बब डाय्लनको आत्मकथा


यो गीत तिमीले ध्यान दिएर सुन्नू,’ स्वरसम्राट नारायणगोपालले सन् १९८४ को हिउँदमा दिएको त्यो गीत सुनेपछि म गायक संगीतकार बब डाय्लनका कुनै पनि गीतको भक्त भएको हुँ । त्यसपछि उनको वार्ता, लेख, जानकारी पाएसम्म खोजेर, मागेर वा सम्भव भएसम्म किनेर पढ्ने बानी बसालेँ ।
‘कैयौँ बाटो भएर आएको हुँ’ भन्ने उनको गीत सुनेपछि म विम्बित भएँ र उनका सम्पूर्ण गीतहरूको संग्रह बब डाय्लन १९६२ (२००१) किनेर राखेँ, त्यसैगरी रोलिङ स्टोन नामक मासिक पत्रिकाले उनको ७०औँ जन्मदिनमा प्रकाशन गरेको ‘द सेभेन्टी ग्रेटेस्ट डाय्लन संग्स्’ पनि बटुलेर राखेँ । तर, यिनले र यस्ता संकलनले मलाई कुनै आनन्द वा उत्साह कहिल्यै दिएनन् । मलाई उनको जीवनी वा भनौँ उनकै हातबाट लेखिएको आत्मकथा पढ्न मन थियो, त्यसको खोजीमा मैले कैयाँै सहर प्रवास घुमेँ, विशेषत: कोलकाता, चेन्नई, बैंककतरि कामको सिलसिलामा जाँदा खुब खोजँे तर पाइनँ । तर, उनी आफ्नो आत्मगाथा लेख्दै छन् भन्ने जानकारी कतै कतैबाट गोप्यतापूर्वक आइपुग्थ्यो, म पर्खिंदै थिएँ ।
उनको आत्मकथामा मलाई रुचि हुनुको प्रमुख कारण उनको नाम नै हो, वा भनूँ उनको नाम डाय्लन हो किन डिलन हो ? उनी कसरी उनको नाम उच्चारण गर्न मन पराउथेँ । यहाँका केही अंग्रेजीबाजहरू उनलाई दिलान् पनि भन्थे, कोही उनलाई डाएलोन पनि भन्थे, त्यो सब जान्नका लागि म उनको आत्मगाथाको पर्खाइमा बसेँ ।
धेरै आत्मकथा मैले विविध कारणले पढे पनि गायक, संगीतकार र गीतकार बब् डाय्लनको आत्मकथाको खोजी मेरानिम्ति चयनको विषय बन्यो तर यो मेरो बुभुक्षा सन् २००९ गएर बल्ल पूरा भयो । सन् २००४ मा नै पकेट बुक्स् लन्डनले प्रकाशित गरेको उनको आत्मकथा ‘क्रोनिकल्स’ नेपालको पुस्तक बजारमा आउनै सकेन, यसका आधिकारिक बिक्रेता वा संस्था नभएका कारणले । सन् २००५ देखि लन्डनमा रहेका मेरा एक विद्यार्थीलाई बारम्बार यो पुस्तक खोजीदिन आग्रह गर्दा उनले यो आउट अफ स्टक भएको र पाउन नसकिने जानकारी दिइन् । कालान्तरमा उनले अमाजोनलगायत विभिन्न वेबसाइटमार्फत खोजी गर्दा यो पुस्तक पुराना पुस्तक बिक्री हुने स्टलमा पाउन सकिने जानकारी आमाजोनबाटै पाएपछि उनले मलाई खबर गरिन् ।
चोरी भएर फर्काइएका, पढेर फर्काइएका वा संग्रह गर्न मन नलागेर फ्याँकिएका पुस्तकको पुन: बिक्रीवितरण गरिने पसलबाट थ्रिफ्ट बुक्स नामबाट नयाँ आइएसबिएन नम्बर ८२७ मा यो प्राप्त भयो ।
यो मेरो सादा सपना रंगीन रूपमा सन् २००९ अक्टोबर ८ का दिनमा भव्य रूपमा पूरा भयो, जब पृष्ठ ७८ मा गएर मैले बब डाय्लनको नामबारे मेरा सबै रहस्यास्पद विचारमा अंकुश लगाएँ, उनी लेख्छन्, ‘मलाई शंका थियो, संगीतकारले घरि–घरि मेरो थरमा एल्लायनलाई हिज्जे बिगारेर एल्लेन गरिरहेका थिए । मलाई थाहा छ, किन ? यसमा धेरै आदेश र आवाजको दम्भ थियो । अब म यो पनि गर्नेछु । अब रोबर्ट अल्लेनको बदला म रोबर्ट एल्लायन नै गर्नेछु । त्यसको केही समयपछि मैले एकदिन अनपेक्षित रूपमा डाय्लन थोमसका कविता पढ्न पुगेँ । डाय्लन र एल्लायन समस्वर लाग्यो मलाई । रोबर्ट डाय्लन वा रोबर्ट एल्लायन ? रोबर्टमा डी अक्षरको ध्वनित राम्रो सुनिएन सायद । तर, मान्छे मलाई बोलाउँदा कि रोबर्ट भन्छन् कि बब्बी । एकमनले बब्बी डाय्लन नाम राखूँ कि जस्तो पनि लाग्यो तर त्यतिबेला हाम्रो जगत्मा बबी नामका धेरै मान्छे थिए र रहे, बबी डैरिन, बबी राइडल, बबी भिइ र बबी निली त सक्रिय नै थिए । धेरै बबीहरू एकै ठाउँमा । बब एल्लायनभन्दा मलाई बब डाय्लन नाम ठीक लाग्यो । पहिलोपटक मेरो नाम ट्विन सिटीमा सोधिएको थियो, मैले बिनाहिच्किचाहट, स्वत:स्फूर्त नसोचीकनै भनेँछु साधारण तबरमा, बब डाय्लन ।’
यो आत्मकथाको दोस्रो पाटोको ‘द लस्ट ल्यान्ड’ शीर्षकमा लेखिएको यो संस्मरणको हिस्सा पढ्दा म ताज्जुब हुन्छु, उनले आफ्नो नयाँ नाम राख्नका निम्ति गाउनका निम्ति जत्तिकै दु:ख किन गरे ? उनले धेरैपटक आफ्नो नामका बारेमा समस्या भएको जानकारी पनि दिल खोलेर दिएका छन् ।
पाँच खण्डीय यो आत्मकथा पढ्दा जहिले पनि मलाई त्यो हिउँदको गम्किलो गन्ध नाकमा आउँछ जब स्वरसम्राट् नारायणगोपालले जमलस्थित रोदी रेस्त्राँमा बब डाय्लनको पुरानो क्यासेट मायाले दिएका थिए । यहाँ उनले त्यो गीतका बारेमा कतै पनि चर्चा नगरे पनि म किताबभरि त्यही गीत गुञ्जेकै देख्छु ।
२९३ पृष्ठको यो किताबमा पहिलो खण्ड ‘मार्किङ अप द स्कोर’मा बाइस पृष्ठ यो आत्मकथा लेख्नुका कारण र उनको तत्कालीन अवस्थाबारे विस्तारित भएका छन् । दोस्रो खण्ड ‘द लस्ट ल्यान्ड’मा अन्तरद्वन्द्व र आफ्नो गायनको युगको झलक दिएका छन् । तेस्रो खण्ड ‘न्यु मर्निङ’ र चौथो खण्डमा ‘नो मर्सी’ शीर्षकमा कलम चलाएका छन् भने अन्तिम पाटोमा ‘रिभर अफ आइस’ शीर्षक दिएर समाप्त गरेका छन् ।
नयाँ बिहान शीर्षकीय पाटोमा उनले अन्य गायक गायिकालाई उत्साह हुने कुरा मनज्ञानले लेखेका छन्, उनी कति कविता पढ्थे, कुन–कुन कविबाट प्रभावित भए सहृदयतापूर्वक चर्चा गरेका छन् । उनले मन पराएका कविमा अमेरिकाका राष्ट्रकविमध्ये एक मैकलैश, नगरकवि कार्ल स्यान्डबर्ग, कालो ध्यानचेतनाका बाहक रोबर्ट फ्रस्टलाई औधी रुचाएको पाइन्छ भने यिट्स, ब्राउनिङ र शेलीलाई स्तम्भ नै मानेका छन् । उनले यही खण्डमा आफ्ना परमप्रिय पिताको पनि सम्मानपूर्वक सम्झना गरेका छन् । र, निकै उदेक मान्दै उनले आफ्नो मोटरसाइकल दुर्घटनाको प्रसंगपछि भनेका छन्, ‘साँचो कुरा भन्नुपर्दा म यो मुसा दौडबाट निस्किन चाहन्छु ।’
सन् साठीको दशकमा उनी बिटल्ससित प्रतिस्पर्धामा थिए भने बिटल्स अमेरिका छोडेर एसियाई भूखण्डतिर जाग्दै थियो, उनले त्यस घटनालाई स्पर्श गर्ने क्रममा युवा बिग्रेको र पार्किङ लटमा गाडीभित्रको रासलीला अनि गाडीका फुटेका ऐना र रंगीविरंगी भित्ते लेखनको पनि गुनासो राखेका छन् ।
नेपालको वामसमूहका गीतिगायनमा गहिरो प्रेसर दिने गायक डाय्लनले आफ्नो आत्मकथामा माओवादी, माक्र्सवादीको चर्चा गर्नुका साथै चीनबाट उदाएका कुँग–फू खेलाडी ब्रुस लीको पनि एकास्मिक चर्चा गरेका छन् ।
आफ्नो गायन र लेखनले समाजमा सर्वोच्चता पाएका रोबर्ट एल्लेन जिम्मरम्यान कालान्तरमा महान् कवि डाय्लन थोमसको नाउँलाई पुन: जागृत गरेरै बाँचे, यो नै उनको आत्मकथाको आत्मा बनेको छ ।
भूमिका र इन्डेक्स नभएको यस पुस्तकको मूल्य आठ पाउन्ड भए पनि पढ्दा यसले सबै मूल्य चुकाइदिएको मलाई महसुस भयो । प्रकाशन भएकै साल यसलाई १३ ओटा संस्थाले बुक अफ द इयर घोषणा गरेका कारण पनि यो पुस्तक हालसम्म पाठकसित निकटता राख्न सफल भएको देखिन्छ ।
हनिफ कुरैसीले यस पुस्तकबारे लेखेका छन्, ‘एउटा किताब कसैले सोचेका थिएनन् उसले लेख्न सक्छ ।’ मलाई पनि यस्तै लाग्छ, यो किताबका बारेमा । कुनै रकस्टारले कलमलाई कागजमा यसरी उतारेको यो पहिलोपटक नै होला । मैले सन् २०१० जुलाई २६ मा यो पुस्तक पढिसके पनि बेलाबेलामा दोहोर्‍याएर पढ्ने गरेको छु ।

प्रतिक्रिया