‘सहकारी मोडेल आवश्यक’


काठमाडौं, २२ जेठ । मुलुकको गरिबी निवारणमा सहकारी  उपयुक्त मोडेल भएको सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले बताएका छन् ।
नेपालमा सहकारी आन्दोलनको लामो समय बितिसक्दा पनि हालसम्म सहकारी नीति नहुनु दुर्भाग्य रहेको बताउँदै उनले छिट्टै सहकारी नीति आउने दाबी गरे । राजधानीमा राष्ट्रिय सहकारी संघ लिमिटेडको आयोजनामा भएको ‘सहकारी संघ सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन’ नामक दुईदिने गोष्ठी उद्घाटनका क्रममा आइतबार उनले सो कुरा बताएका हुन् ।
‘मन्त्रालय हालै गठन भएकाले कुनै काम अघि बढेको छैन,’ ढकालले भने, ‘अब चाँढै नै सहकारी र गरिबी निवारणका काम अघि बढाउने छौँ ।’ कृषि उत्पादनमा आत्मनिर्भर भए अर्थतन्त्र बलियो हुने मन्त्री ढकालको भनाइ छ । उनका अनुसार सो कुरा सहकारीबाट मात्र सम्भव छ ।
सहकारीका लक्षित वर्ग किसान, गरीब, निमुखा, पिछडा वर्ग रहेकाले सो समुदायमा सहकारी पुग्नु आवश्यक रहेकामा पनि उनले जोड दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.युवराज खतिवडाले सहकारी संघले कुनै हालतमा पनि व्यवसाय गर्न नहुने बताए । ‘सहकारी संस्थाको अभिभावकको भूमिका निवार्ह संघले गर्ने हो,’ खतिवडाले भने, ‘संघले पनि सहकारीजस्तै व्यवसाय गर्नु उचित हँुदैन ।’ ऐन, नीति, नियमावली निर्माण तथा परिमार्जनमा पनि संघको भूमिका रहने उनले बताए । सहकारी संघ/संस्था राजनीतिबाट टाढा रहनु पर्ने पनि खतिवडाको सुझाव थियो ।
कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले अब सहकारी कृषि उत्पादनमा आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्ने बताए । ‘कृषि प्रधान देश नेपाल भए पनि कुनैमा आत्मनिर्भर छैनौँ,’ शमाले भने, ‘विशेषगरी विभिन्न विषयगत संघले यसका लागि पहल गर्नु आवश्यक छ ।’
‘घर–घरमा सहकारीको पहुँच पुग्नुपर्छ,’ सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले भने, ‘त्यसका लागि मन्त्रालयले विशेष कार्यक्रम ल्याउनु पर्छ । मन्त्रालय हालै गठन भएकाले संस्थागत संरचना, संघसँग छलफल, मन्त्रालयको भूमिकाबारे छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
मुलुकले अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाइरहेको बेला गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालको तर्क छ । ‘देश संक्रमणकालीन अवस्थामा छ,’ बडालले भने, ‘राजनीतिक अस्थिरताले सहकारी क्षेत्रमा पनि असर पुगेको छ ।’ उनले सहकारी क्षेत्रको पहुँच वृद्धि गर्न जिल्ला, केन्द्रीय तथा राष्ट्रियस्तरमा संघ बलियो हुन जरुरी रहेको धारणा व्यक्त गरे । गोष्ठीमा केन्द्रीय संघ, विषयगत जिल्ला संघ, जिल्ला संघ तथा प्रारम्भिक संस्थाका सहकारीकर्मीको सहभागिता रहेको छ । गोष्ठीमा विभिन्न कार्यपत्र प्रस्तुत हुने र तिनमा छलफल गर्ने आयोजक संघले जनाएको छ ।
सहकारी शिक्षा शिविर
ललितपुरका लामाटार, लुभु, इमाडोल, सिद्धिपुर र टिकाथली गाविसका वचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा शिविर सम्पन्न गरेका छन् । कार्यक्रममा पाँचवटा गाविसका विभिन्न सहकारी संस्थाबाट २५ जना प्रतिनिधिको सहभागिता रहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले जनाएको छ ।
शिविरमा सञ्चार सहकारी केन्द्रीय संघका कोषाध्यक्ष लेखनाथ ढकालले सहकारी सम्बन्धी प्रशिक्षण दिएका थिए । अन्तर्राष्ट्रिय सहकारी वर्षभरि नै विभिन्न चरणमा कार्यक्रम आयोजना गरिने संघका उपाध्यक्ष रामशरण बस्नेतले बताए । सहभागी सहकारी कर्मीका जिज्ञासालाई संघका अध्यक्ष रामशरण धिमिरेले प्रतिउत्तर दिएका थिए ।

राष्ट्र बैंकको  नयाँ निर्देशन
काठमाडौं :  बैंक तथा वित्तीय संस्थालाई विषयगत सहकारी संस्थामार्फत पशुपालन तथा सामूहिक खेतीका लागि प्रतिसदस्य ९० हजार रुपियाँसम्म लगानी गर्न पाउने निर्देशन केन्द्रीय बैंकले जारी गरेको छ ।
समूह संख्याको आधारमा कर्जा प्रवाह गर्नु पर्ने र अधिकतम एक करोड रुपियाँसम्मको बैंक तथा वित्तीय संस्थाले सहकारीमार्फत प्रदान गरेको सो कर्जालाई विपन्न वर्ग कर्जा समूहमा राख्न सकिने छुट राष्ट्र बैंकले प्रदान गरेको हो । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाबाहेकका विषयगत सहकारीले लगानी गर्न पाउने व्यवस्था गरेको राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यसरी प्रवाह गरिएको कर्जा दुरूपयोग भएको पाइएमा यस्तो कर्जालाई खराब कर्जामा राखी एक सय ५० प्रतिशत जोखिम भारमा राख्नु पर्ने व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया