रिजल्ट खस्केपछि विद्यार्थी आन्दोलनमा

काठमाडौं : उत्कृष्ट क्याम्पसमा गणना हँुदै आएको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसको परीक्षाको नतिजा खस्कन थालेको छ । विद्यार्थीले अहिलेसम्मकै कमजोर नतिजा आएको दाबी गरेका छन् ।
रिजल्ट कमजोर भएको भन्दै विद्यार्थीले आन्दोलनसमेत गर्न थालेका छन् । आइतबार इन्जिनियरिङ अध्ययन संस्थानले प्रकाशन गरेको सिभिल इन्जिनियरिङ दोस्रो वर्षको प्रथम खण्डको नतिजामा जम्मा ५६ प्रतिशत मात्र उत्तीर्ण भएको विद्यार्थीको दाबी छ ।
पहिलेको तुलनामा धेरै कम उत्तीर्ण भएपछि सोमबार विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा कार्यालयमा घेराउ गरे । अखिल क्रान्तिकारी पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाइ समितिका अध्यक्ष सागर चौधरीले परीक्षाको लापरबाहीका कारण धेरै विद्यार्थी अनुत्तीर्ण भएको भन्दै घेराउ गरेको बताए । यस्तो नराम्रो रिजल्ट यसअघि नआएको उनको भनाइ छ ।
परीक्षामा धेरै प्रश्न त्रुटिपूर्ण आएको गुनासो विद्यार्थीले गरेका छन् । कमजोर व्यवस्थापन, निजी कलेजलाई प्रोत्साहनलगायतका कारण नतिजा खस्किएको चौधरीको दाबी छ । (सौस)

प्रतिक्रिया