परिणीतिले बढाइन् भाउ

मुम्बई : बलिउड अभिनेत्री परिणीतिको भाउ बढेको छ । हालै प्रदर्शनमा आएको चलचित्र इशकजादेको सफलतापछि उनले आफ्नो भाउ बढाएकी हुन् । तर, उनको यो भाउ चलचित्रका लागि नभएर विज्ञापनका लागि हो । मुम्बईको एक कस्मेटिक ब्रान्डले आफ्नो उत्पादनको प्रचारका लागि बनाउन लागेको विज्ञापनमा उनलाई अभिनय गर्न अफर गर्‍यो । तर, उनले माग गरेको रकम देखेर प्रस्तावकर्ता नै चकित परेको एजेन्सीले उल्लेख गरेको छ । एजेन्सीका अनुसार उनले एक दिनको ५० लाख रुपियाँ मागेकी छन् । कम्पनीले भनेको छ, ‘उनले यत्तिको रकम माग गर्दा हामीलाई अचम्म लागेको छ, यो हामीले सोचेभन्दा डबलै बढी भयो ।’ कम्पनीले उनलाई २५ लाख रुपियाँ दिने योजना बनाएको रहेछ । विज्ञापनका लागि कम्पनीले परिणीतिसँग १० दिनको समय मागेको थियो, सात दिन क्याम्पियन र तीन दिन समारोहका लागि । नयाँ अनुहारका रूपमा भर्खरै आएकी परिणीतिको यति ठूलो डिमान्डपछि कम्पनी उनलाई राख्ने कि नराख्ने भन्ने दोधारमा परेको एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया