प्रधानमन्त्री आराम गर्न पत्नीसहित धुलिखेलमा

काभ्रे, २१ जेठ । दलहरूको सहमतिविना संविधानसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेपछि तनावमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई तीनदिने आरामका लागि शुक्रबारदेखि धुलिखेलमा छन् ।

आइतबार बिहान काठमाडौं फर्कने तयारीमा रहेका प्रधानमन्त्री भट्टराईले धुलिखेलस्थित शान्त वातावरणमा आरामका साथै पुस्तक अध्ययन गरेको स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । ‘प्रधानमन्त्री भट्टराई आराम र अध्ययनका लागि शुक्रबार राति धुलिखेल आउनुभएको हो, आइतबार राजधानी फर्कनुहुन्छ,’ पाण्डेले सौर्यसँग भने ।
संविधानसभा विघटनसँगै कार्यकारी अधिकार आफूमा निहित रहेको बताएका प्रधानमन्त्री भट्टराईलाई राष्ट्रपति डा. रामवरण यादवले कामचलाउ भएको जानकारी गराएपछि सहमतिको सरकार गठन गर्न नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाकामा पुगेका थिए । दुवै दलका नेताले राजीनामाको विकल्प नभएको बताएपछि प्रधानमन्त्री भट्टराई तनावमा छन् । आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री भएदेखि नै विरोध जारी राखेपछि पनि भट्टराई थप तनावमा थिए ।
समय छँदै संविधान नबनाएको, अन्तरिम संविधानविपरीत एउटा संविधान सभाको हत्या गरी विनासहमति अर्काे संविधानसभा घोषणा गरेपछि तनावमा रहेका प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसँगै धुलिखेलस्थित एक होटलमा रहेका छन् । स्वकीयसचिव पाण्डेले प्रधानमन्त्री भट्टराई बसेको होटल बताउन चाहेनन् । जिल्लाको सुरक्षा निकायलाई समेत जानकारी नदिई गोप्यरुपमा बसेका भट्टराईका निजी सुरक्षाकर्मीबाहेक होटलमा कोही नभएको पाण्डेले बताए ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले १ असारमा वैद्य समूहले नयाँ पार्टी गठन गर्ने घोषणा गरेपछि थप रणनीति बनाउन धुलिखेल आएको बताइएको छ । कांग्रेस, एमालेलगायत १९ दलले प्रधनमन्त्रीविरुद्ध आन्दोलन घोषणा गरेपछि प्रतिवाद गरेर प्रधानमन्त्री पदमा टिकिरहने योजना बनाउन पनि भट्टराईले एकान्तस्थल खोजेर धुलिखेल आएको बताइएको छ ।
प्रधानमन्त्री भट्टराईको खोजीका लागि काभ्रेका सञ्चारकर्मी दिनभर धुलिखेलका होटल तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरेर हैरान भएका थिए । यसअघि संविधानसभाको विघटनपछि पुष्पकमल दाहाल काभ्रेको नाल्दुमस्थित भंगेरी होटलमा आरामका लागि ताम्सालिङ राज्य समिति इन्जार्च अग्नि सापकोटाका साथमा आएका थिए ।

प्रतिक्रिया