अमेरिकाप्रति चीन नरम

बेइजिङ, २३ जेठ । एसिया–प्रशान्त क्षेत्रमा फैलिएको चीनको स्वार्थ र रुचिलाई अमेरिकाले सम्मान गर्ने विश्वास चीनले लिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । सन् २०२० सम्म अमेरिकाले आफ्ना अधिकांश नौसैनिक जहाज एसिया–प्रशान्त क्षेत्रमा तैनाथ गर्ने सार्वजनिक गरेपछि यसप्रति टिप्पणी गर्दै चीनले यस्तो जनाएको हो ।
चीनविरुद्ध लक्षितजस्तो देखिने अमेरिकाको नयाँ नौसैनिक नीतिले चीनलाई रुष्ट बनाएको अनुमान गरिए पनि औपचारिक रूपमा चीनले यसप्रति नरम धारणा राखेको छ । अमेरिकासँग तनाब बढिरहेको भए पनि उसँग भिडन्तमा जाने इच्छा चीनसँग नरहेको संकेत यसबाट प्राप्त भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
‘एसिया–प्रशान्त क्षेत्रको बृहत्तर आकांक्षा भनेको शान्तिको खोजी गर्नु, सहकार्य संवद्र्धन गर्नु र विकास प्रवद्र्धन गर्नु हो,’ चिनियाँ विदेश प्रवक्ता लिउ विमिनले भने । यस क्षेत्रमा चीन र अमेरिकाको रुचि प्राय: समान रहेको धारणा राख्दै उनले एसिया–प्रशान्त क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्ने अमेरिकी प्रयासलाई चीनले स्वागत गर्ने जानकारी दिए । तर, चीनसहित यस क्षेत्रका सबै राष्ट्रको रुचि, स्वार्थ र चासोलाई अमेरिकाले सम्मान गर्नुपर्नेमा उनले प्रस्ट पारे ।
यसअघि अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटाले हाल अमेरिकाको नौसैनिक उपस्थिति प्रशान्त तथा आन्ध्र महासागरमा ५०/५० प्रतिशतका आधारमा विभाजित रहेको उल्लेख गर्दै सन् २०२० सम्म ६०/४० को आधारमा यसलाई विभाजित गरिने जानकारी दिएपछि जवाफमा चिनियाँ विदेश प्रवक्ताले यस्तो बताएका हुन् । यस क्षेत्रमा ६ वटा विमानवाहक जहाज (बेडा), अधिकांश क्रुज, डिस्ट्रोयर, लिटरल कम्ब्याट, जहाज तथा पनडुब्बी तैनाथ गर्ने तयारी भइरहेको जानकारी पनेटाले दिएका थिए । अमेरिकी नौसैनिक बलसँग दुई सय ८५ वटा युद्धपोत रहेको अनुमान गरिएको छ ।
औपचारिक रूपमा चीनले अमेरिकाको नौसैनिक महत्त्वाकांक्षाप्रति नरम धारणा राखे पनि राज्यनियन्त्रित चिनियाँ सञ्चारमाध्यम भने यसको आलोचनामा खरो उत्रिएका छन् । चीनको सरकारी समाचार एजेन्सीले सिन्ह्वाले ‘धमिलो पानीमा माछा मार्न नखोज्दा नै राम्रो हुने’ चेतावनी अमेरिकालाई दिएको छ । अमेरिकी इसारामा नाच्नेलाई पनि यसबाट फाइदा हुनेतर्फ सचेत रहन उसले सजग गराएको छ । सिन्ह्वामा प्रकाशित समाचार विश्लेषणमा भनिएको छ, ‘चीनको राजनीतिक, आर्थिक तथा फौजी सामथ्र्य उल्लेख्य मात्रामा बढिरहेको छ । यस्तो अवस्थामा नयाँ क्षेत्रमाथि स्वामित्व दाबी गर्नु चीनको स्वभावअन्तर्गत पर्दैन ।’
चीनले ‘साउथ चाइना सी’ को सम्पूर्ण भूभागमाथि सार्वभौमिकता दाबी गरी अन्य ताइवान, फिलिपिन्स, भियतनामलगायत राष्ट्रको जलक्षेत्र हडप्न खोजेको आरोप लागिरहेका बेला सिन्ह्वामा प्रकाशित समाचार विश्लेषणमा सो कुरा जनाइएको हो । (एजेन्सी)

प्रतिक्रिया