सर्वदलीय संयन्त्रलाई प्रभाविकारी बनाउने

काठमाडौं, २० जेठ । नेपाली कांग्रेसले एमालेलगायत १९ दलसँगको संयुक्त आन्दोलनलाई प्रभावकारी बनाउन साझा संयन्त्रको प्रस्ताव गरेको छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको प्रभावशाली नेताहरुको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन साझा संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको हो । पार्टीकै आन्तरिक संयन्त्रलाई पनि भातृ संगठनहरुसँग समन्वय गरेर आन्दोलनका लागि तयारी गर्न समेत सभापति कोइरालाले निर्देशन दिएका छन् ।
बैठक पछि कुरागर्दै केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवादी नेतृत्वको सरकारका अवैधानिक र निरंकुश कार्यलाई रोक्न साझा संयन्त्र बनाउनुपर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘प्रधानमन्त्री बाबुराम भट्टराईको अवैधानिक कदमका विरुद्धको संयुक्त आन्दोलनलाई प्रभावकारी बनाउन साझा संयन्त्र बनाई गृहकार्य गर्नु अतिआवश्यक छ ।’
कांग्रेसले जेठ–२६ गते काठमाडौंको खुल्ला मञ्चमा आयोजना हुन लागेको १९ दलको संयुक्त आमसभामा उल्लेख्य सर्वसाधारण उतार्न आवश्यक पर्ने सबै पहल गर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि आफ्ना सबै भातृसंगठनहरु परिचालन गर्ने नेता केसीले बताए ।
कांग्रेसले जिल्ला कार्यसमिति र भातृसंगठनहरुलाई क्रियाशिल भई दबाव मुलुक कार्यक्रमहरु गर्न समेत निर्देशन दिएको नेता केसीले बताए ।
बैठकमा प्रधानमन्त्री भट्टराईले अवैधानिक रुपमा संविधानसभा विघटन गराएपछिको अवस्था र हाल सम्म दलहरुका वीच भएका परामर्श तथा निर्णयहरुको समिक्षा भएको नेता केसीले बताए । उनले आन्दोलनलाई देशव्यापी रुपमा सञ्चालन गर्ने पनि बताए ।
बैठकमा सभापति सुशील कोइरालाका साथै उपसभाति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायत प्रभावशाली नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया