अधोगतितर्फ प्रचण्डको यात्रा

पछिल्लो समय नेपालको राजनीतिमा एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड चर्चामा छन् । कहिले अदालतमाथि प्रहार गरेर त कहिले सञ्चारमाध्यममाथि आक्रमण गरेर चर्चा बटुल्न सफल माओवादीले हालै भने जनजातिलाई हतियारसहित सडकमा उत्रन निर्देशन दियो । जसका कारण ७ देखि ९ जेठसम्म ३ दिन नेपाल बन्द गरेको जनजातिको समूहले पत्रकार र सञ्चारमाध्यमलाई छानीछानी कुटपिट गरे । पत्रकारहरू सवार गाडी फुटाएनन् मात्र जलाए पनि । जसको नेतृत्व एमाओवादीका अध्यक्ष प्रचण्डले गरेका थिए । पर्दापछाडि जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी र महासचिव आङकाजी शेर्पा रहे पनि मुख्य योजनाकार प्रचण्ड नै रहेको देशका सबैले बुझेकै थिए । जातीय राज्य माग गर्दै आएकाहरूलाई जातीय राज्यले द्वन्द्व फैलने, सद्भाव खल्बलिने अन्तत: देश नै टुक्रने ज्ञान भएर पनि माओवादीले मेचीदेखि महाकालीसम्मका जातजातिलाई आफू खुसी राज्य बाँड्दै हिँड्यो । जनयुद्धमा समर्थन र साथ पाउन मनखुसी जातीय राज्य वितरण गरेको एमाओवादी र उसको कच्चा राजनीतिको फाइदा लिएर जनजातिका नाममा लेखी र आङकाजीहरू गृहयुद्ध मच्चाउन तयार भए । यहाँसम्म कि पत्रकारलाई छानीछानी जे पनि गरेर देखाउने उद्घोष नै गरे । जनजातिले क्षेत्री, ब्राह्मण, दशनामी, दलितलाई छानीछानी आक्रमण गरे पनि गैरजनजाति समुदाय संयमित बन्यो । जनजातिका नाममा भएका उद्दण्डको प्रतिकार गर्न उनीहरू सडकमा आएनन् । अनि जातीय सद्भाव भड्कन र देश नै विखण्डन हुन लागेको सम्भावित दुर्घटनाबाट देश बच्यो ।
राउटेदेखि गाइनेसम्मले स्वायत्त राज्य माग गर्न थालेको समयमा संविधानसभाको निर्वाचनबाट देशकै ठूलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्डकै निर्देशनमा प्रेसजगत् र सर्वसाधारणलाई छानीछानी आक्रमण गर्न थालेपछि मच्चिन लागेको वितण्डा गैरजनजाति समुदायको सहनशील र शिक्षित भावले रोकिएको पक्कै हो । ०६४ चैतमा भएको संविधानसभा निर्वाचनमा हतियार देखाएर, बुथ कब्जा गरेर र सफायासम्मको धम्की दिएर देशको ठूलो दल बनेको माओवादीले सडक र संविधानसभाबाटै सत्ताकब्जा गर्न नखोजेको होइन । उसको त्यो दिवास्वप्ना पूरा नभएपछि भदौमा फुकेको राँगोजस्तो भएर वितण्डामा उत्रियो । ६ दिन उपत्यका ठप्प पारेर नेता र कार्यकर्ता सडकमा परेड खेले पनि सत्ताकब्जा भएन । अन्तत: ‘विनाशकाले विपरीत बुद्धि’ अनुशरण गर्दै देशमा गृहयुद्धदेखि विखण्डनसम्मको गृहकार्यमा एमाओवादी लाग्यो, जसको उदाहरण हो जनजाति महासंघले आयोजना गरेको तीन दिने नेपाल बन्दमा ‘लामा नाक भएकालाई नछोड’ उद्घोष गर्दै गैरजनजातिमाथि आक्रमण गरिनु । माओवादीको महाधिवेशन भएको छैन । पार्टीको स्वघोषित अध्यक्ष प्रचण्ड नेतृत्वले हिमाल खबर पत्रिका, नेपाल समाचारपत्र, कान्तिपुर टेलिभिजनसमेतलाई पटकपटक आक्रमण गर्‍यो । त्यसपछि ऊ अदालतमाथि आक्रमण गर्न पुग्यो । सर्वाेच्च अदालत र अन्य अदालतका न्यायाधीश संविधानसभाका सभासद्ले छान्ने, कारबाही गर्ने, हटाउनेसम्मको रणनीतिमा ल्यायो । कानुनको अन्तिम व्याख्याता सर्वाेच्च नभएर संविधानसभाको एक समितिमा रहनुपर्ने हास्यास्पद तर्क अघि सार्‍यो । उसको त्यो योजना सफल भएन । सफल हुन कांग्रेस, एमालेसमेतका दलले दिएनन् । अनि ऊ देशको पाँचौ अंग मानिने व्यापार/व्यवसायतर्फ मोडियो । चन्दा नदिएका, आफ्ना कार्यकर्ता नियुक्ति गर्न नमानेका केही उद्योगमाथि आक्रमण थाल्यो । केही उद्योग बन्द नै गरायो । जस्तो लिभर नेपाल यसकै उदाहरण हो ।
प्रचण्डले सत्ताकब्जा गर्न नेपाली सेनालाई बाधक देखे र त्यो संस्थामाथि आक्रमण सुरु गरे । कटुवालकाण्ड यसैको परिणाम थियो । आफ्ना असान्दर्भिक योजनाहरू एकपछि अर्काे असफल बन्दै गएपछि प्रचण्ड भारतविरोधी भएर निस्किए । ‘विदेशी प्रभुहरूसँग नझुक्ने’ भन्दै उनी चिच्याउन थाले । प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि उनी फेरि राष्ट्रपतिको सपना देख्न थालेका छन् । राष्ट्रपति बन्ने उनको पुरानो सपना पूरा गर्न जनजातिलाई उचालेर गैरजनजातिमाथि आक्रमण गराउनेसम्मको काममा उनी नायक भएर उदाए । परिणाम उनले सोचेजस्तो देखिएन । अहिले माओवादीलाई २८ चैत ०६४ मा मत दिएर ठूलो पार्टी बनाउने गैरजनजाति पछुतो गर्न थालेका छन् । मेचीदेखि महाकालीसम्म ६ देखि १४ प्रदेशको बार्गेनिङबीच क्षेत्री, ब्राह्मण, दशनामी, दलितका राज्यको खाका कोरिएन । अनि जनजातिलाई जातीय नाममै राज्य दिलाउन मरिहत्ते गरेका प्रचण्डविरुद्ध गैरजनजातिले मोर्चाबन्दी सुरु गरे । जसको नतीजा प्रचण्ड जीवनमा राष्ट्रपति बन्न सक्ने अवस्था देखिन्न । अहिले पार्टीभित्र उपाध्यक्ष वैद्य र महासचिव बादलले घनीभूत गरेको विद्रोहले नयाँ पार्टीको रूप लिने अवस्था छ । त्यो भएमा वैद्य पक्षतर्फ एमाओवादीको करिब ४० प्रतिशत शक्ति बाँडिनेछ । त्यो अवस्था आएमा एमाओवादी आगामी निर्वाचनमा चौथोदेखि पाँचौं पार्टी बन्न सक्छ । पछिल्लो समय ‘किन चाउरिस मरिच अफ्नै रागले’ यो उखान प्रचण्डलाई निक्कै सुहाउन थालेको छ ।
(लेखक पत्रकार महासंघका केन्द्रीय पार्सद हुन् ।)

प्रतिक्रिया