नयाँ पार्टीको प्रक्रिया सुरु : वैद्य

काठमाडौं, २० जेठ । एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको घोषणा गरेको छ । पार्टी विभाजनको अन्तिम निर्णय लिन उसले असार पहिलो साता राष्ट्रिय भेला डाकेको छ । आवश्यक परे फेरि बन्दुक उठाउने चेतावनी पनि वैद्य समूहले दिएको छ ।
आफ्नो विचार समूहमा आबद्ध केन्द्रीय सदस्यको दुई दिनसम्म जारी बैठकपछि वैद्य समूहले शुक्रबार पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको घोषणा गरेको हो । ‘एकै ठाउँमा बसिरहन सक्ने अवस्था भएको भए यस्तो भेला हुँदैन थियो । यसको अर्थ अहिले नै पार्टी फुटेको घोषणा गरेका होइनाँ, प्रक्रिया सुरु भएको छ, पत्रकार सम्मेलनमा उपाध्यक्ष वैद्यले भने, ‘यसलाई पार्टी फुट्ने नभएर विचार मिल्नेबीचको एकता र अवसरवादीसँग छुट्टिने भन्न सकिन्छ ।’
संस्थापन समूहले पार्टी सिद्धान्त र केन्द्रीय समितिले तय गरेको कार्यदिशा छाडेकाले ऊ नै फुटवादी भएको आरोप वैद्य समूहको छ । नयाँ पार्टी गठन भएपछि आवश्यक परे बन्दुकसमेत उठाइने उनले बताए । ‘हामी पनि शान्ति नै चाहन्छाँै, तर मुर्दाशान्ति होइन,’ उनले भने, ‘शान्तिको बाटामा अवरोध आउंँछन् भने फेरि बन्दुक उठाइन्छ तर शान्तिकै लागि हुन्छ ।’ संसारभर बन्दुकबाट मात्रै सत्ता प्राप्त भएको जिकिर उनले गरे ।
मुलुकको स्थिति गम्भीर मोडमा पुगेको बताउंदै उनले पार्टीका तर्फबाट सांगठानिक र राजनीतिक निर्णय गर्न राष्ट्रिय भेला बोलाइएको जानकारी दिए । सो समूहले आगामी १ असारमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालसहितको समूह वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी विसर्जनवादको दिशामा गएको आरोप वैद्य समूहको छ ।
वैद्य समूहले मुलुकलाई अहिलेको समस्याबाट राजनीतिक निकास दिन सर्वपक्षीय गोलमेच सम्मेलन माग गरेको छ । सम्मेलनबाटै अन्तरिम संयुक्त सरकार गठन गर्ने र सोही सरकारले नयाँ संविधान निर्माणको अधुरो काम पूरा गर्नुपर्ने उसको निष्कर्ष छ । संघीयता पक्षधर, गणतन्त्रवादी, प्रगतिशील तथा वामपन्थी शक्तिसित संयुक्त मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि समूहले गरेको छ ।
‘आज देश र जनताका लागि नयाँ राजनीतिक निकास तथा विकल्पको आवश्यकता छ, त्यसका लागि छिटोभन्दा छिटो सबै राजनीतिक दल, मजदुर, किसानसहित उत्पीडित वर्ग र समुदायसहितको समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा सर्वपक्षीय गोलमेच सभा आयोजना गरिनुपर्छ र यसै सभामार्फत संयुक्त राष्ट्रिय सरकारको गठन र नयाँ संविधान निर्माणको अधुरो कार्यलाई पूर्णता दिनुपर्छ,’ वैद्य समूहको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनलाई समूहले ‘असंवैधानिक र षडयन्त्रपूर्वक गरिएको नौटंकी’ बताएको छ । नयाँ संविधान निर्माण नगरी संविधानसभा विघटन हुनाको प्रमुख दोषी अध्यक्ष दाहाल र प्रधानमन्त्री डा.बाबुराम भट्टराई भएको ठहर सो समूहको छ । कांग्रेस–एमालेलगायतका शीर्ष नेता र संविधानसभा अध्यक्ष सहायक मात्रै रहेको समूहको निष्कर्ष छ ।
वैद्यले दाहाललाई प्रतिबद्धता जनाउने तर व्यवहारमा कहिल्यै लागु नगर्ने भनेर टिप्पणी गरे । ‘उहाँ स्थिति गम्भीर छ, हामी मिलेर जानुपर्छ, मैले कहाँ–कहाँ के–के सुधार्नुपर्छ सुधार्छु भन्नुहुन्छ, बोलीमा उहाँ जे पनि गर्छु भन्नुहुन्छ, तर व्यवहारमा केही गर्नुहुन्न,’उनले दाहालप्रति लक्ष्य गर्दै भने ।

संस्थापनले बोलायो विस्तारित बैठक

काठमाडौं : वैद्य समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेलगत्तै एमाओवादीको संस्थापन पक्षले पनि विस्तारित बैठक डाकेको छ । शुक्रबार बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि वैद्य समूहलाई अपिल पनि गरेको छ ।
बैठकले १५ देखि १७ असारमा विस्तारित बैठक गर्ने निर्णय गरेको हो । त्यस्तै, १ असारमा देशव्यापी रुपमा भेला आयोजना गर्ने निर्णय गरिएको छ । १ असारमै वैद्य समूहले काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बैठकले वैद्य समूहसँग एकताका लागि पहल गर्ने निर्णय पनि गरेको पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बताए । विस्तारित बैठकअघि बैद्य समूहसित सहमतिको प्रयास गर्ने र सकभर एउटै भेलाका लागि पहल गर्ने निर्णय भएको उनले बताए ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले परिवर्तित राजनीतिक घटनाक्रम, संविधानसभा विघटन, पार्टी विभाजन लगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उनले उपाध्यक्ष वैद्यसित बिहीबार भएको कुराकानीबारे जानकारी दिँदै आफू पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न पछि नहट्ने बताए । ‘पार्टी एकता हुन्छ भने म आफ्नो पद पनि त्याग्न तयार छु,’ दाहालको भनाइ उद्वृत गर्दै एक नेताले भने । (सौस)

प्रतिक्रिया