कविता र रूख


कविताको बारेमा चिन्तन गर्दै जाँदा केही समय यतादेखि मलाई लाग्न थालेको छ कि कविता ठ्याक्कै रूखजस्तो हुँदोरहेछ । रूखसँग जरा र फलफूल हुन्छन् । कवितासँग विचार र कला हुन्छ ।
तपाईंहरूले झैँ मैले पनि जरा नभएको रूख कतै देखेको छैन । जमिनमा गाडिएका रूखहरूको त कुरै भएन, पानीमा तैरिरहेका वनस्पतिका पनि जराहरू हुन्छन् । जराविनाको रूखको कल्पना कि मिथकमा सम्भव होला कि कुनै जादुशास्त्रमा । यसको कल्पना ठ्याक्कै त्यस्तो मानिससँग तुलनीय हुन्छ, जसको मुटु होस् तर मस्तिष्क नहोस् । मुटु धड्किएर मात्र जीवनको अर्थ पूर्ण हुँदैन । जीवनको परिभाषा पूर्ण हुन मस्तिष्कको चलखेल पनि जरुरी हुन्छ ।
जराविनाको रूखको कुनै अस्तित्व छैन । कविताको पनि जरा हुन्छ र कविताको जरा विचार हो । जराविहीन रूख नभएझँै विचारविहीन कविता हुँदैन । तर, विचारमा मौलिकताको कुरा भने गम्भीर बहसको विषय हो । मौलिक चिन्तन र विचारहरू युगमा मुस्किलले देखा पर्दछन् र ती पनि फेरि पुरानिएर जान्छन् । दार्शनिक जे कृष्णमूर्तिले अमौलिक मानिसहरूलाई ‘सेकेन्ड ह्यान्ड मानिस’ भनेझैँ मौलिक विचार दिन नसक्ने कविलाई पाठकले ‘सेकेन्ड ह्यान्ड कवि’ भन्ने सम्भावना रहन्छ । कवितामा मौलिकताको खोजी ठूलो चुनौती हो । प्राप्ति पनि त्यही हो । तर अमौलिक नै सही, कविताको रूख विचारको जराले अड्याएको हुन्छ । विचारको जराले सोसेको पानी र मल कविताको पातमा पुगेर जीवनको उपस्थितिमा कविताको फोटोसेन्थेसिस सम्पन्न हुन्छ ।
स–साना गमलाहरूमा फूले रोप्ने सौन्दर्यप्रेमीहरूलाई बोटको जरासँगभन्दा त्यसको फूलसँग बढी सरोकार हुन्छ । बाल्यकालमा विश्वप्रसिद्ध राजनीतिज्ञ माओस्ते तुङलाई पनि गमलाको माटोभित्र लुकेका जरासँग भन्दा त्यसको फूल र पातहरूसँग बढी मोह रहेछ । जब माओकी आमा उनलाई बोटमा पानी राख्न अह्राउँथिन, उनले सिर्फ बोटका फूल र पातहरू मात्र पानीले सफा गर्थे । त्यसको जरालाई उनी पूरै बेवास्ता गर्थे । एकदिन उनकी आमाले उनलाई सम्झाइन्, ‘बुद्धू † बोटको जरामा पानी हाल । जरा स्वस्थ नभए त्यसको फूल र पात स्वस्थ हुँदैन ।’ माओकी आमाले बोटको जरालाई माया गर्न नसकेकी भए थाहा छैन उनी कहिलेसम्म सौन्दर्यात्मक आनन्दका लागि तिनै फूल र पातहरूलाई पानीले सफा गरिरहन्थे । जराले पानी नपाएर काम गर्न छाडेपछि पहेलिएका पातहरू र ओइलाएका फूलहरू देखेर उनी कति दु:खी हुन्थे । सबै मानिसको जीवनको पहिलो गुरुआमा भएझैँ जीवनमा विचारलाई माया गर्न माओलाई पनि आमाले नै सिकाइन् ।
रूखमा मूल जरा र शाखा जराहरू हुन्छन् । कविताका पनि मूल जरा र शाखा जराहरू हुन्छन् । मूल जरा एउटै भए पनि जसरी रूखका शाखा जराहरू धेरै हुन्छन्, कविताका यस्ता सहायक जराहरू पनि अधिक हुनसक्छन् । मूल जरा मात्रै भएको रूख सानो आँधीले ढल्न सक्छ, त्यसलाई धरतीमा अड्याइराख्न असंख्य शाखा जराहरू चाहिन्छन् । रूखका शाखा जराहरूले मूल जराको कार्यमा सहयोग गरेझैँ कविताका शाखा जराहरूले पनि कविताको मूल जरालाई नै सहयोग गरिरहेका हुन्छन् । मूल जरा काम गर्न असमर्थ भए रूखको जीवन धरापमा पर्छ तर शाखा जरा मूल जरा बनेर रूखलाई बचाउन सक्छ । कवितामा पनि त्यही हो । कुनै पनि कविका सम्पूर्ण कविताको व्यवस्थित अध्ययन गर्दा उसको मूल जरा भेटिन्छ । यसैको आधारमा कविलाई समीक्षकहरू विभिन्न विचारभित्र आबद्ध गरिदिन्छन् । त्यो समीक्षकको बाध्यता पनि हो, धर्म पनि हो । तर, कविताको आधारमा नभई आफूले निर्माण गरेको निरपेक्ष विचार र दुई चारवटा कविताहरूको अध्ययनको जगमा बसेर कविताको समीक्षा गर्नु समीक्षकहरूको ठूलो समस्या हो, जुन यदाकदा हाम्रो कविताको सन्दर्भमा पनि देखा पर्दछ । एक दुई प्रतिनिधि कविताको धड्कन छामेर कविको मूल स्वरको निक्र्योल गर्नु असम्भव हुन्छ ।
हुर्कंदै गरेको रूखको जरा कहिलेकाहीँ धरतीभित्र ढुंगामा ठोक्किन पुगेझैँ कविताको जरा पनि प्रतिकूलतामा ठोक्किन सक्छ । एउटा आँसुको गीत लेख्दैमा कोही कवि विरही गीतकार या एउटा क्रान्तिको कविता लेख्दैमा कोही कवि क्रान्तिकारी हुन सक्दैन । रूखका जराहरू विभिन्न दिशातिर छरिएझैँ कविताका जरा पनि विभिन्न दिशातिर छरिएका हुनसक्छन् । जसरी जरालाई एउटै दिशातिर मात्र गहिरिनु भनेर रूखले आदेश दिन्न, त्यसरी नै कविताका जरालाई फैलिन पनि कविले कुनै आदेश दिन सक्दैन । जराहरूको परपरसम्मको फैलावटले जमिन बाँधेझैँ कविताका जराको फैलावटले त्यसको अमरत्वलाई बाँध्छ । रूखले झैँ कविताले पनि समग्रताको अनुभूति गर्न चाहन्छ । दु:ख, सुख, प्रेम, आँसु, हाँसो, प्रगति, अवनति सबैको अनुभूति कविताले गर्न सक्नुपर्छ । कविताले जीवनलाई सम्बोधन गर्ने हो । जीवन ठ्याक्कै सूर्यलाई घुमिरहेको पृथ्वीजस्तै छ, कतै दु:खको अँध्यारो छाउँदा अर्को आधा भागमा सुखको उज्यालो सुरु भइरहेको हुन्छ । तर, कविताको मूल जरा हुनै पर्दछ र त्यो सबैभन्दा शक्तिशाली हुनुपर्दछ । विशिष्ट कविहरूको समष्टिगत अध्ययन गर्दा कहिलेकाहीँ समालोचकहरू प्रशस्त अन्योलमा फस्न पुग्छन् । यो मूल जराको कारणले उत्पन्न हुने स्थिति हो । त्यो अन्योलताबाट बाहिर निस्कन कविको कवितात्मक वृद्धि विकासको चरण विभाजन गर्ने प्रचलन सार्थक छ । पारिजातको प्रारम्भिक मूल जरा विसंगतिवादी थियो, बीचको अस्तित्ववादी रह्यो र त्यो पछिल्लो चरणमा जीवनवादी बन्यो । पारिजातले आफ्नो सिर्जनामा विचारका जराहरू फेर्दै आइन् । रूखले मूल जरा फेर्न सक्छ भने कविताले किन नसक्नु ?
