वाह नेपाली, थुइया नेपाली

मे १८, २००६ को साँझ ।
होटल पार्क प्यालेस । काबुल, अफगानिस्तान ।
अफगानी पत्रकारहरूलाई खोज पत्रकारितासम्बन्धी तालिम दिनु थियो । तालिम बिहान ९ बजेदेखि सुरु हुन्थ्यो । युद्धले गर्दा हो कि केले हो अफगानीहरू–सेना हुन् कि पत्रकार, चाँडै थाक्दा रहेछन् । ३ बज्दा
नबज्दै उनीहरू लल्याकलुलुक हुन्थे । त्यसैले तालिम ३ बजे सक्नैपथ्र्याे ।
त्यसपछि कहाँ जाने ? सुरक्षा अधिकृतले काबुलमा डुल्न अनुमति दिएका थिएनन् । त्यसैले, कुटनीतिक नम्बर प्लेटको गाडी चढेर सिधै होटल आउनु हामीसँग भएको एक मात्र उपाय थियो । एके फोर्टीसेभेन बोकेको होटेलको गार्डले दुईवटा तघारा खोलिदिएर गाडी होटेलभित्र पसेपछि बल्ल ढुक्क लाग्थ्यो ।
हामी यस होटेलमा बसेको पाँच दिन भइसकेको थियो । यति दिनमै एकजना होचा, हँसिला तान्जानियालीसँग हामी घुलमिल भइसकेका
थियौँ । उसको बोलाउने नाम कुम्बा कुम्बा थियो । पूरा नामचाहिँ मोहमद सुलेमान कुम्बा ।
नेपालमा त्यस दिन संसद्ले राजाका सबै अधिकार एकपछि अर्काे गर्दै खोस्दै थियो । टिभीमा यससम्बन्धी समाचार हेरिसकेपछि हामी शीतल साँझमा होटेलको चउरमा राखिएको टेबुलमा बसेका थियौँ– हरि शर्मा, विनोद भट्टराई र म । कुम्बा हाम्रै छेउमा बस्यो ।
‘कुम्बा कुम्बा भनेको भएजति सबै भेला गर्ने,’ आफ्नो नामको अर्थ लगाएपछि उसले आफ्नो समाजको इतिहासतिर लग्यो । ‘तीन सय वर्षअघि साम्राज्यवादी जानु अघिसम्म हाम्रो समाजमा स–साना राज्य थिए । तिनका आफ्नै राजा थिए । एउटा गाउँको राजाले अर्का गाउँको राजासँग बिहे गरेर नाता सम्बन्ध जोडेका थिए ।
‘उनीहरू धनी थिए । अरब र अंग्रेजलाई हात्तीका दाँत बेच्थे । त्यसैले हाम्रो परिवारको थर कुम्बा कुम्बा रह्यो । पछि साम्राज्यवादी गएपछि त हामीलाई जोगी बनाइ हाले नि ।’
कुम्बा यस होटेलमा बसेको आठ महिना भइसकेको थियो । यस होटेलमा बस्ने धेरैजना मानिस ऊजस्तै यहाँका रैथाने भइसकेजस्ता थिए । उनीहरूसँग दिक्क भएकाले कुम्बाले आजको साँझ बिताउन हामीलाई छानेको रहेछ । यत्तिको रसिलो मान्छेसँग साँझ बिताउन पाउँदा हामी पनि खुसी नै थियौँ ।
‘तिमीहरू नेपाली हौ हैन त । त्यसो भए होसियार होऊ । जथाभाबी नहिँड । तिमी नेपाली र भारतीयहरू उस्तै देखिन्छौ । तालेबानहरू झुक्किन्छन् । तिनीहरू भारतीयलाई ‘कहाँ भेटौँ र मारौँ’ भनेर पर्खी बसेका छन् ।
‘मलाई त्यस्तै समस्या छ । धेरै काला अमेरिकनहरू काबुलमा बन्दुक बोकेर बसेका छन् । उनीहरू तालेबानका शत्रु हुन् । तालेबानहरूले मलाई पनि अमेरिकन ठान्छन् । त्यसैले, आठ महिना भयो यहाँ आएको । बाहिर कहीँ जान पाएको छैन । होटेल–अफिस, अफिस–होटल ।
यत्ति हो ।
‘बेला बेलामा झ्वाँक चल्छ, म अमेरिकन होइन भन्ने लेखेर पछाडि झुन्ड्याएर हिँडौँ कि जस्तो । तर, सोच्छु– त्यसो गर्दा केहि फाइदा हुन्छ र ? बीस प्रतिशत मात्र अफगानले पढ्न लेख्न जानेका छन्, जसले पढ्न लेख्न जानेका छन् तिनले मलाई केही गर्दैनन्, जसले पढ्न लेख्न जान्दैनन् तिनबाट हो मलाई खतरा । त्यसैले त्यसो गर्दा के फाइदा हुँदैन भनेर त्यसो गरेको छुइनँ ।’
कुम्बा इन्जिनियर हो ।
‘इन्जिनियरिङ कहाँ पढेको तिमीले ?’
