संयुक्त सभाका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौ, २२ जेठ । कांग्रेस, एमालेसहितका दलले २६ जेठमा खुलामञ्चमा गर्न लागेको संयुक्त सभालाई प्रभावकारी बनाउन कांग्रेसले केन्द्रीय सदस्यहरू खटाएको छ । सभाको प्रचार र जनसहभागिताका लागि उपत्यकाका सबै क्षेत्रका साथै भ्रातृसंगठन परिचालनका लागि केन्द्रीय सदस्यहरू खटाइएको हो ।
महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उपत्यकाका तीनै जिल्लाका सबै निर्वाचन क्षेत्रमा एक/एकजना केन्द्रीय सदस्य खटाउने निर्णय गरेको छ । बैठकले सबै भ्रातृ तथा शुभेच्छुक संगठन परिचालनका लागि पनि केन्द्रीय सदस्य नै खटाएको छ ।
नेपाल विद्यार्थी संघमा गगनकुमार थापा र बद्रीप्रसाद पाण्डे, नेपाल तरुण दलमा बालकृष्ण खाँण, धनराज गुरुङ, शंकर भण्डारी र ईश्वरी न्यौपाने, दलित संघमा जीवन परियार, नेपाल महिला संघमा मीना पाण्डे, सुजाता परियारसहित आठजना खटाइएको केन्द्रीय सदस्य गुरुङले जानकारी दिए ।
त्यस्तै, नेपाल किसान संघमा कृष्णचन्द्र नेपाली, भूतपूर्व सैनिक संघमा केशवकुमार बुढाथोकी, आदिवासी जनजाति संघमा नरेन्द्रविक्रम नेम्वाङ र सूर्यमान गुरुङ, अपांग संघमा रत्ना शेरचन, मुस्लिम संघ नेपालमा फर्मुल्ला मन्सुर, नेपाल तामाङ संघमा राजनराज पन्त, नेपाल मगर संघमा सीता गुरुङ र मीना सुब्बालाई खटाइएको छ । त्यस्तै, नेपाल ठाकुर संघमा रामकुमार चौधरी, नेपाल ट्रेड युनियन (स्वतन्त्र)मा भीष्मराज आङ्देम्बे, सांस्कृतिक संघमा अजय चौरसिया, निजामती कर्मचारी संघमा सुरेन्द्रराज पाण्डे, लोकतान्त्रिक वैदेशिक रोजगार संघमा दीपक गिरी र रामचन्द्र तिवारी, प्रशासन व्यवस्था तथा विकास केन्द्रमा महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघमा दिलेन्द्रप्रसाद बडु, शेर्पा संघमा उमाकान्त चौधरी, लोकतन्त्रवादी कानुन व्यवसायी संघमा पुष्पा भुसाल, नेपाल चिकित्सक संघमा अर्जुनप्रसाद जोशी, नेपाल शिक्षक संघमा मानबहादुर विक, नेपाल प्रेस युनियनमा चन्द्र भण्डारी र प्रजातान्त्रिक सेनानी संघमा डिल्लीराज रेग्मीलाई कांग्रेसले खटाएको छ ।
महामन्त्री सिटौलाले भ्रातृ तथा शुभेच्छुक संगठनको बैठक गरी जनपरिचालनका कार्यक्रमलाई सशक्त बनाउन केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । यसैबीच, महिला संघले संविधानसभा विघटनको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया