प्रधानमन्त्रीको विषयमा कुनै सम्झौता हुँदैन

काठमाडौं, २१ जेठ । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहालले पद त्याग गर्न तयार रहे पनि प्रधानमन्त्रीको विषयमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा गजुरेलले प्रधानमन्त्रीलाई हटाउन नसकिने भन्दै सो विषयमा पार्टीको केन्द्रीय समिति बैठकमा कुनै पनि छलफल हुन नसक्ने दावी गरे ।
‘प्रधानमन्त्री हटाउने विषयमा केन्द्रीय समितिमा छलफल हुन सक्दैन,’ उनले, ‘यो जायज माग होईन, प्रधानमन्त्रीलाई कसैले हटाउन सक्दैन ।’
उनले अध्यक्ष दाहालले पार्टी एकताका लागि आवश्यक परे पद त्याग गरेर मोहन बैद्यलाई अध्यक्ष बनाउन तयार हुनु पर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधानसभा ब्यूताएर संविधान जारी गर्नु पर्ने कांग्रेसको नयाँ धारणा सार्वजनिक गरेका छन् । उनले पार्टीको धारणा भन्दै संविधानसभा थोरै समयका लागि ब्यूताएर संविधान संशोधन गरेर आयोगबाट संविधान निर्माण गरी जमतसंग्रहबाट संविधान अनुमोदन गराउनु पर्ने धारणा राखे ।
संघीय सदभावना पार्टीका अध्यक्ष समेत रहेका उद्योग मन्त्री अनिल कुमार झाले प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा केही दिनमै सहमतिको सरकार बन्ने ठोकुवा गरे ।
मालेका महासचिव सीपी मैनालीले आफूहरुको आन्दोलनले नै प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताच्यूत गर्ने दावी गरे ।

प्रतिक्रिया