०००
जसरी जराविना रूखको अस्तित्व हुँदैन, त्यसरी नै फल वा फूलविना त्यसको सौन्दर्य रहँदैन । जीवन विचार पनि हो, सौन्दर्य पनि हो । फल नलागे वा फूल नफुले रूखको उपयोगिता नभएझैँ कला वा सौन्दर्य नभए कविताको पनि उपयोगिता र अर्थ रहँदैन । रूखको समग्रताभित्र फल वा फूल भएझैँ कविताको समग्रता कलाविना पूर्ण हुँदैन । फल वा फूल रूखको धर्म हो, कला कविताको धर्म । प्रकृतिले आफ्नो धर्म पालन गरिरहेको हुन्छ, कविताले पनि आफ्नो धर्म पालन गर्नुपर्दछ ।
कला वा सौन्दर्यको बारेमा सदियौँदेखि अनेक बहसहरू हुँदै आएका छन् । तर, सौन्दर्यको स्तर र मानक निर्धारण गर्न असम्भव नै छ । गुलाबको फूल मखमली फूलभन्दा किन सुन्दर छ ? कसरी सुन्दर छ ? कति सुन्दर छ ? तर्क गर्न सकिन्छ तर पुष्टि गर्न गाह्रो हुन्छ । कवितामा सौन्दर्यको स्थापना अर्को ठूलो चुनौती हो । वास्तवमा कविता लेखन वैचारिक सौन्दर्यको चुनौतीपूर्ण यात्रा नै त हो ।
फूलमा सौन्दर्य मात्रै हुँदैन, सुगन्ध पनि हुन्छ । त्यो कवितामा पनि हुनसक्छ । कविताको सुगन्ध कविको आफ्नोपन वा मौलिकता हो । गोपालप्रसाद रिमालको आफ्नै कवितात्मक मौलिकता छ, भूपिको आफ्नै छ, वासु शशीको आफ्नै । यही मौलिकताले कविलाई कविताको भीडमा टाढैबाट चिन्न सक्ने बनाउँछ । कविताको वासनाले उसको पहिचान प्रसारित हुन्छ, पाठकहरूसम्म । तर, कुनैकुनै फूलहरू वासनाहीन भएझैँ कविताहरू पनि वासनाहीन हुन सक्छन् । हेर्दा वा पठन गर्दा राम्रै लाग्छन् तर तिनीहरूको मौलिक वासना हुँदैन ।
पृथ्वी विविधताको संयोजन हो । जंगलमा रूखहरू पनि विविध छन् । फल र फूलहरू पनि विविध छन् । कवितामा पनि विविधता छ र त्यो अपेक्ष्य छ । कविताको रङ, सुगन्ध, आकारप्रकार, स्वाद सबैमा विविधता छ । बहुलता प्रकृतिको झैँ कविताको पनि स्वभाव हो । रूखहरू विविध जातका छन् तर जातीय छैनन् । लेखक जेन्स जेनसनले सत्य भनेका छन्, ‘रूखहरू ठ्याक्कै मानिसजस्ता हुन्छन् र एकअर्काको साथमा आनन्द मान्छन् । एकदमै कम मात्र एकान्त मन पराउँछन् ।’ कविताको सन्दर्भमा पनि सद्भावनाको यो वाणी सत्य प्रतीत हुन्छ । यद्यपि गद्य कविता र पद्य कविताको बीचमा असमझदारीजस्तो देखिन्छ । कवि र गजलकारहरूका बीचमा रूखमा झैँ हार्दिक सम्बन्ध विकसित हुन बाँकी देखिन्छ तर त्यो सम्बन्ध बन्नैपर्छ । त्यसको विकल्प छैन । दुईचार कविहरू एक्लो हुन मनपराउँछन् भने त्यो कविताको समस्या होइन, कविहरूको समस्या हो ।
कवितामा परिस्कृति र दार्शनिकताका लागि विश्वप्रसिद्ध कवि खलिल जिब्रानले रूखहरूलाई पृथ्वीले आकाशमा लेखेका कविता मानेका छन् । कवि लुसी लार्कमले लेखेका छन्, ‘जसले रूख रोप्छ, उसले आशा रोप्छ ।’ सिक्किममा बसेर नेपाली कविताको यज्ञमा धुनी जगाइरहने कवि राजेन्द्र भण्डारीले कविताको विकल्प नभएको कुरालाई पुष्टि गर्न रूखसँग त्यसलाई दाँजेका छन् । उनलाई लाग्छ, जसरी रूखको अन्त्य छैन, त्यसरी नै कविताको पनि अन्त्य छैन ।
प्रयोगवादी कवि द्वारिका श्रेष्ठले ‘आफू आफूबाट’ कवितामा व्यक्त गरेको विचार, ‘हामी मात्र एउटा बीज/जो फस्टियो अनेक हाँगा र उपशाखामा’ भन्दै गर्दा होस् वा सिद्धिचरण श्रेष्ठले ‘म कोपिला होइन, फूल रानी/बिस्तारै बढ्दै छ ममा जवानी’ लेख्दै गर्दा होस् अथवा माधव घिमिरेले ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ लेख्दा होस् रूखको विम्बलाई जीवन प्रस्ट्याउन प्रयोग गरेका छन् ।
कवितामा प्रशस्तै रूखहरू छन् र रूखमा ठ्याक्कै कविताको परिभाषा छ । पं. जवाहरलाल नेहरूको मृत्युपश्चात् उनको मेचमा विशेष रूपमा लेखेर राखिएको रोवर्ट फ्रस्टका यी चार पंक्तिहरूमा पनि रूख र जीवनको शक्तिशाली सम्बन्ध स्थापना गरिएको छ :
जंगल छ प्यारो, गहिरो र अँध्यारो
तर मैले निभाउनु छ कसमहरू अहिले
कैयौँ कोस जानु छ निदाउनु पहिले
कैयौँ कोस जानु छ निदाउनु पहिले
धर्तीमा रूख रोप्नु मानिसको धर्तीप्रतिको प्रेम हो । कवितामा रूख रोप्नु कविको कविताप्रतिको प्रेम हो । कविताको रूख न विचार मात्रैले पूर्ण छ, न कला मात्रै भएर ।
कविता ठ्याक्कै रूखजस्तै हुँदोरहेछ ।

प्रतिक्रिया