सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, २२ जेठ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । अन्तर्राष्ट्रिय बजारमा एकै दिन ७० डलरले बढेपछि नेपाली बजारमा समेत अघिल्लो दिनका तुलनामा आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार आठ सय रुपियाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएको संघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य आइतबार ५६ हजार पाँच सय ५० रुपियाँ पुगेको छ ।
यसअघि २२ वैशाखमा नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५६ हजार रुपियाँ पुगेको थियो । यसअघि २२ वैशाखमा तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार सात सय ५० रुपियाँ पुगेको थियो । यस्तै असली चाँदी आइतबार प्रतितोला एक हजार ५५ रुपियाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य २० रुपियाँले बढेको हो । शुक्रबार चाँदीको मूल्य एक हजार ३५ रुपियाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिकै कारण नेपाली बजारमा सुनको भाउ बढेको जनाए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारभाउले नेपाली बजारमा समेत सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।
शाक्यले डलरको भाउ बढेकाले सुनको मूल्य अझै बढ्ने जनाए । यसको असरले बिक्री परिमाणमा समेत नकारात्मक असर पर्ने उनको भनाइ छ । ‘डलरको मूल्य वृद्धिले सुनको मूल्य बढेको छ,’ शाक्यले भने, ‘यसको असर अझै केही दिन कायमै रहने देखिन्छ ।’ सुन बिक्रीका लागि यो समय उपयुक्त नभएकाले मूल्य वृद्धिले बिक्रीमा असर पारेको उनले बताए । अहिले सरदर दैनिक १० देखि १५ किलो सुन खपत भइरहेको जानकारी दिए । विबाह तथा अन्य चाडबाडका मौसममा सुनको मूल्य बढे पनि बिक्रीमा खासै असर नपर्ने भए पनि अहिले मूल्य वृद्धिबाट बिक्रीमा नकारात्मक प्रभाव देखिने शाक्य बताउँछन् ।

प्रतिक्रिया