ३० मेट्रिक टन पोटास वितरण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया