कांग्रेसका पूर्वसभासद्हरू संविधानसभा पुन:स्थापनाको पक्षमा

काठमाडौ, २२ जेठ । कांग्रेसका बहुमत निवर्तमान सभासद्हरूले निश्चित समयका लागि संविधानसभा पुन:स्थापनाको माग गरेका छन् । पार्टीका ६ केन्द्रीय सदस्यसहित ६२ जना निवर्तमान सभासद्ले हठात् र असंवैधानिक रूपमा संविधानसभा विघटन गरिएको भन्दै पुन:स्थापनाको प्रस्ताव अघि सारेका हुन् ।
उनीहरूले राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी राजनीतिक र संवैधानिक संकटको निकास संविधानसभाको पुन:स्थापनाबाट मात्र सम्भव रहेको दाबी गरेका छन् । माओवादी र उसले नेतृत्व गरेको सरकारले सात दशक लामो जनताको चाहनाविपरीत संविधानसभा विघटन गरेको आरोप लगाउँदै उनीहरूले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि मात्र संविधानसभाको अन्त्य हुनुपर्ने तर्क गरे ।
दलहरूको सहमतिमा संविधानसभा पुन:स्थापना हुन सक्ने उनीहरूको धारणा छ । सहमति जुट्न नसके राष्ट्रपतिले बाधा अड्काउ फुकाउअन्तर्गत संविधानसभा पुन:स्थापना गर्न सक्ने उनीहरूले बताए । उनीहरूले संविधानसभाले गरेका उपलब्धि रक्षाका लागि पनि पुन:स्थापनाको विकल्प नरहेको धारणा राखे ।
‘संविधानसभाबाट भएका सबै उपलब्धिको रक्षा हुनुपर्छ,’ निवर्तमान सभासद् शोभाकर पराजुलीले भने, ‘जनताको चाहना र सम्भावनाअनुसार संविधानसभाबाट नयाँ संविधान बनाउन केही समयका लागि पुन:स्थापना गर्नुपर्छ ।’
उनले मुलुकमा भएका सबै आन्दोलन र त्यसबाट भएका परिवर्तनका साथै विद्यमान राजनीतिक र संवैधानिक संकटको निकासका लागि पुन:स्थापना गर्नुपर्ने दाबी गरे । संविधानसभाको अर्को निर्वाचन गर्न वा अन्य कुनै निर्वाचनमा जानका लागि ऐन–कानुन संशोधन गर्न पनि संविधानसभा (व्यवस्थापिका–संसद्) आवश्यक पर्ने उनले बताए ।
‘मुलुकलाई निकास दिन ऐन, कानुन संशोधन जरुरी छ,’ उनले भने, ‘निर्वाचनका लागि आवश्यक पर्ने कानुन बनाउन पनि संविधानसभा पुन:स्थापना आवश्यक छ ।’
उनीहरूले संविधानसभा विघटन हुनुमा माओवादी र उसको नेतृत्वमा रहेको वर्तमान सरकार नै प्रमुख दोषी रहेको आरोप लगाएका छन् । सत्ताकब्जा गर्ने माओवादी रणनीतिअन्तर्गत नै माओवादी नेतृत्वको सरकारले संविधानसभा विघटन गरेको उनीहरूको आरोप छ ।
सोमबार अन्य दलका निवर्तमान सभासद्हरूसँग पनि छलफल गरिने पराजुलीले जानकारी दिए । कांग्रेसका तर्फबाट विघटित संविधानसभामा एक सय १४ जना सदस्य थिए ।

को–को छन् पुन:स्थापनाको पक्षमा

निवर्तमान सचेतक कमला पन्तका साथै ईश्वरी न्यौपाने, धनराज गुरुङ, सीता गुरुङ, अजयकुमार चौरसिया, कविता सरदार बाँतर, शोभाकर पराजुली, जीवनप्रेम श्रेष्ठ, उषा गुरुङ, मोहन पाण्डे, देवराज जोशी, कृष्णा ठाकुर, जिपछिरिङ लामा, शिवचन्द्र मिश्र, रामसरोज यादव, कल्याणी रिजाल, शम्भुहजारा दुसाद, महेन्द्रध्वज जिसी, कल्पना सोप, कृष्णकुमारी परियार, हर्षजित लामा, विमला नेपाली, मोहमद सिद्धिकी, लीला सुब्बा, रामवती चौधरी, भोटनीदेवी खवास, माहा नेपाली, वीरेन्द्र माझी, किरण यादव, ललिता किङ्रिङ मगर, ध्यानगोविन्द रञ्जित, मानबहादुर महतो, मुन्नीकुमार गुप्ता, चन्द्रीराम टमाटा, सरस्वती चौधरी, सावित्री सिंह, रामकृष्ण चित्रकार, उर्मिला थापा, रमा गुरागाईं, निर्मला प्रसाईं, खड्गबहादुर बस्याल, मीनाक्षी झा, विना पौडेल, तीर्थराम डंगोल, पासाङ शेर्पा, प्रमिला राई, दूधकुमारी हमाल, उमा रेग्मी, चक्रबहादुर ठकुरी, लक्ष्मी परियार, कमला थापा, हीरा गुरुङ जगदीश्वरनरसिंह केसी, चुनदेवी जोशी, सुप्रभा घिमिरे, रामेश्वर रौनियार, अजयकुमार द्विवेदी, ओमप्रकाश शर्मा, रत्न शेरचन, कृष्णप्रसाद यादव र कृष्णा अमात्य

प्रतिक्रिया