‘प्रहरीले सताउनु सतायो’

दाङ, २१ जेठ । ‘दुई दिन प्रहरी हिरासतमा बित्यो,’ सोनपुर–५ जोगपुरका ४८ वर्षीय मोतीलाल चौधरीले भने, ‘घरबाटै पक्राउ गरेर लैजानाको कारण अहिलेसम्म थाहा पाउन सकिनँ  ।’

मजदुरी गरी घर परिवार चलाउँदै आएका चौधरीजस्तै अरुले पनि प्रहरीको ज्यादती खेपेका छन् । राप्ती पर्यटकीय क्षेत्र जखेरा तालको छेउमा रहेको बाढीपीडित विस्थापित बस्तीमा १५ देखि लगातार १७ जेठसम्म प्रहरीले छापा मार्ने र सर्वसाधारणलाई सताउने काम गरेको उनीहरूले बताएका छन् ।
प्रहरीले १२ घर परिवारलाई दुव्यर्वहार गरेको स्थानीय तुलसा चौधरीले बताइन् । ‘हामी सुतिरहेका थियौँ, एक्कासि घरको ढोका हान्न थाले र ढोकासमेत फुट्यो,’ उनले थपिन्, ‘सुतिरहेका पतिलाई हेलमेट र लाताले हिर्काएपछि नाक र मुखबाट रगत बग्यो ।’ प्रहरीले गुन्डाको शैलीमा स्थानीयलाई ज्यादती गरेको उनीहरूको आरोप छ ।
प्रहरीले गाउँका सिङ्हान चौधरी, मोतीलाल चौधरी, ठगेन्द्र चौधरी, पुलिस चौधरी र विष्णु चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लमहीमा राखेको थियो । गाउँलेको विरोध गरेपछि उनीहरूलाई तीन दिनपछि छाडिएको छ ।
इलाका प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर वेदप्रकाश जोशीले गाउँलेमाथि दुव्र्यवहार गरेका हुन् । एकजना सहयोगीसहित जखेरा तालमा १५ जेठको राति घुम्न गएका जोशीले लालमटियाका मनोज कार्की र उनका तीन साथीलाई पेस्तोल देखाएर लखेटेका थिए । तालनजिकै रहेको मोटरसाइकल माग्न जाँदा कुटपिट गरेर लखेटेपछि विद्यार्थी गाउँमा शरण माग्न आएका थिए ।
जोशीले गाउँमा आएर पनि स्थानीयलाई कुटपिट गरेको थियो । गाउँमा चलिरहेको भोजमा सिभिल पोसाकमा आएका व्यक्ति प्रहरी भएको थाहा पाएपछि शान्त भएका स्थानीयमाथि जोशीले कुटपिट गरेका हुन् । जोशीले गाउँलेको सालको काठ पनि नियन्त्रणमा लिएका छन् । सामुदायिक वनबाट काठ लिने ठगेन्द्र चौधरीले मुद्दा लगाउँछु भन्दै जोशीले एक लाख रुपियाँ असुलेको स्थानीयले बताएका छन् ।
गाउँमा प्रहरी प्रमुखकै आतंक मच्चिएको विरोधमा स्थानीय उत्रिएपछि इन्पेस्क्टर जोशीले प्रहरी जवानमाथि आक्रमण भएपछि आक्रमणकारीलाई खोज्न गाउँमा खानतलासी गरेको प्रतिक्रिया दिए । उनले गाउँलेलाई कुटपिट गरेर लाख रुपियाँ लिएको पनि खण्डन गरे ।
जिल्ला प्रहरी कार्यालय दाङले घटनाको छानबिन गरिरहेको प्रतिक्रिया दिएको छ । एसपी गणेशबहादुर ऐरले घटनाबारे अनुसन्धान भइरहेकाले समाचार नल्याउन आग्रह पनि गरे । इन्स्पेक्टर विपिनकुमार कर्माचार्यको नेतृत्वमा छानबिन कमिटी गठन भएको र अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालयले लमहीका इन्स्पेक्टर जोशीलाई जिल्लामा फिर्ता बोलाएको छ ।

प्रतिक्रिया