धुलिखेलमा ‘फ्रेस’ भएर फर्किए प्रधानमन्त्री

काभ्रे २२ जेठ । पत्नीकी सहपाठीले गरेको निम्तो मान्न धुलिखेल पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई दुई रातको बसाइपछि आइतबार काठमाडौं फर्किएका छन् ।

खावाको माउन्टेन रिसोर्टमा शुक्रबार राति सुटुक्क पुगेका प्रधानमन्त्री भट्टराई पत्नी यमीका साथ बसेका थिए । यमीकी ‘क्लास फ्रेन्ड’ सरिता श्रेष्ठसँग पनि उनको लामै भलाकुसारी चल्यो । संविधानसभा विघटनसँगै तनाबमा परेका प्रधानमन्त्री भट्टराईको ‘मुड फ्रेस’ बनाउन यमीले नै होटलमा बस्ने र खाने योजना बनाएकी थिइन् । प्रधानमन्त्री भएदेखि नै होटल मालिक सरिताले यमीमार्फत भट्टराई दम्पतीलाई होटलमा बस्न निम्ता दिँदै आएकी थिइन् ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले प्रधानमन्त्री भट्टराई दम्पती ‘फ्रेस वातावरणमा आराम गर्न र पुस्तक अध्ययनका निम्ति’ धुलिखेल आएको बताए पनि होटलको नाम बताउन चाहेका थिएनन् । भट्टराई चढेर आएको मुस्ताङ बोलेरो गाडी र सुरक्षाकर्मीका सवारीसाधन गोप्य रूपमा राखिएको थियो । शनिबार बिहानैदेखि पत्रकारले प्रधानमन्त्री भट्टराई बसेको होटल खोजे पनि साँझसम्म पत्ता लाग्न सकेको थिएन ।
धुलिखेल माउन्टेन्ट रिसोर्टका प्रोपाइटर अरुण श्रेष्ठकी दिदी सरिता प्रधानमन्त्री पत्नी यमीकी सहपाठी हुन् । भूमिगत राजनीतिमा समेत भित्रीरूपमा सहयोग गरेको श्रेष्ठ परिवारले यमी र भट्टराई खुल्ला भएदेखि नै पारिवारिक सम्बन्धका आधारमा भेटघाट गर्ने गरेका थिए । उनकै आग्रहमा भट्टराई दम्पती निजी सुरक्षाकर्मीका साथ शुक्रबार रातिदेखि होटलमा बसेका थिए । प्रधानमन्त्री भट्टराई र पत्नी यमी आइतबार बिहान साढे ८ बजे ‘ब्रेकफास्ट’ खाएर काठमाडौं फर्केका छन् ।
निम्ता मान्न आएका भट्टराई दम्पतीले तीनवटा कोठा लिए पनि भाडा तिर्नुपरेन । प्रधानमन्त्री भएपछि पहिलोपटक खावा रिसोर्टमा आए पनि भट्टराईको यो होटलको बसाइ तेस्रोपटक हो । प्रधानमन्त्री अध्ययन गर्न आएको बताइए पनि उनले पार्टीका नेतासँगको टेलिफोनमा नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत दलको आन्दोलनको दबाब थेग्न र पार्टीभित्र उपाध्यक्ष मोहन वैद्य समूहको दबाबबारेमा रणनीति बनाउने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया