प्रकोप झाडापखालाको

चरक्क कपाल दुखाउने गर्मी अनि छिनमै बादल धुम्मिएर वर्षात्का सहस्रधारा । यस्तो मौसम लगभग सुरु भइसकेको छ । बादल र घामको यस्तो लुकाछिपीले मानवस्वास्थ्यलाई बर्सेनि जोखिममा धकेलिरहेको हुन्छ । ‘वर्षात्को सुरुआतसँगै यसपालि पनि दुर्गमका जनता झाडापखालाबाट पीडित हुने सम्भावना बढेको छ,’ स्वास्थ्यसेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरले भने । डा. ठाकुरले यसो भन्नुअगावै जेठको तेस्रो साताको सुरुआतमै दुर्गम जिल्ला मुगुमा झाडाका बिरामी देखिन थालिसकेका रहेछन् । बढीजसो दुर्गम जिल्लाका जनता बर्सेनि यही समस्याका कारण ज्यान गुमाउन विवश भएका तथ्यांक बाक्लै छन् । डा. ठाकुरको चिन्ताले पनि दर्साउँछ– साधारण हेरचाहबाटै ठीक हुने झाडापखाला अझै पनि नेपालका लागि ठूलो चुनौती बनिरहेको छ ।
दुर्गममा मात्र होइन, झाडापखालाको प्रकोप राजधानी काठमाडौंमै पनि देखिने गरेको छ । गत महिना मात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा २० जनाभन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि आएका थिए । यो संख्या दिनदिनै थपिँदै ग्एको अस्पतालले जनायो । डा. डाकुर बढ्दो गर्मी र वर्षात्सँगै पूरै देश झाडापखालापीडित हुने बताउँछन् ।
दुई वर्षअघि यही मौसममा मध्यपश्चिम र सुदूरपश्चिमका १८ जिल्लाका गरिब जनता यसबाट पीडित देखिएका थिए । तीन सयभन्दा बढीले ज्यानै गुमाएका थिए । त्यो अवस्था निम्तिन नदिन यसपालि सबैलाई उच्च सतर्कताको सल्लाह दिइसकेको र स्वास्थ्यसंस्थालाई ‘अलर्ट’ बनाइएको डा. ठाकुरले जानकारी दिए । ‘विशेष तयारी गरिएको छ, जिल्लाजिल्लामा स्वास्थ्यकर्मी तथा औषधि पठाइसकियो,’ उनले भने, ‘यो झाडापखालाले निम्त्याउन सक्ने जोखिमबारे सबैभन्दा संवेदनशील समय हो ।’ उनका अनुसार यो मौसममा खानपान तथा सफासुग्घरमा विशेष ध्यान दिनुपर्छ ।
सरकारले वैशाखको प्रारम्भदेखि असोज अन्त्यसम्मको अवधिलाई खतराको सूचीमा राखेको छ । यसमा पनि बढी पानी पर्ने असारदेखि भदौ पहिलो हप्तासम्मको अवधि झनै जोखिमपूर्ण मानिन्छ । यो समयमा खानेपानी तथा खानेकुरा दूषित हुनुका साथै जताततै फोहोर हुने भएकाले रोगको संक्रमण बढ्छ । गत वर्ष सो समयमा ती १८ जिल्लामा निम्तिएको महामारी दोहोरिन नदिन तिनलाई उच्च जोखिमका रूपमा राखेर सतर्कता अपनाइएको डा. ठाकुरले जानकारी दिए । ती जिल्लामा जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेलधुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुर पर्छन् । पहिलेको तुलनामा रोगीको संख्या बढेपछि उपत्यकालाई पनि जोखिम क्षेत्र मानिएको छ ।
डा. ठाकुरकाअनुसार ब्याक्टेरिया, ब्याक्टेरियाबाट निस्किने विषाक्त पदार्थ, भाइरस र परजीवीको संक्रमणले झाडापखाला निम्त्याउँछ । भन्छन्, ‘उपत्यकामा झाडापखाला हुने प्रमुख कारणचाहिँ पानी नै हो । त्यसपछि खानेकुरा र फोहोरमैला हुन् ।’ संक्रमित पानी र खाद्य पदार्थसँगै शरीरभित्र प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस र परजीवीले झाडापखाला लगाउँछन् । वर्षात्का कारण पानीका मुहान फोहोर हुन्छन् भने गर्मीले दूध र दूधजन्य पदार्थ र अन्डालगायत खानेकुरा चाँडै बिगारिदिन्छ, जुन खान हुँदैन । त्यसैले सधैँ उमालेको वा शुद्धीकरण गरेको पानी मात्र पिउन र घरबाहिरका जथाभाबी खानेकुरा नखान सुझाब दिन्छन् डाक्टर ठाकुर । भन्छन्, ‘उपत्यकामा ढल र खानेपानी मिसिने समस्या त एकातिर छँदै छ, सामान्य होटेलहरूले खानेकुराका सरसफाइमा त्यति ध्यान दिइरहेका हुँदैनन् ।’
सामान्य औषधि र सरसफाइबाट नियन्त्रण गर्न सकिने झाडापखाला मानिसहरूकै लापरबाहीका कारण फैलने र ठूलो रूप लिने गरेको उनले बताए । उनी सुझाउँछन्, ‘मानिसकै लापरबाहीका कारण जोखिम निम्तिएको हो, त्यसैले पानी उमालेर मात्रै खानुस्, कम्तीमा पनि यो मौसममा सकेसम्म सडकमा बेचिने तथा घरबाहिरका खानेकुरा खाने बानी त्याग्नुस् ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि २० करोड व्यक्ति झाडापखालाबाट संक्रमित हुँदा नेपालमा यो संख्या १० लाख नाघ्छ । स्वच्छ खानेपानीको अभाव, व्यवस्थित चर्पी नहुनु, सरसफाइको कमी कुपोषण, चेतनाहीनताका कारण नेपालका दुर्गम क्षेत्र अत्यधिक चपेटामा परेको चित्किसहरू बताउँछन् ।

प्रतिक्रिया