‘राँचीमा ।’
‘राँची भनेपछि त अर्काे पनि अर्थ लाग्छ नि,’ मैले राँचीमा रहेको नामी मानसिक रोगको उपचार केन्द्रतिर संकेत गरेँ ।
‘थाहा छ ।’
उसले एउटा कथा सुनायो– भारतमा जवाहरलाल नेहरुको जगजगी थियो । त्यतिबेला त्यहाँ भएका प्राय: सबैजसो बिरामी आफूलाई ‘जवाहरलाल नेहरु’भन्दा रहेछन् । एकपटक साँच्चिकै जवाहरलाल नेहरु राँचीको मानसिक अस्पताल गएछन् । उनले ‘म जवाहरलाल नेहरु’भन्दा त्यहाँका बिरामी हलल्ल हाँसेछन् ।
कुम्बा विश्व बैंकको खानेपानी आयोजनामा
काम गर्छ ।
‘काबुलको पानी खाए हुन्छ ?’ मैले सोधेँ ।
‘किन नहुने ? हुन्छ । तर, बिरामी भएपछि औषधि किन्ने पैसाचाहिँ ठीक पारी राख । बिरामी भएपछि औषधि गर्ने खर्च र बिरामी भएर काम गर्न नसक्दा हुने घाटाको हिसाब गर्‍यौ भने मिनरल वाटर खान कता हो कता सस्तो पर्छ ।
‘यहाँको पानी राम्रो छ । विश्व ब्यांकले हरेक कामका लागि पैसा दिएको छ । कर्मचारीका लागि, क्लोरिन हाल्नका लागि, सरसफाइका लागि । क्लोरिन पनि हालिन्छ कहिलेकाहीँबाहेक ।’
‘तर यहाँको खानेपानीको पाइप पुरानो छ । ठाउँठाउँमा फुटेको छ । काबुलमा ढलको राम्रो ब्यवस्था छैन । ढल पनि फुटेको छ । पानी नभएका बेलामा पाइपमा भएको हावाले ढल फुटेर निस्केको फोहरमैला तान्छ । पछि पानी आएका बेलामा पानीले त्यो
फोहर पनि बगाएर धारामा पुर्‍याउँछ । त्यसैले, यहाँको पानी नखाऊ ।’
यस मामलामा काबुल र काठमाडौंका बीचमा केही अन्तर थिएन ।
‘काठमाडौंबाट भारत जाने बसमा कुन ठाउँ भएर जान्छ हँ ?’ उसले सोध्यो ।
‘वीरगन्ज ।’ मैले भनेँ अनि सोधेँ, ‘किन तँलाई पनि ढुंगा हाने ?’
‘कहाँबाट आयो ढुंगाको कुरा ?’ उसले पनि प्रश्नमै जवाफ दियो ।
मैले उसलाई एउटी डच महिलाले भनेको सत्य घटना सुनाएँ । ‘उसको लोग्ने कृषि विकास ब्यांकमा कन्सल्टयान्ट थियो रे । गाडी चढेर वीरगन्ज गएको थियो रे । तरकारी बेच्न बसेका केटाकेटीले आफ्नो तरकारी किनेन भनेर ढुंगाले हाने रे ।’
‘ती केटाकेटीहरूले के बेठीक गरे त ?’ उसले पश्चिमाहरूप्रति रिस पोख्यो । ‘तिनले कसो गर्छन् ? हामी उनीहरूकहाँ गयो भने तिनीहरू आफ्नो धर्म मानोस् भन्छन् । उनीहरूको भाषा बोलोस् भन्छन् । उनीहरूले जसरी खाओस् अनि उनीहरू जसरी हिँडोस् भन्छन् । आफूले जसरी नै जिऊ दस ठाउँ मर्काएर बोलोस् भन्छन् ।
‘ठीक छ । म उनीहरूकहाँ जाँदा उनीहरूको जस्तो गरौँला रे । त्यसो भए तिनले पनि त हामीकहाँ आउँदा हामीले जस्तो गर्नुपर्छ नि । गोरु गाडामा हिँड्ने मानिस भएका ठाउँमा शान दिएर गाडी कुदाउनेले ढुंगा नखाए अरू कसले खान्छ त ?
