श्रीलंकाद्वारा पाकिस्तान पराजित

हम्बानटोटा, २१ जेठ । उत्कृष्ट बलिङ प्रदर्शन गर्दै श्रीलंकाले पाकिस्तानविरुद्धको दुई टी–ट्वान्टी म्याचको शृंखलाअन्तर्गत पहिलो म्याचमा शनिबार ‘लो स्कोरिङ’ गरे पनि ३७ रनले विजय प्राप्त गरेको छ ।
१३३ रनको विजयलक्ष्य पछयाएको पाकिस्तान १७.४ ओभरमा ९५ रनमा सीमित भएको हो । पाकिस्तानको बलियो ब्याटिङक्रमलाई एकपछि अर्को गरी ध्वस्त बनाउने क्रममा नुवान कुलसेकरा, एन्जेलो म्याथ्युज, लासिथ मालिंगा र साचिथ्रा सेनानायकेले समान दुई विकेट लिए ।
कुलसेकराले इनिङको सुरुआती दुई बलमा लगातार विकेट लिएर बलियो आत्मविश्वासका साथ उत्रिएको पाकिस्तानलाई झड्का दिए । त्यसपछि पाकिस्तानको ब्याटिङक्रम दुई खेलाडी मात्र दोहोरो अंक छुने गरी धर्मरायो । प्रारम्भिक ब्याट्सम्यान अहमद सहजादले ३६ र उमर अकमलले १२ रन जोडेका हुन् । मोहम्मद हाफिज र विकेटकिपर सकिर अन्सार शून्यमै आउट भए । कुलसेकराको बलमा दुवै खेलाडी तिलकरत्ने दिल्सानबाट क्याचआउट भएका थिए ।
अहमदले चौथो विकेटका रूपमा सोएब मलिकसँग ३४ रनको साझेदारी गर्दै टोलीको संकट टार्ने प्रयास गरिरहँदा म्याथ्युज उक्त यात्रामा बाधक भएपछि पाकिस्तान फेरि अप्ठयारोमा रहन पुग्यो । पाकिस्तानको कुल रन १२ हुँदा खालिद लतिफलाई तेस्रो विकेटका रूपमा आफ्नै बलमा स्टम्पिङ गराएका म्याथ्युजले मलिकलाई ९ रनमा थिसारा परेराबाट क्याचआउट गराएका थिए ।
अहमदसँग पाँचांै विकेटका लागि २२ रनको साझेदारी गरेपछि अकमल मालिंगाको सिकार भए । उनलाई कुलसेकराले क्याचआउट गराएका हुन् । त्यसपछि भने पाकिस्तानले बाँकी पाँच विकेट २७ रनका लागि खर्चिएको थियो । ब्याटिङ गर्न बाँकी रहेकामध्ये आसलाग्दा साहिद अफ्रिदी एक रन जोडेर सेनानायकेको बलमा क्याचआउट भएपछि पाकिस्तान हारतर्फ नजिकिन थालेको थियो । सोहेल तनवीर १, उमर गुल ५ र सइद अजमलले ५ रनको व्यक्तिगत इनिङ खेलेका थिए । श्रीलंकाली बलरको प्रदर्शन धारिलोसँगै किफायती रहयो । म्याथ्युजले चार ओभरमा एक मेडन राखेर आठ रन मात्र खर्चिए भने समान तीन ओभर गरेका कुलसेकराले १३ र मालिंगाले १२ रन दिए । सेनानायकेले २० रन खर्चिए । पाकिस्तानले १९ अतिरिक्त रन पाएको थियो ।
यसअघि पाकिस्तानले पनि उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो जसविरुद्ध श्रीलंकाका प्राय: खेलाडीले खुलेर प्रदर्शन गर्न सकेनन् । अन्तिम समयमा परेराले केही आकर्षक सट प्रहार गरेर श्रीलंकाको इनिङलाई गति दिएका थिए । दुवै प्रारम्भिक ब्याट्सम्यानले दोहोरो अंक नछोएको श्रीलंकाली इनिङमा परेराले १६ बलमा दुई चौका र दुई छक्काको मद्दतले ३२ रनको महत्त्वपूर्ण इनिङ खेलेका हुन् । ८९–७ को स्थितिमा परेराले कुलसेकरासँग मिलेर ४३ रन जोडेका थिए । कुलसेकराले ६ रनको योगदान गरे । सुरुआतदेखि नै श्रीलंकाको इनिङ उतारचढावपूर्ण थियो ।
टस जिती ब्याटिङ गरेको श्रीलंकाले ११ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको थियो । तिलकरत्ने दिल्सानले पाँच र माहेला जयावद्र्धनेले दुई रन जोडे । दुवै खेलाडी तनवीरको बलमा आउट भएका थिए । तर कुमार संगाकारा १९, दिनेश चण्डीमाल १०, लाहिरु थिरमाने ३०, कौशल लौकुराच्चीले ११ रन जोडेर टोलीलाई सामान्य स्थितितर्फ डोर्‍याएका थिए । थिरमानेले पाँचौ विकेटका लागि म्याथ्युजसँग २६ रनको साझेदारी गरेका थिए । अजमलको बलमा उमर गुलबाट क्याचआउट हुनुअघि थिरमानेले २५ बल खेल्दै पाँच चौका प्रहार गरेका थिए । दुई देशबीच दोस्रो टी–ट्वान्टी म्याच हम्बानटोटामै आइतबार हुँदै छ ।

प्रतिक्रिया