राहत नपाएपछि शव बुझ्न अस्विकार

कैलाली, २० जेठ । गत बिहीबार राति हावाहुरी र बाढी पहिरोमा परी ज्यान गुमाएका बाजुरा बाँधु–९, पीपलडालीका पीडित परिवारले राहत तथा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।
घटनामा परी ज्यान गुमाएका आफन्तहरुलाई सरकारले दिनुपर्ने राहत तथा क्षतिपूर्ति तीन दिन बितिसक्दा पनि नदिए पछि स्थानीय आक्रोसित भएका छन् । उनीहरुले शव समेत बुझेका छैनन् ।
घटनामा मृत्यु भएका र विस्थापित परिवारहरुले एकमुष्ट राहतको प्याकेजको माग गर्दै शव बुझ्न अस्विकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
६० वर्षीया सुकिली सार्की र उनकी १४ वर्षीया नातिनी करिश्मा, दत्त कार्कीका १२ वर्षीय छोरा लोकराज र ८४ बुबा रणबहादुर तथा प्रलाद लुहारका तीन वर्षीय छोरा दीपेन्द्रको मृत्यु भएको थियो ।
दत्त कार्कीकी ३५ वर्षीया पत्नी रेउकला, आठ वर्षीया छोरी झरना र दुई वर्षीय छोरा धर्म तथा ५१ वर्षीय बीर कार्की घाइते भएका थिए ।
हावाहुरी र बाढी पहिरोमा परी बाँधु–९ पीपलडालीमा मात्र ३८ परिवारका दुईसय बढी व्यक्ति घरवार विहीन भएका छन् ।
बिस्थापितहरुलाई स्थानीय विद्यालयमा बस्ने ब्यवस्था गरिएको भएपनि खानलाई समस्या रहेको पीडितहरुले बताएका छन् । उनीहरुले उचित गास, बास र कपासको माग गरेका छन् ।
जिल्ला दैबी प्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले प्रति मृत्तक २५ हजारका दरले राहत दिने निर्णय गरेको भएपनि कहिले दिने भन्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया