‘माया त माया हो’ उपत्यकामा ‘सम्झिराख है’ देशभर


काठमाडौं, १९ जेठ । लगातारको बन्द हडतालका कारण अघिल्लो शुक्रबार पालो आएका चलचित्रहरू हलमा जान तर्सिएकोमा आजबाट दुई चलचित्र प्रदर्शनका लागि तयार भएका छन् । ती हुन्– माया त माया हो र सम्झिराख है । माया त माया हो तुलसी घिमिरेले निर्देशन गरेका हुन् भने सम्झिराख हैको निर्देशन रिम विश्वकर्माले गरेका छन् । माया त माया हो राजधानीका हलमा प्रदर्शन हुन लागेको हो भनेसम्झिराख हैले देशभरका स्टेसनमा छाउने सुर कसेको छ ।
निर्माता विनोद अर्यालले निर्माण गरेको चलचित्र माया त माया होको सम्पूर्ण छायांकन हेटौंडामा गरिएको हो । यसले गरिब तथा निमुखा वर्गले शिक्षाक्षेत्रमा भोग्नुपरेका समस्या र तिनको समाधानका उपायलाई सन्देशमूलक ढंगले प्रस्तुत गर्नुका साथै माया, प्रेम र जीवन भोगाइले निर्धारण गर्ने सम्बन्धको महत्त्वलाई कथानकका माध्यमबाट प्रस्ट्याएको निर्माता अर्यालले बताए । गत जेठ ५ गतेबाट प्रदर्शन गरिने भनिए पनि बन्दहडतालका कारण यसको प्रदर्शन मिति आजलाई सारिएको थियो । क्यु सिस्टमबाट प्रदर्शनमा आएको यो चलचित्र उपत्यकाबाहिरका हलमा भने पहिल्यै लागिसकेको हो । निखिल उप्रेती, सञ्चिता लुइँटेल, तुलसी घिमिरे, सञ्जीव सापकोटा, शान्तिप्रिय, सुरज आरडी, बिएस राणाका साथमा बालकलाकार विवास अर्यालले यसमा अभिनय गरेका छन् । वसन्त सापकोटाको संगीत, गोविन्द राईको नृत्यनिर्देशन तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रका गीत शान्तिप्रियले लेखेका छन् ।
सम्झिराख है पनि बन्दका कारण रिलिज धकेलिएर आजबाट प्रदर्शनमा आउन लागेको हो । रेडलाइट फिल्म्सको ब्यानरमा रिम विश्वकर्माले यसको निर्देशन गरेका हुन् भने कविता खकुरेल निर्मात्री हुन् । सुमन सिंह, जिके शर्मा, गणेश गिरी, अर्चना केसी, प्रेम पुरी, रवीन्द्र खड्का, सुशील पोखरेललगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्रले सामाजिक एवं प्रेमकथालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेको निर्देशक रिमले बताए । अस्मिता कँडेलले यसैबाट नायिकाका रूपमा डेब्यु गरेकी छन् । यसमा दीपक शर्माले संगीत दिएका छन् ।

प्रतिक्रिया