‘मैले तिनकहाँ जाँदा कति विभेद खपेको छु । म कति अपमानित भएको छु । ठीक गरेछन्
नेपाली केटाकेटीले । स्याबास नेपाली । म तिनलाई सलाम गर्छु ।
‘हुन त तिमीहरूलाई अरू कुरामा पनि सलाम गर्नुपर्छ । आज त्यो राजालाई कस्तोसँग तह
लगायौ ? मान्नुपर्छ तिमीहरूलाई । एक महिनाअघिसम्मको तानाशाहलाई संसद्ले चाबुक हान्यो होइन त ? न रक्तपात न केही । खुरुखुरु
राजाको अधिकार खोस्यो संसद्ले । अचम्मका मानिस हौ तिमीहरू ।
‘राजा पनि कस्तो आफूलाई त्यस्तरी हिर्काउँदा पनि सञ्च मानेर बसेको छ,’ उसले भन्यो ।
‘अँ त । तिमी वीरगन्ज गएको कुरा गर्दै थियौ नि । त्यो कुरा टुंग्याएनौ,’ मैले उसलाई पुरानो कुरातिर डोहोर्‍याएँ ।
‘ए होइन, मेरो कुरा अर्कै थियो । काठमाडौंबाट वीरगन्ज जाँदा पहाड पर्छ नि । त्यहाँ मैले नेपाली लोग्ने मान्छेले अचम्मको लुगा लगाएको देखेँ । घुँडाभन्दा अलि माथिसम्म चाहिँ धोक्रे, अनि पिँडौलामा चाहिँ कसिएको । त्यो लुगालाई के भन्छन् रे ?’
‘सुरुवाल ।’
‘मलाई त्यो लुगा एकदमै मन पर्‍यो । काम गर्न पनि सजिलो । देख्दा पनि राम्रो । यो अफगानले लगाउने लुगाजस्तो हो र ? माथिदेखि तलसम्म एकैनासको धोक्रो ।
‘एकपटक यही होटलमा एकजना नेपाली प्रोफेसर बसेका थिए । उनलाई तान्जानियाको पहिलो राष्ट्रपति जुलियस नेरेरेका बारेमा लेखिएको किताब द पान–अफ्रिकन मुभमेन्ट चाहिएको रहेछ । मैले घर जाँदा किताब लिएर आएँ । तर, उनी यहाँबाट हिँडिसकेका रहेछन् । किताब त्यत्तिकै छ ।’
‘हामीलाई दे न त,’ मैले भनेँ ।
‘किताब कसलाई दिऊँ भन्ने चिन्ता होइन मलाई । म त त्यो किताब दिएर सुरुवाल माग्ने सुरमा थिएँ । कस्तो राम्रो हुन्थ्यो सुरुवाल लाएर तान्जानिया जाँदा । सबले मन पराउँथे । मेरो लुगा हेर्न मान्छेको ताँती लाग्थ्यो ।’
यति भनेर ऊ उसको कोठातिर हिँड्यो । हामी आ–आफ्नो कोठामा गयौँ । संसद्ले राजाका अधिकार खोसेको थप समाचार हेर्‍यौँ ।
०००
६ वर्षपछि आजभोलि कुम्बाले कुनै नेपालीलाई भेट्यो भने त्यसले पहिलेको सबै प्रशंसा फिर्ता लेला । उसले भन्ला, ‘थुक्क तिमी नेपाली † साठी वर्षभन्दा धेरै समयपछि जनताले पाएको संविधान बनाउने अवसर पनि गुमाउने † पूरै चार वर्ष संविधान नबनाएर अरूअरू कुरामा अल्मलिने नेतालाई तह लगाउन नसक्ने † भएको भत्काउने बेलामा मिल्ने, नयाँ बनाउने बेलामा आपसमै झगडा गरिबस्ने बाँदर †’
हो त, पहिलोपटक २००४ सालमा नेपालको पहिलो विधान बनेयताका ६० वर्षमा नेपालमा ६ वटा विधान बनिसके । निरंकुश राणा र महेन्द्रले विधान बनाए । विदेशीले पनि नेपालको विधान बनाइदिए । राजनीतिक दलहरूले दुईवटा विधान बनाए । जनताले चाहिँ बनाउन सकेनौँ ।

प्रतिक्रिया