अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थप्न पहल


काठमाडौं, २२ जेठ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरेको छ । अन्तर्राष्ट्रिय उडानमा निजी क्षेत्रको चासो देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवेदन मागेको हो । ‘अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न चाहने निजी कम्पनीसँग प्रस्ताव मागिएको छ । इच्छुक कम्पनीले नियमानुसार प्रस्ताव पेस गर्न सक्छन्,’ मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । मन्त्रालयले अहिले प्रस्ताव माग गरेको छोटो तथा मध्यम दूरीको अन्तर्राष्ट्रिय उडानका लागि हो । मन्त्रालयले गरेको वर्गीकरणअनुसार माग भएको प्रस्ताव ‘क्लास बी’ उडानका लागि हो । यसअन्तर्गत इजाजत पाउने कम्पनीले काठमाडौंबाट तीन घन्टासम्मको दूरीमा उडान गर्न पाउँछन् । सरकारको आह्वानपछि निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई कम्पनी स्थापना भएर उडानमा प्रतिस्पर्धा हुने विश्वास मन्त्रालयको छ ।
मन्त्रिपरिषद्ले ०६६ मंसिरमा पारित गरेको सर्तअनुसार आन्तरिक उडान सञ्चालनमा पाँच वर्षको अनुभवसहित ५० करोड रुपियाँ चुक्ता पुँजी भएका निजी क्षेत्रका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति माग्न पाउँछन् । त्यस्तै ५० करोड रुपियाँ चुक्ता पुँजीसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता भएर आउनेले पनि अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव हाल्न सक्नेछन् । हवाई नीति ०६३ अनुसार अन्तर्राष्ट्रिय हवाई सेवामा ८० प्रतिशतसम्म विदेशी लगानी स्वीकार्य छ ।
अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि ५० लाख रुपियाँ सुरक्षा धरौटी राख्नुपर्छ जुन उडान सुरु गरेपछि फिर्ता हुन्छ । अनुमति माग्ने सबै कम्पनीको मूल्यांकन सरकारी अधिकारी सम्मिलित समितिले गर्ने व्यवस्था छ । ‘जुन कम्पनीको उत्कृष्ट मूल्यांकन हुन्छ, त्यसले अन्तर्राष्ट्रिय उडान गर्न पाउँछ,’ आचार्यले भने ।
अनुमति पाउने कम्पनीले रुट रोयल्टीबापत प्रतिरुट पाँच लाख रुपियाँ बुझाउनुपर्छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहने कम्पनीले कुन–कुन सेक्टरमा उडान गर्ने हो त्यसको विस्तृत व्यापारिक योजनालगायत सम्पूर्ण कागजपत्र मन्त्रालयमा पेस गर्नुपर्छ । समितिले कागजपत्र अध्ययन गरेर मूल्यांकन गर्छ । सरकारी मूल्यांकन समितिमा पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका पाँच अधिकारी सदस्य हुन्छन् ।
मन्त्रालयले आवेदन खुला गर्नुअघि नै सिद्धार्थ इन्टरनेसनल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निवेदन दिइसकेको छ । चीन, जापान र दक्षिण कोरियामा उडान केन्द्रित गर्ने भन्दै कम्पनीले लाइसेन्सका लागि निवेदन दर्ता गरेको मन्त्रालयले जनाएको छ । कम्पनीलाई लाइसेन्स दिनका लागि नै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । केही समयअघि भगवान् बुद्ध (बिबी) एयरवेजले ‘ए’ श्रेणी अर्थात् लामो दूरीका लागि लाइसेन्स पाइसकेको छ ।
सिद्धार्थ एयरलाइन्सले चीनको बेइजिङ, ल्हासा, ग्वान्जाउ, कुनमिङ, सांघाई र हङकङका साथै दक्षिण कोरियाको सिओल र जापानको ओसाकासम्म उडान गर्ने बताएको छ । पहिलो चरणमा चीनका विभिन्न सहरमा र दोश्रो चरणमा कोरिया तथा जापानसम्म उडान गर्ने कम्पनीको लक्ष्य छ । हाल ‘सी’ श्रेणीको लाइसेन्स प्राप्त बुद्ध एयरले भारतको बनारसमा उडान गरिरहेको छ ।
नेपाली विमान सेवाले पर्याप्त अन्तर्राष्टिय उडान गर्न नसक्दा हवाई सम्झौता गरेका मुलुकबाट पाएको हवाइ ट्राफिक र सिट क्षमता प्रयोगमा आएको छैन । यसअघि अन्तर्राष्ट्रिय उडान गरेका कस्मिक, नेकोन, यतिलगायतका कम्पनी बन्द भइसकेका छन् । हालसम्म अनुमति पाएका एक दर्जन कम्पनीमध्ये बुद्ध एयरले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नेपालले ३६ वटा मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ ।

आइकाओ अध्यक्ष नेपालमा
काठमाडौं : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन
(आइकाओ) का अध्यक्ष रोबेट्रो कोबे गोन्जालेज सोमबार नेपाल आउँदैछन् । नेपाली नागरिक उड्डयन क्षेत्रको अवलोकन भ्रमणका लागि गोन्जालेज नेपाल आउन लागेका हुन् । नेपाल आइकाओको सदस्य राष्ट्र हो ।
गोन्जालेज तीन दिने भ्रमणका लागि सोमबार मलेसियाबाट नेपाल आइपुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । उनले नेपालको उड्डयन उद्योगको जानकारी लिनुका साथै आइकाओले गर्नसक्ने सहयोगबारे बोल्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा अध्यक्ष गोन्जालेजले मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका साथै निजी वायुसेवा कम्पनी तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । उनले पर्यटन मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई समेत भेट्ने कार्यक्रम छ । आइकाओ सदस्य राष्ट्रहरूको भ्रमणमा निस्किएका अध्यक्ष गोन्जालेज नेपालबाट थाइल्यान्डको प्रस्थान गर्नेछन् । आइकाओमा नेपाललगायत एक सय ९० मुलुक सदस्य छन् ।

प्रतिक्रिया