संविधान जारी नभएकामा चिन्ता

काठमाडौं : नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री हेइकी हेल्मासले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसित नेपालको परिवर्तित राजनीतिक अवस्थाबारे चासो राखेका छन् । संविधानसभाबाट संविधान जारी नभएकामा उनले चिन्तासमेत व्यक्त गरे ।
छलफलमा अध्यक्ष दाहालले प्रमुख दलहरूबीच संघीयताका विषयमा एकमत हुन नसकेपछि संविधानसभा विघटनको अवस्थामा पुगेको जानकारी गराएका थिए । उनले चाँडै सहमतिको सरकार गठन हुने विश्वास व्यक्त गरेका थिए । दलहरूको सहमतिमै सरकारले आगामी ७ मंसिरमा तोकेको निर्वाचनलाई सफल बनाउने अध्यक्ष दाहालले बताए । छलफलका क्रममा मन्त्री हेल्मासले संविधानसभाबाट संविधान बन्न नसकेको अवस्था, दलहरूबीचको बढ्दो दूरी र अबको निकासबारे  अध्यक्ष दाहालसित जिज्ञासा राखेको उनका सहयोगी शिव खकुरेलले बताए ।
यसैबीच, प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार अमेरिकी राजदूत स्कट एच डेलिसीसित भेटेका छन् । उनले पनि संघीयताको विषयमा दलहरूबीच देखिएको विवादकै कारण संविधानसभा विघटन भएको जानकारी गराए । राजदूत डेलिसीले शान्ति, विकास र लोकतन्त्रको पक्षमा सधँै अमेरिकी सरकारले सहयोग गरिरहने आश्वासन दिए । (सौस)

प्रतिक्रिया