यौनजीवनमा भोजनको सन्तुलन

यौन आफैँमा प्राकृतिक क्रियाकलाप हो । जिन्दगीका सन्तुष्टि र आनन्दप्राप्तिमा यौनजीवनले पनि प्रभाव पार्छ । यौन सक्रियताविनाको जीवन नीरस मानिन्छ । यौनक्रियालाई भरपूर सुखी र आनन्ददायी बनाउन सही भोजनको आवश्यकता पर्छ । मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् । त्यो बराबर व्यय भइरहन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ । यसर्थ, भोजनमा अनेक धातु र खनिज पदार्थहरूको कमी हटाउनुपर्ने हुन्छ ।
यौन सुखबाट वञ्चित नहुन यौनऊर्जा बढाउने भोजन चाहिन्छ । तैलीय खाद्य कुराभन्दा अंकुरित अन्न बढी पौष्टिक हुने गर्छ । अनि अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन् । सेचुरेटेड खाना खाने दम्पतीले यौन संसर्गमा भरपूर आनन्दको अनुभव गर्न सक्दैनन् । त्यसैले भोजनमा घिउ, रेड मिट, सेलफिस, लोवस्टर एवं नरिबलको तेल आदि प्रयोग गर्नुहुँदैन । माछा, मासु पनि स्टिम गरेर खाँदा राम्रो हुन्छ ।
हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्ने अनेकन तत्त्व हुन्छन् । स्वस्थ र सुमधुर यौन संसर्गका लागि फलफूल र हरिया सागसब्जीको प्रचुर सेवन आवश्यक छ । यस्ता पदार्थले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छन् । अंकुरित अन्नमा भिटामिन ‘ई’ हुन्छ । त्यसमा हुने पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ । आफ्नो उमेरअनुरूपको खानपान वा पौष्टिक आहार ग्रहण गरेमा यौनऊर्जामा उल्लेख्य वृद्धि हुन्छ । मानिसको उमेर जति ढल्कँदै गयो त्यति नै सेक्स पावरमा कमी आउँछ । ३० वर्ष काटेका स्त्री–पुरुषले सकेसम्म कम नुन सेवन गर्नुपर्छ भने चिल्लो एवं गुलियो पदार्थ पनि कमै खाँदा राम्रो । व्यस्त दैनिकीको प्रभावले गर्दा भोजनको व्यवस्थापन र सन्तुलनमा हाम्रो ध्यान जान नसकेको हुन सक्छ । यौनजीवनलाई नै प्रभावित पार्ने यस्ता कुरामा चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया