तेस्रो पटक गोलीगठ्ठा बरामद

कैलाली, २१ जेठ । सशस्त्र प्रहरीले कैलालीको सुगरखाल–९, भालुमारामा तेस्रो पटक अत्याधुनिक हतियारका गोली बरामद गरेको छ ।
बलिया गाविसको डुडेझाडीमा रहेको सशस्त्र प्रहरीको वेस क्याम्पबाट गस्तीमा खट्टिएको टोलीले शनिबार विशेष सुराकीका आधारमा भालुमाराको खोचमा लुकाई राखेको गोली बरामद गरेको सुदूरपश्चिम सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।
बरामद गरिएका गोलीमा एके ४७ मा लाग्ने ५ दशमलव ५६ एएमको एक सय ८५ गोटा र एसएलआर तथा एलएमजीमा लाग्ने ७ दशमलव ६२ एएमको ९५ गोटा गोली फेला परेको सशस्त्र प्रहरी बलका निरीक्षक भरत कुवरले बताए ।
उनले सुराकीले दिएको जानकारीका आधारमा उक्त गोली फेला पारे पनि संलग्न व्यक्ति भने पक्राउ गर्न नसकिएको बताए । गोली कहाँबाट कसले ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाई छ ।
यसअघि गत बैशाख ७ गते सोही ठाउँबाट गस्तीमा गएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा एलएमजीको म्याग्जिन २४ थान, ब्यारेलको म्याग्जिन दुई थान, एसएलआरको म्यागजिन एक थान र गोली आठसय ६० तथा इन्सास म्यागजिन पाँच थान र त्यसमा लाग्ने गोली एक सय छ गोटा बरामद गरेको थियो ।
दोस्रो पटक बैशाख २४ गते पनि उक्त ठाउमा एसएमजीमा लाग्ने गोली दुई सय ८६ थान, एसएलआरमा लाग्ने गोली ५ सय १९ गोटा, एन्सास र एम १६ मा लाग्ने गोली एक हजार ९३७ गोटा, ईन्सासको खाली म्याग्जिन २३ थान, एसलएलआरको खाली म्याम्जिन ५७ थान, एलएमजीको म्याग्जिन ६ थान, एम १९ को म्याग्जिन २७ थान, एसएमजीको म्याग्जिन ७ थान र २२ वटा चाचर अर्थात गोली मिलाएर राख्ने समान बरामद गरेको थियो ।
बरामद भएका गोलीहरु मध्ये ५.५६ एमएमका गोलीहरु अत्याधुनिक एम १६ र एके ४७ मा लाग्ने गोली भएको र एम १६ नेपाली सेनासँग र एके ४७ त सेनासँग पनि नभएको सुरक्षा अधिकृतहरुले बताएका छन् ।
सुरक्षा स्रोतले एमाओवादी लडाकुले शिविर छोडे पछि धमाधम भेटिन थालेका हतियारका गोलीगठ्ठाहरु उनीहरुले अनमिनको प्रमाणिकरणका बेला पुरै नबुझाएर लुकाएको हुनसक्ने बताएको छ ।
यसरी एकै ठाउमा तीन पटकसम्म बोरामा लुकाएर राखेको अवस्थामा अत्याधुनिक हतियारका गोलीगठ्ठा भेट्टिएपछि सर्वसाधरणहरु शान्तिसुरक्षाबारे चिन्तित भएका छन् ।

प्रतिक्रिया