एमाओवादीका तीन नेता पदमुक्त

काठमाडौं, २० जेष्ठ । बृहत् मधेसी मोर्चाले एमाओवादीका तीन नेताहरुलाई पदमुक्त गरेको छ ।
पद मुक्त हुनेमा एमाओवादी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव, प्रभु साह र रामकुमार शर्मा रहेका छन् । उनीहरुले मोर्चाको आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै पद र जिम्मेबारीबाट मुक्त गरेको जारी संयुक्त विज्ञप्तीमा उल्लेख ।
यस अघि एमाओवादीका नेताहरुले मोर्चाबाट उपेन्द्र यादव र सरतसिंह भण्डारीलाई कारबाही गरेका थिए । एकले अर्कालाई निष्कासित गर्ने कार्यले बृहत मधेसी मोर्चा औपचारीक रुपमा टुक्रिएको छ ।
मोर्चाले आज राजधानीमा पत्रकार सम्मलेन गरेर जेठ–१४ गते मध्यरातिमा प्रधानमन्त्री बाबुराम भट्टराइको सरकारले मंसिर–७ गते संविधान सभाको निर्वाचन गर्न गरेको निर्णय असंवैधानिक रहेको जनाएको छ ।
मोर्चाले एमाओवादी नेतृत्वको सरकारलाई संविधान निर्माणको कार्यलाई समाप्त पारी मुलुकलाई अनिश्चितता र अन्योलतातर्फ धकेल्ने कार्य गरेको आरोप पनि लगाएको छ ।
मोर्चाद्वारा जारी विज्ञप्ती अनुसार सरकारले सुनियोजित ढङ्गबाट मुलुकको एकमात्र जनप्रतिनिधि संस्थालाई समाप्त पारी सत्तामा रही रहने एमाओवादीको सर्वसत्तावादीसोचका कारण समस्या आएको छ ।
प्रधानमन्त्री भट्टराईले तत्काल पदत्याग गरी सर्वपक्षीय राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठनमा बाटो खोल्न मोर्चाको आग्रह छ ।
प्रधानमन्त्री भट्टराईको असंवैधानिककार्यको अन्त्यका लागि मोर्चाले संघर्ष गर्ने निर्णय गरेको जनाएको छ ।
विज्ञप्ती जारी गर्नेमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका वरिष्ठ नेता शरतसिंह भण्डारी, सद्भावनाकी अध्यक्ष सरिता गिरी, दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष रामनरेश राय, एमाओवादी बैद्य समूहका महेन्द्र पासवान, संघीय सद्भावना पार्टीका महेश यादव र नेपाल पिछडा वर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंह रहेका छन् ।

प्रतिक्रिया